हिमा गाउँपालिका–५ बुअ गाउँका आगलागी पिडित परिवारलाई राहत

काली बहादुर परियार
जुम्ला २३ पुस।
हिमा गाउँपालिका–५ बुअ गाउँमा विद्युत् सट भएर भएको आगलागीबाट पीडित बनेको एक परिवारलाई हिमा गाउँपालिकाले तत्काल राहत सहयोग प्रदान गरेको छ । पुस २१ गते आगलागीका कारण स्थानीय नन्द बहादुर शाहीको घर पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ठूलो धनजनको क्षति भएको थियो ।
अचानक भएको यो घटनाले परिवारलाई बासविहीन बनाउँदै दैनिक जीवनयापनमै गम्भीर असर पुर्याएको छ ।
आगलागी पिडित परिवार लाई हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाही स्वयं पीडित परिवारको घरमा पुगेर राहत सामग्री वितरण गरेका छन् ।
गाउँपालिकाको तर्फबाट खाद्यान्न सामग्री, लत्ताकपडा तथा भाँडाकुँडा वितरण गर्दै अध्यक्ष शाहीले पीडित परिवारलाई सान्त्वना दिएका छन् । उनले यस्तो विपद्को घडीमा स्थानीय सरकार पीडितको साथमा उभिनु आफ्नो दायित्व भएको स्पष्ट पारे ।
यस्तो अवस्थामा हामीले सहयोग नगरे कसले गर्छ ? स्थानीय सरकार जनताकै लागि हो,अध्यक्ष शाहीले भने, पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउनु हाम्रो पहिलो प्राथमिकता रहेकाे अध्यक्ष शाहीकाे भनाइ छ ।
उनले भने, आगलागी बाट भएको क्षतिको यथार्थ मूल्यांकन गरी थप सहयोगका लागि पहल गरिने समेत जानकारी दिए ।
स्थानीयवासीका अनुसार विद्युत् तार सट भएर आगो सल्किँदा केही समयमै घर पूरै जलेर नष्ट भएको थियो ।
आगलागी नियन्त्रणमा लिने प्रयास भए पनि दुर्गम बस्ती र आवश्यक साधनको अभावका कारण ठूलो क्षति हुन पुगेको उनीहरूको भनाइ छ । गाउँपालिकाले प्रारम्भिक राहत उपलब्ध गराइसकेको छ ।
यस घटनाले ग्रामीण क्षेत्रमा विद्युत् सुरक्षाको महत्व झनै उजागर गरेको स्थानीयको भनाइ छ । आगलागी पीडित परिवारले गाउँपालिका बाट प्राप्त सहयोग प्रति धन्यवाद व्यक्त गर्दै यस्तो कठिन घडीमा साथ पाउँदा केही राहत महसुस भएको बताएका छन् ।






