राजापुरमा किशोरीहरूको रक्तअल्पतामा सुधार : एक वर्षमै ८२ प्रतिशतबाट झरेर ६५ प्रतिशतमा सीमित

बर्दिया,५ असार ।
बर्दियाको राजापुर नगरपालिकामा किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) को समस्या गत वर्षको तुलनामा उल्लेखनीय रूपमा घटेको पाइएको छ। नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत किशोरीहरूको स्वास्थ्य परीक्षण गर्दा गत वर्ष ८२ प्रतिशतमा देखिएको रक्तअल्पता यस वर्ष ६५ प्रतिशतमा झरेको तथ्यांक सार्वजनिक गरेको छ।
नगरपालिकाले १० वर्षभन्दा माथिका दुई हजार १ सय ७५ जना किशोरीको रगत परीक्षण गरेको थियो। परीक्षणका क्रममा एक हजार ४ सय ३३ जना अर्थात् ६५ प्रतिशत किशोरीमा रक्तअल्पता पुष्टि भएको छ।
तीमध्ये ७२ जनामा (३.३ प्रतिशत) कडा खालको रक्तअल्पता, ३ सय ७६ जनामा मध्यम र ९ सय ८५ जनामा सामान्य खालको रक्तअल्पता देखिएको छ।
गत वर्ष एक हजार ४ सय ४१ जना किशोरीको परीक्षण गर्दा एक हजार १ सय ७४ जनामा रक्तअल्पता देखिएको थियो। त्यसमध्ये १ सय २३ जनामा कडा खालको रक्तअल्पता पुष्टि भएको थियो भने छ जना किशोरीलाई तत्काल अस्पताल भर्ना गरी रगत चढाउनुपरेको थियो।
राजापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशप्रसाद अर्यालले गत वर्षको तुलनामा यस वर्ष रक्तअल्पताको अवस्थामा सुधार आएको बताउनुभयो। उहाँका अनुसार यस वर्ष पनि कडा खालको रक्तअल्पता देखिएका किशोरीलाई थप परीक्षण तथा उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरूमा रेफर गरिएको छ।
चिकित्सकहरूका अनुसार हेमोग्लोबिनको मात्रा ८ ग्रामभन्दा कम भएका व्यक्तिलाई कडा खालको रक्तअल्पता भएको मानिन्छ। यस्तो अवस्थामा आवश्यकताअनुसार रगत चढाउनुपर्ने समेत हुन सक्छ। मध्यम तथा सामान्य रक्तअल्पताको समस्या भने नियमित आइरन चक्की सेवन र पोषणयुक्त खानपानमार्फत नियन्त्रण गर्न सकिने चिकित्सकहरूको भनाइ छ।
वरिष्ठ नर्सिङ निरीक्षक देवी खनालले गत वर्षको तुलनामा सुधार देखिए पनि अपेक्षाअनुसार उपलब्धि हासिल हुन नसकेको बताउनुभयो। उहाँका अनुसार विद्यालयमै शिक्षकको निगरानीमा आइरन चक्की सेवन गराइएका विद्यालयहरूमा रक्तअल्पताको अवस्था उल्लेखनीय रूपमा सुधारिएको छ। तर घरमा लगेर खान दिइएको अवस्थामा अपेक्षित परिणाम नदेखिएको उहाँले बताउनुभयो।
नगर प्रमुख दिपेश थारूले किशोरीहरूको स्वास्थ्य अवस्थालाई सुधार गर्न निरन्तर रक्तअल्पता परीक्षण अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो। परीक्षणको नतिजाका आधारमा आगामी योजना तथा कार्यक्रम तय गरिने बताउँदै उहाँले शिक्षक र अभिभावकको सक्रियता तथा विद्यार्थीको नियमित आइरन चक्की सेवनले रक्तअल्पताको समस्या न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।
थारू समुदायको बाहुल्यता रहेको क्षेत्र भएकाले रक्त परीक्षण अभियानले सिकलसेल र थालसेमिया जस्ता वंशाणुगत रोगको पहिचानमा समेत सहयोग पुगेको नगरपालिकाले जनाएको छ। बर्दिया जिल्लामा आफ्नै स्रोतबाट नियमित रूपमा रक्तअल्पता परीक्षण गर्ने स्थानीय तह राजापुर नगरपालिका मात्र रहेको बताइएको छ।
गत वर्ष परीक्षणपछि विद्यालय, अभिभावक र विद्यार्थीबीच सचेतना तथा सहकार्य बढाइएकै कारण रक्तअल्पताको दर घट्न सफल भएको नगरपालिकाको निष्कर्ष छ।
यसैबीच, गत फागुनमा स्वास्थ्य कार्यालय बर्दियाले जिल्लाका आठ स्थानीय तहका विद्यालयहरूमा गरेको परीक्षणमा २ हजार ६ सय ७२ जना किशोरीमध्ये २ हजार १ सय ८९ जनामा अर्थात् ८१.९ प्रतिशतमा रक्तअल्पता पुष्टि भएको तथ्यांकले जिल्लामा अझै पनि यो समस्या चुनौतीपूर्ण अवस्थामै रहेको देखाएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *