जुम्लामा एसइईमा ६८ प्रतिशत विद्यार्थी उत्तीर्ण

काली बहादुर परियार
जुम्ला,२९ बैशाख ।
जुम्ला । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा जुम्लाका ६८.१६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
जिल्ला भरबाट परीक्षामा सहभागी २ हजार १ सय ३३ जना विद्यार्थी मध्ये १ हजार ४ सय ५४ जना विद्यार्थी ग्रेडेड भएका हुन् भने ६ सय ७९ जना ननग्रेडेड भएका छन् ।
ननग्रेडेड भएका विद्यार्थीले अब ग्रेडवृद्धि परीक्षा दिनुपर्ने भएको छ । शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका शिक्षा प्राविधिक खेमराज पन्तका अनुसार ग्रेडवृद्धि परीक्षा असार १ गते सञ्चालन हुने जानकारी दिए ।
यस वर्षको नतिजामा जनता माध्यमिक विद्यालय महतगाउँ जिल्लाकै उत्कृष्ट विद्यालयका रूपमा उभिएको छ । उक्त विद्यालयमा अध्ययनरत दुई जना छात्राले ४.०० जिपिए हासिल गर्दै जिल्लामै उत्कृष्ट नतिजा ल्याएका हुन् ।
विद्यालयका प्रधानाध्यापक हरिकृष्ण महतले विद्यार्थीको मेहनत, शिक्षकको समर्पण र अभिभावकको साथका कारण यस्तो उपलब्धि सम्भव भएको भन्दै खुसी व्यक्त गरेका छन् । उनले सम्पूर्ण सरोकारवाला प्रति आभार पनि व्यक्त गरे ।
नतिजा अनुसार ३.६० देखि ४.०० जिपिए ल्याउने विद्यार्थी १ सय १६ जना रहेका छन् । यस्तै ३.२० देखि ३.६० जिपिए ल्याउने ३ सय १५ जना, २.८० देखि ३.२० जिपिए ल्याउने ५ सय ९३ जना तथा २.४० देखि २.८० जिपिए ल्याउने ४ सय १२ जना विद्यार्थी रहेका छन् ।
त्यसैगरी २.०० देखि २.४० जिपिए प्राप्त गर्ने विद्यार्थी संख्या १८ रहेको शिक्षा विकास तथा समन्वय इकाई जुम्लाले जनाएको छ ।






