चाडपर्वमा सडक दुर्घटना रोक्न  कर्णालीमा कडा निगरानी

ओम शाही

सुर्खेत, २६ असोज  । 

कर्णाली प्रदेशमा चाडपर्व नजिकिएसँगै ट्राफिक प्रहरीले विशेष सुरक्षा योजना लागु गरेको छ । चाडपर्वका बेला हुन सक्ने सडक दुर्घटना न्यूनीकरण गर्न कर्णाली प्रदेशका १० वटै जिल्लामा विशेष चेकजाँच, मोबाइल गस्ती, यात्रु सहायता कक्ष र आकस्मिक उद्धार टोली परिचालन भएका छन् ।

तीव्र गति, मादक पदार्थ सेवन, क्षमताभन्दा बढी यात्रु बोक्ने र चालकको लापरवाही नियन्त्रण गर्न प्रदेश ट्राफिक प्रहरीले २४ घण्टे विशेष निगरानी बढाएको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले तयार पारेको ‘चाडपर्व लक्षित सुरक्षा योजना–२०८३’ अनुसार दशैँ, तिहार र छठलगायत चाडपर्वमा बढ्ने सवारी चापलाई व्यवस्थित गर्न जिल्लागत जोखिम विश्लेषण गरी सुरक्षा संयत्र परिचालन गरिनेछ ।

मुख्य राजमार्ग, प्रदेश प्रवेश तथा निकास नाका, बढी सवारी चाप हुने बजार र दुर्घटनाको जोखिम भएका सडक खण्डलाई प्राथमिकतामा राखिएको छ । योजनाअनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गति, ओभरलोड, क्षमताभन्दा बढी यात्रु बोक्ने, चालकले मोबाइल फोन प्रयोग गर्ने, हेल्मेट तथा सिटबेल्ट नलगाउने र अनधिकृत स्थानमा पार्किङ गर्ने कार्यलाई शून्य सहनशीलताका साथ नियन्त्रण गरिनेछ ।

लामो दूरीका सवारी चालकको थकान, सवारी साधनको यान्त्रिक अवस्था र आवश्यक कागजातसमेत जाँच गरिने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख पहरी उपरीक्षक मुकुन्द रिजालले बताए । उनका अनुसार चाडपर्व लक्षित प्रत्येक सुरक्षा योजनामा दुई सय १५ जना प्रहरी जनशक्ति खटाइने छ ।

कर्णालीमा भौगोलिक विकटता, कमजोर सडक पूर्वाधार, साँघुरा सडक तथा जोखिमयुक्त घुम्तीका कारण चाडपर्वमा दुर्घटनाको जोखिम थप बढ्ने प्रहरीको आकलन छ । चाडपर्वमा यात्रुको चाप बढ्ने, लामो दूरीका सवारी साधन सञ्चालन हुने र चालकको लापरवाहीका कारण दुर्घटना हुन सक्ने भएकाले नियमित चेकजाँचसँगै विशेष र आकस्मिक जाँचको व्यवस्था गरिएको प्रहरी उपरीक्षक रिजालले बताए ।

मुख्य नाकादेखि जोखिमयुक्त सडकमा उच्च निगरानी

ट्राफिक प्रहरीले सुर्खेतको वीरेन्द्रनगर, बबई, छिन्चु, सुब्बाकुना र बड्डीचौरलगायत स्थानमा विशेष चेकजाँच गरिनेछ । प्रदेश भित्रिने र बाहिरिने सवारी साधनको निगरानीसँगै मादक पदार्थ सेवन तथा सवारीको अवस्था परीक्षण गरिनेछ । दैलेख बजार, रानीमत्ता र राकम कर्णाली, सल्यानको खलंगा र कपुरकोट, जाजरकोटको खलंगा, दल्ली र छेडा बजारमा पनि विशेष जाँचको व्यवस्था गरिएको प्रहरी उपरीक्षक रिजालले बताए ।

त्यस्तै पश्चिम रुकुमको खलंगा, चौरजहारी र आठबिसकोट, कालीकोटको मान्मा र नाग्मा, जुम्लाको सिंजा, मुगुको गमगढी, डोल्पाको दुनै तथा हुम्लाका बजार क्षेत्रमा समेत चेकजाँच गरिनेछ । आवश्यकता अनुसार अन्य ट्राफिक प्रहरी युनिटले पनि नेपाल प्रहरीसँग समन्वय गरेर जाँच गर्नेछन् ।

एनले भने, ‘विशेष चेकजाँचका क्रममा उपलब्ध उपकरण प्रयोग गरी मादक पदार्थ सेवन परीक्षण, तीव्र गति नियन्त्रण, सवारीको कागजात तथा यान्त्रिक अवस्था जाँच गरिनेछ । लामो दूरीका सवारीमा दुई जना चालक भए–नभएको निगरानी गर्न ट्राफिक कम्युनिकेसन एप्स प्रयोग हुनेछ । उपलब्ध भएसम्म सीसीटीभी तथा सवारी नम्बर पहिचान गर्ने क्यामेराबाट समेत निगरानी गरिनेछ ।’

यात्रुबाहक सवारी साधनको छतमा मानिस वा मालसामान राख्न नदिने, चालकले सवारी चलाउँदा मोबाइल फोन प्रयोग गरेमा कारबाही गर्ने तथा हेल्मेट र सिटबेल्टको प्रयोग सुनिश्चित गर्ने योजना ट्राफिक प्रहरीको छ । दुर्घटनाको जोखिम भएका ब्ल्याक स्पट र हट स्पटमा आकस्मिक चेकजाँच तथा विशेष गस्तीसमेत सञ्चालन गरिनेछ ।

बसपार्कमा यात्रु सहायता कक्ष

चाडपर्वमा यात्रुलाई टिकट, भाडा र यातायातसम्बन्धी समस्या नहोस् भनेर सबै जिल्लाका प्रमुख बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिनेछ । ट्राफिक प्रहरी, नेपाल प्रहरी, सामुदायिक प्रहरी, यातायात व्यवस्था कार्यालय, यातायात व्यवसायी तथा उपभोक्ता समूहका प्रतिनिधिको समन्वयमा सहायता कक्ष सञ्चालन गर्ने योजना छ ।

सहायता कक्षबाट यात्रुलाई आवश्यक सूचना दिने, सवारी तथा चालकसम्बन्धी गुनासो सुन्ने, बढी भाडा असुली र ठगीसम्बन्धी उजुरीमा आवश्यक कानुनी कारबाही गर्ने तथा हराएका वा छुटेका यात्रु र सामानका विषयमा सहयोग गरिनेछ ।

टिकट काउन्टरमा भाडादर स्पष्ट देखिने गरी राख्न लगाइनेछ । टिकटको मूल्यअनुसार भाडा लिइएको छ वा छैन भन्ने जाँच गरिनेछ । नक्कली वा दोहोरो टिकट काट्ने तथा यात्रुलाई ठगी गर्ने गतिविधिमाथि निगरानी राखिने ट्राफिक प्रहरीको विशेष सुरक्षा योजनामा उल्लेख छ । टिकट काउन्टरमा काम गर्ने व्यक्ति र यातायातसँग सम्बन्धित कर्मचारीको पहिचान खुल्ने परिचयपत्रको व्यवस्था भए–नभएको पनि हेरिनेछ ।

लामो दूरीका सवारीमा दुई जना चालकको व्यवस्था गर्न सम्बन्धित निकायसँग समन्वय गरिनेछ । यसबाट चालकको थकानका कारण हुन सक्ने दुर्घटना रोक्ने र यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुर्‍याउने लक्ष्य ट्राफिक प्रहरीले राखेको छ ।

दुर्घटनास्थलमा तत्काल पुग्ने टोली

चाडपर्वको समयमा दुर्घटना वा अन्य आपत्कालीन अवस्थामा छिटो उद्धार गर्न क्विक रेस्पोन्स टिम (क्यूआरटी) परिचालन गरिएको छ । योजनाअनुसार विभिन्न जिल्लाका प्रमुख बजार क्षेत्र र दुर्घटना हुने सम्भावित स्थानमा मोटरसाइकलसहित दुई जना ट्राफिक प्रहरीको टोली खटाइनेछ ।

क्यूआरटीलाई बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म र साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म दुई समय समूहमा परिचालन गर्ने व्यवस्था गरिएको छ । टोलीले दुर्घटनास्थलमा शीघ्र पुग्ने, घाइतेको उद्धारमा समन्वय गर्ने, ट्राफिक व्यवस्थापन मिलाउने र नियम उल्लंघन गर्ने सवारी चालकलाई कारबाही गर्ने योजना ट्राफिक प्रहरीको छ ।

त्यस्तै, दुर्घटना भएमा घटनास्थलको सुरक्षा, घाइतेको उद्धार, एम्बुलेन्स तथा स्वास्थ्य संस्थासँग समन्वय, सडक खुलाउने र प्रारम्भिक अनुसन्धानलाई प्राथमिकता दिने योजना ट्राफिक प्रहरीको छ । नेपाल प्रहरी, एम्बुलेन्स सेवा, स्वास्थ्य संस्था, स्थानीय तह, सडक डिभिजन र स्थानीय उद्धार समूहबीच समन्वय कायम गरिने सुरक्षा योजनामा उल्लेख छ ।

प्रविधि र जनचेतनालाई पनि प्राथमिकता

ट्राफिक प्रहरीले चाडपर्व अवधिभर कर्णालीका सडक सुरक्षाका लागि चेकजाँच र कारबाहीसँगै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेगरी योजना बनाएको छ । ‘सुरक्षित यात्रा, सुखद् पर्व’ अभियानअन्तर्गत स्थानीय एफएम रेडियो, सामाजिक सञ्जाल, माइकिङ र पर्चामार्फत ट्राफिक सुरक्षा सन्देश प्रवाह गरिनेछ ।

चालक तथा परिचालकसँग अन्तरक्रिया गर्ने र विद्यालय, कलेज तथा समुदायसँग सहकार्य गर्ने योजना छ । दुर्घटनाको जोखिम भएका सडकखण्डमा सम्बन्धित निकायसँग समन्वय गरी सचेतनामूलक बोर्ड राखिनेछ । सवारी छुट्नुअघि ट्राफिक प्रहरीले यात्रु र चालकलाई सुरक्षित यात्रासम्बन्धी सन्देश सुनाउने व्यवस्था पनि गरिनेछ ।

बढी सवारी चाप हुने स्थानमा आवश्यकताअनुसार एकतर्फी आवागमन, डाइभर्सन र व्यवस्थित पार्किङको प्रबन्ध मिलाइनेछ । बजार तथा मेला क्षेत्रमा अस्थायी पार्किङस्थल निर्धारण गर्ने योजना ट्राफिक प्रहरीसँग छ ।

पहिरो, ढुंगा खस्ने, दुर्घटना वा बिग्रिएको सवारीका कारण सडक अवरुद्ध भएमा सम्बन्धित सडक निकायसँग समन्वय गरी अवरोध हटाउनेदेखि भीडभाड हुने बजार, मन्दिर तथा धार्मिक स्थल आसपास पैदलयात्रीको आवागमनलाई पनि व्यवस्थित बनाइने ट्राफिक प्रहरी प्रमुख रिजालले बताए ।

एक वर्षमा १३५ जनाको मृत्यु

कर्णाली प्रदेशमा सडक दुर्घटनाबाट हुने मानवीय क्षति उच्च देखिएको छ । प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका १० जिल्लामा एक हजार १९७ वटा सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा १३५ जनाको मृत्यु भएको थियो भने दुई हजार ३०५ जना घाइते भएका थिए । घाइतेमध्ये एक हजार ३५ जना गम्भीर र एक हजार २७० जना सामान्य घाइते भएको योजनामा उल्लेख छ ।

यसअघि आर्थिक वर्ष २०८१/८२ मा ९६८ वटा दुर्घटना हुँदा १३९ जनाको मृत्यु भएको थियो । उक्त वर्ष ७०२ जना गम्भीर र एक हजार ३०६ जना सामान्य घाइते भएका थिए । आर्थिक वर्ष २०८०/८१ मा एक हजार ८६ वटा दुर्घटना हुँदा ११२ जनाको मृत्यु भएको र दुई हजार ७७ जना घाइते भएको तथ्यांक छ । प्रहरीले पछिल्ला तीन आर्थिक वर्षको दुर्घटना विवरण विश्लेषण गर्दै दुर्घटनाको संख्या बढ्दै गएको निष्कर्ष निकालेको छ । यही अवस्थालाई ध्यानमा राखेर चाडपर्वमा दुर्घटना, मृत्यु र घाइतेको संख्या घटाउने तथा यात्रालाई सुरक्षित र व्यवस्थित बनाउने लक्ष्य राखिएको छ ।

चाडपर्वमा सडक दुर्घटना रोक्न   कर्णालीमा कडा निगरानी

सम्पादकीय :   कांग्रेसमा रूपान्तरणको अग्निपरीक्षा

चाडपर्वमा सडक दुर्घटना रोक्न   कर्णालीमा कडा निगरानी

बाँकेमा अवैध नदीजन्य पदार्थ उत्खनन बढ्दो दुई

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!