धिमिचौरमा सेनाद्वारा निर्मित ट्रस घर हस्तान्तरण

गाेल्डेन बुढा
जुम्ला,५ असार ।
जुम्लाको उदीयमान पर्यटकीय गन्तव्य धिमिचौरमा नेपाली सेनाले निर्माण गरेको ट्रस घर स्थानीय समुदायलाई हस्तान्तरण गरेको छ। धार्मिक, पर्यटकीय तथा चरन क्षेत्रका रूपमा परिचित धिमिचौरमा विश्रामस्थलको अभाव भइरहेका बेला सेनाको यो पहलले स्थानीयवासी, गोठाला, यात्रु र पर्यटकलाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ।नेपाली सेनाको जनहित कार्यक्रम अन्तर्गत शीघ्र प्रभावी आयोजना मार्फत चन्दननाथ नगरपालिका–३ स्थित धिमिचौरमा निर्माण गरिएको ट्रस घर शुक्रबार श्री नम्बर २४ बाहिनीका बाहिनीपति अर्जुन बस्नेतले उद्घाटन गरी सम्बन्धित वडालाई हस्तान्तरण गरेका हुन्। उक्त संरचना देवीदत्त गण जुम्लाले निर्माण गरेको गणपति प्रमुख सेनानी धिरज थापाले जानकारी दिए।

जुम्ला सदरमुकाम खलंगाबाट सिंजा र मुगुतर्फ जाने मार्गमा पर्ने धिमिचौर पछिल्ला वर्षहरूमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ। विशाल चेरेचौर, घुघुत्ती खोलाको कलकल आवाज, घना जंगल र सयौँ प्रजातिका फूलले भरिएको पाटनले धिमिचौरलाई कर्णालीकै आकर्षक गन्तव्यका रूपमा स्थापित गरिरहेको छ। तर पर्यटक तथा यात्रुका लागि सुरक्षित आश्रयस्थलको अभाव लामो समयदेखि चुनौती बन्दै आएको थियो।सेनाले निर्माण गरेको ट्रस घरले अब पर्यटकलाई विश्राम, खाना पकाउने तथा रात बिताउने सुविधा उपलब्ध गराउनेछ। स्थानीय गोठाला र पशुपालकले वर्षायाम तथा रातिको समयमा सुरक्षित आश्रयका रूपमा उपयोग गर्न सक्नेछन्। जाली र गेटसहित निर्माण गरिएकाले जंगली जनावरको जोखिमबाट समेत सुरक्षा हुने सेनाको भनाइ छ।हस्तान्तरण कार्यक्रममा बाहिनीपति बस्नेतले नेपाली सेना सीमाको सुरक्षा मात्र नभई नागरिकको आवश्यकता र जनजीवनसँग प्रत्यक्ष जोडिएका काममा पनि निरन्तर सक्रिय रहेको बताए। उनले धिमिचौरको संरक्षण र प्रवर्द्धनमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै भविष्यमा यो क्षेत्र पर्यटनबाट आयआर्जन गर्ने प्रमुख केन्द्र बन्न सक्ने धारणा राखे।चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले नेपाली सेनाले राष्ट्रिय सुरक्षासँगै विकास र मानवीय सेवामा पुर्याउँदै आएको योगदान प्रशंसनीय रहेको बताए। उनका अनुसार धिमिचौरमा निर्माण गरिएको पूर्वाधारले पर्यटन विकाससँगै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्नेछ।स्थानीय युवा अजय बुढ्थापाका अनुसार पछिल्ला वर्षमा धिमिचौर घुम्न आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ। विशेषगरी साउन–भदौमा फूलले ढाकिने पाटन हेर्न ठूलो संख्यामा पर्यटक पुग्ने गरेका छन्।
चिसो हावापानी, जैविक विविधता, भेडीखर्क र गोठालाको जीवनशैलीले धिमिचौरलाई ग्रामीण पर्यटनको सम्भावनायुक्त गन्तव्य बनाएको छ।नगरपालिका -३ नम्बर वडा अध्यक्ष रतन खत्री,उप-मेयर रामदेवि खड्का ,प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहाल, समन्वय अधिकारी रोमबहादुर महत, सशस्त्र प्रहरी, डिभिजन वन कार्यालय प्रमुख भरतबहादुर बुढ्थापा, पत्रकार तथा स्थानीय बुद्धिजीवीको उपस्थितिमा सम्पन्न कार्यक्रममा सहभागीहरूले धिमिचौरको पर्यटन सम्भावना उजागर गर्न यस्ता पूर्वाधारले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए।स्थानीयवासीका अनुसार सेनाद्वारा निर्माण गरिएको ट्रस घर धिमिचौरको पर्यटन विकास, स्थानीय आवश्यकताको सम्बोधन र नागरिक–सैनिक सम्बन्धको सुदृढीकरणको प्रतीक बनेको छ।






