२०८३ मंसिर १३ गते
वीरेन्द्रनगर, सुर्खेत 15°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

प्रेस स्वतन्त्रता र सुशासनका लागि सबै क्षेत्र जवाफदेही हुनुपर्छ : डिआइजी

दाङ  ,१३ मंसिर ।
नेपाल प्रहरीका लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) भुपेन्द्रबहादुर खत्रीले प्रेस स्वतन्त्रता र सुशासनलाई बलियो बनाउन समाजका सबै क्षेत्र जिम्मेवार र जवाफदेही हुनुपर्ने बताउनुभएको छ । उहाँले पत्रकारिता क्षेत्रले पनि आफ्नो व्यावसायिक आचारसंहिता पालना गर्दै जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ । सञ्चारमाध्यमसँग सम्बन्धित कुनै समस्या वा विषय उठेमा कानुन कार्यान्वयन गर्ने निकायका रूपमा प्रहरीले आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभएको छ ।

फ्रि मिडिया नेटवर्कले लुम्बिनी प्रदेशभरका सरकारी कार्यालयका प्रमुख, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा व्यावसायिक क्षेत्रका अगुवाहरूसँग सञ्चारमाध्यम र प्रेस स्वतन्त्रताका विषयमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै डिआइजी खत्रीले यस्तो बताउनुभएको हो । आइतबार अर्घाखाँचीको शितगंगा नगरपालिका–८, सातमारामा सम्पन्न कार्यक्रममा उहाँले सबै क्षेत्रले आफ्नो जिम्मेवारी र जवाफदेहिताबोध गरेर काम गर्न सके समग्र समाजलाई सहज हुने धारणा राख्नुभयो ।

लोकतान्त्रिक व्यवस्थामा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले पत्रकारिता क्षेत्रलाई थप जिम्मेवार, मर्यादित र विश्वसनीय बनाउन पत्रकार स्वयं पनि सचेत हुनुपर्ने बताउनुभयो । समाचार सम्प्रेषण गर्दा व्यावसायिक आचारसंहिता तथा पत्रकारिताका स्थापित मूल्य र मान्यतालाई आत्मसात् गर्नुपर्ने उहाँको भनाइ थियो ।

‘सबै क्षेत्र आफ्नो जिम्मेवारीप्रति जवाफदेही हुनुपर्छ । यसले सबैलाई सहज बनाउँछ,’ उहाँले भन्नुभयो, ‘पत्रकारहरूले पनि आफ्नो आचारसंहिता पालना गरेर अगाडि बढ्नुपर्छ । कुनै पनि विषयमा समस्या आएमा कानुन कार्यान्वयन गर्ने निकायका रूपमा आवश्यक समन्वय गर्न हामी प्रतिबद्ध छौँ ।’

डिआइजी खत्रीले सञ्चारमाध्यम र सुरक्षा निकायबीच आपसी विश्वास, समझदारी र समन्वय आवश्यक रहेको बताउँदै कानुनी प्रक्रिया र व्यावसायिक मर्यादाभित्र रहेर सबै पक्षले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो । सञ्चारमाध्यमले उठाएका विषयलाई सम्बन्धित निकायले गम्भीरतापूर्वक लिनुपर्ने र समस्या समाधानका लागि संवाद तथा सहकार्यको वातावरण निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशको आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयका उपसचिव सुरेशचन्द्र आचार्यले नेपाल पत्रकार महासंघको अगुवाइमा निर्माण भएको फ्रि मिडिया नेटवर्कको संरचनाले प्रदेशमा सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो । सञ्चारमाध्यमसँग सम्बन्धित विषय र कार्यक्रमहरू कार्यान्वयनको चरणमा रहेको जानकारी दिँदै उहाँले प्रेस स्वतन्त्रताको संरक्षण र पत्रकारिताको विकासका लागि सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

पत्रकारिता क्षेत्रलाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन सरकारी निकाय, सञ्चार क्षेत्र तथा अन्य सरोकारवालाबीच सहकार्यको वातावरण बन्नुपर्ने उहाँको भनाइ थियो । प्रदेश सरकारले मिडियासम्बन्धी विषयलाई प्राथमिकताका साथ अघि बढाएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि आवश्यक समन्वय र सहकार्यलाई निरन्तरता दिने बताउनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयका प्रमुख सन्तोष आचार्यले प्रदेश तहमा फ्रि मिडिया नेटवर्कजस्ता संरचना निर्माण हुनु सकारात्मक भएको बताउनुभयो । यस्ता संयन्त्रले विभिन्न क्षेत्रका सरोकारवालालाई एउटै मञ्चमा ल्याएर साझा सवालमा छलफल गर्न र आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न सहज बनाउने उहाँको धारणा थियो ।

प्रेस स्वतन्त्रता लोकतान्त्रिक समाजको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै उहाँले यसको संरक्षणका लागि राज्यका निकाय, मानव अधिकार क्षेत्र, सञ्चार क्षेत्र र नागरिक समाज सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । सञ्चारमाध्यमले नागरिकका अधिकार, सार्वजनिक सरोकार र राज्यका गतिविधि जनतासमक्ष पुर्‍याउने भएकाले सञ्चारकर्मीको सुरक्षा र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशका कार्यक्रम संयोजक केशव भुसालले फ्रि मिडिया नेटवर्कसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सञ्चारमाध्यम र गैरसरकारी संस्थाहरूको साझा उद्देश्य समाजमा सकारात्मक परिवर्तन, सुशासन र नागरिक सचेतना अभिवृद्धि गर्नु भएकाले आपसी सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो ।

प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज मानसिंह विकले पछिल्लो समय सञ्चारमाध्यम र पत्रकारितामाथि विभिन्न किसिमका आक्रमण तथा चुनौती बढ्दै गएको बताउनुभयो । प्रेस स्वतन्त्रताको संरक्षण पत्रकारको मात्रै जिम्मेवारी नभई समग्र समाज र लोकतान्त्रिक व्यवस्थासँग जोडिएको विषय भएको उहाँको भनाइ थियो ।

‘प्रेस स्वतन्त्रता पत्रकारको मात्रै विषय होइन, यो आम नागरिक र समाजको पनि सरोकारको विषय हो,’ उहाँले भन्नुभयो, ‘मिडियामाथि आक्रमण हुँदा त्यसले नागरिकको सूचना पाउने अधिकार र लोकतान्त्रिक व्यवस्थामाथि नै असर पार्छ । त्यसैले यसको संरक्षणका लागि सबै क्षेत्र एकजुट भएर सहकार्य गर्न आवश्यक छ ।’

उहाँले पत्रकारितामाथि हुने हस्तक्षेप, धम्की, दबाब र असुरक्षाका घटनाविरुद्ध सबै सरोकारवाला निकायले साझा धारणा बनाउनुपर्ने बताउनुभयो । सञ्चारमाध्यमलाई स्वतन्त्र, निष्पक्ष र निर्भीक रूपमा काम गर्ने वातावरण निर्माण गर्न राज्यका निकाय, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र तथा सामाजिक संघसंस्थाको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष रामप्रसाद आचार्य, महासंघका पूर्वउपाध्यक्ष चुमा आचार्य, राप्ती चेम्बर अफ कमर्सका बालकृष्ण पोख्रेललगायतले सञ्चारमाध्यमको वर्तमान अवस्था, पत्रकारिताले भोगिरहेका चुनौती, प्रेस स्वतन्त्रताको अवस्था तथा सञ्चार क्षेत्र र अन्य सरोकारवाला निकायबीचको सम्बन्धका विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।

छलफलका क्रममा प्रेस स्वतन्त्रता पत्रकारहरूको पेसागत अधिकारमा मात्र सीमित नभई नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, लोकतन्त्र र सुशासनसँग प्रत्यक्ष जोडिएको साझा विषय भएको निष्कर्ष निकालिएको थियो । सञ्चारमाध्यममाथि हुने आक्रमण वा हस्तक्षेपले पत्रकारलाई मात्र नभई नागरिकको सुसूचित हुने अधिकारलाई समेत प्रभावित पार्ने भएकाले यसको संरक्षणमा सबै क्षेत्रको सहभागिता आवश्यक रहेको सहभागीहरूले बताएका थिए ।

त्यस्तै, पत्रकारिता क्षेत्रलाई जिम्मेवार र मर्यादित बनाउने दायित्व पत्रकार स्वयंको भए पनि पत्रकारले स्वतन्त्र र निर्भीक रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्नु राज्यका निकाय र समाजका सबै पक्षको साझा जिम्मेवारी भएको विषयमा जोड दिइएको थियो ।

फ्रि मिडिया नेटवर्कका प्रदेश संयोजक तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नेटवर्कका महासचिव पाण्डवप्रसाद शर्माले गर्नुभएको थियो । कार्यक्रममा प्रदेशभरका सरकारी कार्यालय, विभिन्न संघसंस्था तथा व्यावसायिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रेस स्वतन्त्रता र सुशासनका लागि सबै क्षेत्र जवाफदेही हुनुपर्छ : डिआइजी

महिला क्रिकेटमा एपीएफ फाइनल प्रवेश, आर्मीसँग भिड्ने

प्रेस स्वतन्त्रता र सुशासनका लागि सबै क्षेत्र जवाफदेही हुनुपर्छ : डिआइजी

प्रेस स्वतन्त्रता र सुशासनका लागि सबै क्षेत्र

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!