हुम्ला–बाजुरा सीमा विवादमा संलग्न भएको आरोपमा २१ जना पक्राउ

सुर्खेत, ५ असार ।
बाजुरा र हुम्लाबीचको सीमा विवाद घटनामा संलग्न भएको आरोपमा २१ जना पक्राउ परेका छन् । २३ जनाविरुद्व किटानी जाहेरी परेकोमा २१ जनालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी प्रमुख डीएसपी शैलेश्वरी बोहराका हुम्लाका बासिन्दालाई पक्राउ गरी जिल्ला सदरमुकाम पुर्याउन लागिएको छ ।
उनीहरूलाई पक्राउ गरेर घटनाको अनुसन्धान गर्न हुम्ला प्रहरीसँग समन्वय गरिएको थियो । घटनामा घाइते भएका मीनु कुँवरका बुबाले किटानी जाहेरी दिएका थिए । हिमाली गाउँपालिका– ३ लाम्पाटामा प्रहरी चौकी स्थापनाको विषयमा विवाद हुँदा जेठ २ गतेदेखि ५ गतेसम्म स्थानीय बासिन्दा, जनप्रतिनिधि, कर्मचारीमाथि कुटपिट भएको थियो भने पर्यटकलाई रानीसैन (साइपाल हिमालको पूर्वी बेस क्याम्प) भ्रमणमा अवरोध गरिएको थियो । घटनामा हुम्लाको खार्पुनाथ गाउँपालिका– २ थाली गाउँ र आसपासका बासिन्दाको संलग्नता रहेको आरोप छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बेस स्थापना भइसकेको छ ।






