जाजरकोट भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनामाथि भ्रष्टाचार मुद्दा

जाजरकोट ,१३ भदौ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
अख्तियारका अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, इन्जिनियर मोहन मल्ल, कानून अधिकृत प्रकाशकुमार शाही, सामाजिक विकास अधिकृत अनिस साह, लेखापाल राजेन्द्र बहादुर कठायत, जिन्सी शाखा प्रमुख तथा नायब सुब्बा कृतिबहादुर थापा र ठेक्का प्रक्रियामा संलग्न कम्पनीका सञ्चालकहरूमाथि बिहीबार मुद्दा दर्ता गरिएको हो।
भेरी नगरपालिकाको वडा नम्बर ६, ९ र १० का कार्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा ३६ लाख २० हजार ५७८ रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित भएपछि उनीहरूविरुद्ध मुद्दा चलाइएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिएका छन्।
मुद्दामा न्यू बिके/नहाकुली जेभीका साझेदार कम्पनीहरू — न्यू बिके बिल्डर्स एण्ड सप्लायर्सकी प्रोप्राइटर गंगा कुमारी खड्का र नहाकुली निर्माण सेवाका प्रोप्राइटर चित्रबहादुर बोहरा पनि समावेश छन्।
अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार रकम बराबरको बिगो समेत माग गर्दै मुद्दा दायर गरेको जनाएको छ।






