नेपालगञ्जमा वडा कप शारीरिक सुगठन प्रतियोगिता 

बाँके, २ असार ।

नेपालगञ्जमा पहिलो पटक आयोजना गरिएको प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ भव्य रूपमा सम्पन्न भएको छ । पूर्व खेलाडी समाज बाँकेको आयोजनामा सम्पन्न प्रतियोगिताले जिल्लामा शारीरिक सुगठन खेलको बढ्दो लोकप्रियता मात्र नभई युवापुस्तामा स्वस्थ जीवनशैली, अनुशासन र फिटनेस संस्कृतिप्रतिको आकर्षण पनि उजागर गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले उद्घाटन गर्नुभएको प्रतियोगिता पूर्व खेलाडी समाज बाँकेका अध्यक्ष प्रकाश बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा ओलम्पियन तथा समाजका सल्लाहकार सुरेन्द्र हमाल, सल्लाहकार गोबर्धन सिंह सम्झनालगायत खेलकुद क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा जिल्लाका नौ वटा फिटनेस क्लबका ४० जना खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । खेलाडीहरूले मांसपेशीको विकास, शारीरिक बनावट, फिटनेस स्तर, प्रस्तुति कला तथा आत्मविश्वासपूर्ण प्रदर्शनमार्फत दर्शकको मन जितेका थिए । प्रतियोगिता अवलोकन गर्न खेलप्रेमी, युवा तथा फिटनेसप्रति रुचि राख्ने दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

शारीरिक सुगठन खेल पछिल्लो समय युवामाझ लोकप्रिय बन्दै गएको छ । नियमित व्यायाम, स्वस्थ खानपान र अनुशासित जीवनशैलीको अभ्याससँग जोडिएको यो खेलले युवाहरूलाई कुलतबाट टाढा राख्न, आत्मविश्वास बढाउन तथा शारीरिक र मानसिक स्वास्थ्य मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । 

यस्ता प्रतियोगिताले नयाँ प्रतिभा पहिचान गर्ने तथा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने आधारसमेत तयार गर्ने खेलकर्मीहरूको भनाइ छ । प्रतियोगितामा ओम फिटनेस २ स्वर्ण, २ रजत र १ कांस्य पदकसहित टिम च्याम्पियन बन्न सफल भयो । हेल्थ बेनि फिटनेस १ स्वर्ण, १ रजत र १ कांस्य पदकसहित दोस्रो स्थानमा रह्यो ।

व्यक्तिगत प्रतिस्पर्धातर्फ ७५ केजी तौल समूहका दीपेन्द्र बहादुर खत्री ओभरअल च्याम्पियन घोषित भए । उनले आफ्नो तौल समूहमा प्रथम स्थान हाँसिल गर्दै प्रतियोगिताकै उत्कृष्ट खेलाडीको उपाधिसमेत जिते ।

विभिन्न तौल समूहका विजेताहरूमा ५५ केजीमा युनिभर्सल जिमका बामदेब थापा, ६० केजीमा स्ट्रीम फिटनेस प्रालिका करण वाडिया, ६५ केजीमा ओम फिटनेसका जगतराम महावत, ७० केजीमा हेल्थ बेनि फिटनेसका सुगम रावल तथा ७५ केजीमाथिको समूहमा माई फिटनेस प्रालिका सतीस कुमार सोनी प्रथम भएका थिए ।

समापन समारोहमा प्रमुख अतिथि प्रशान्त बिष्ट, ओलम्पियन सुरेन्द्र हमाललगायत अतिथिहरूले विजेता खेलाडीहरूलाई ट्रफी, पदक, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै वक्ताहरूले शारीरिक सुगठन खेलले युवालाई स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैलीतर्फ प्रेरित गर्ने उल्लेख गर्दै यस्ता प्रतियोगिताले खेलकुद क्षेत्रको विकास, खेल पर्यटन प्रवद्र्धन तथा नयाँ खेल प्रतिभाको खोजीमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए ।

आयोजक पूर्व खेलाडी समाज बाँकेले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सहभागी क्लब, खेलाडी, निर्णायक, स्वयंसेवक, प्रायोजक तथा दर्शकहरूप्रति आभार व्यक्त गर्दै आगामी वर्षहरूमा अझ व्यापक र प्रतिस्पर्धात्मक रूपमा प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *