हिमाली जिल्लामा सडक नहुँदाका बाध्यता, निर्माण सामाग्री र खाद्यान्न हेलिबाट ढुवानी

महंगीको उच्च मार खेप्दै नागरिक
ओम शाही
सुर्खेत, ६ माघ ।
१ चैत २०७७ मा तत्कालीन तथा हालका प्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रदेश र पालिकाका केन्द्रलाई कालोपत्रे सडक सञ्जालसँग जोड्ने घोषणा गरेको थिए । ओलीले घोषणा मात्रै गरेका थिएनन्, प्रधानमन्त्री निवास बालुवाटारबाटै सडक सञ्जाल विस्तार भर्चुअल माध्ययमबाटै उद्घाटनसमेत गरेका थिए गरेका थिए । तर,प्रधानमन्त्री ओलीले उक्त घोषणा गरेको चार वर्ष पुग्नै लाग्दासमेत कर्णालीका १० स्थानीय तहमा अझै पनि कच्ची सडक विस्तार हुन सकेको छैन । हिमाली जिल्लाहरुमा हवाई मार्गबाट बिभिन्न निर्माणका सामग्रीहरु ढुवानी कार्य अझैँ जारी रहेको छ । सडक सञ्जालको पहुँच नभएको उपल्लो डोल्पा, हुम्ला लगायतका क्षेत्रमा हेलिकोप्टरको सहायताले निर्माणका सामग्रीहरु ढुवानी गर्नुपर्ने बाध्यता छ ।

उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित रिग्मो गाउँमा निर्माण हुन लागेको ७० किलोवाटको जलविद्युत आयोजना निर्माण गर्नका लागि अहिले सामग्री ढुवानी जारी छ । कादुरी संस्थाको सहयोगमा साढे तीन हजार पाँच सय भन्दा बढि उचाइमा निर्माण हुन लागेको जलविद्युत आयोजनाका लागि आवश्यक पर्ने निर्माण सामाग्री हेलिकोप्टरबाट ढुवानी भइरहेको छ ।

गाउँपालिका अध्यक्ष धावा सम्डुक गुरूङले सडक सञ्जालसँग उपल्लो डोल्पा नजोडिएकाले हेलिकोप्टरको प्रयोग हुँदै आएको बताए । सुर्खेतबाट डोल्पा, हुम्ला, मुगुका हिमाली क्षेत्रमा वर्षेनी सामान तथा अन्य खाद्यान्नसमेत हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने बाध्यता रहदै आएको छ । अघिल्लो वर्ष जगदुल्ला जलविद्युत आयोजनाका सामान समेत हेलिकोप्टरबाट नै ढुवानी गरिएको थियो । वर्षेनी हेलिकोप्टरको प्रयोगबाट ढुवानीका काम हुँदै आएको अध्यक्ष गुरुङ्गले बताए ।

सडक सञ्जाल विस्तार नहुँदा छार्काताङ्सोङ गाउँपालिका, डोल्पो बुद्ध गाउँपालिका, शे–फोक्सुण्डो गाउँपालिकामा निर्माण सामाग्रीहरु हेलिकप्टर ढुवानी गर्नुपर्ने बाध्यता रहेको उनले बताए । आवश्यकताका आधारमा अन्य क्षेत्रमा पनि हेलिमार्फत निर्माण सामाग्री ढुवानी गरिदै आएको गुरुङ्ग बताउँछन् । ‘बाटो, नपुगेको तथा मान्छेले बोक्न नसक्ने सामाग्री हेलिले ओसार्ने गरेको छ,’ उनी भन्छन्, ‘नेपालगन्ज तथा सुर्खेतबाट सडक सञ्जालमार्फत डोल्पा सदरमुकाम दुनैसम्म स्थगत ढुवानी गरेर लगिएका निर्माण सामाग्री हेलिले लिफ्ट गर्ने गरेको छ ।’ सडक सञ्जाल विस्तार नभएपछि उपल्लो डोल्पाका नागरिकलाई विरामी हुँदा हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता रहेको उनले बताए । ‘सडक सञ्जालसँग नजोडिएका कारण मान्छे विरामी पर्दा लाखौंमा हेलिकप्टर बुक गर्नुपर्दछ । अन्यथा मान्छेले उपचार नपाएर ज्यानसमेत गुमाउने अवस्था छ,’ उनी भन्छन्, ‘अपर डोल्पाका मान्छेहरु विरामी पर्दा हेलिकप्टर रिजर्व गर्नु पर्दछ । सडक नपुगेकै कारण यदि हेलि लिफ्ट गर्न नपाए मान्छेहरुले ज्यान गुमाउनु पर्ने बाध्ययता छ ।’
स्थानीय महंगीको मार छन्

धावा सम्डुक गुरूङ
अध्यक्ष, शे–फोक्सुण्डो गाउँपालिका
सडक नपुग्दा अपर डोल्पाका पुरै क्षेत्रमा हेलिकप्टरबाट सामान ढुवानी गर्नुपर्ने बाध्यता छ । सडक सञ्जाल नजोडिएका कारण निर्माण सामाग्रीको कुरा मात्र होइन अन्य क्षेत्रसँग जोडिएको छ । यहाँका स्थानीयहरु विरामी पर्दा दशौ लाख खर्च गरेर हेलिकप्टर रिर्जव गर्नुपर्ने बाध्यतामा छन् । अर्को कुरा यी क्षेत्रबाट सदरमुकाम पुग्न निकै कठिन छ । सामानका कुरा मात्रै होइन धेरै कुरामा समस्या छ । सडक विस्तारको सन्दर्भमा मुस्ताङबाट सडक निर्माण भइरहेको छ । यो सडक निर्माण भएमा केही सहजता होला । संघीय राजधानी जान यो सडकले सहज भएपनि सदरमुकाम दुनै र प्रदेश राजधानी पुग्न भइरहेको समस्या यसले समाधान गर्दैन ।

भेरी कोरिडोर विस्तार हुँदैछ । हाम्रा लागि उपयूक्त भनेको भेरी कोरिडोर हो । यो सडकले पूर्णता पाएको खण्डमा उपल्लो डोल्पा उत्तरी चीनदेखि दक्षिणमा भारतसम्म जोडिन्छ । यसले पनि खासै गति लिन सकेको अवस्था छैन । दुनै–लासिका–धो–मरिमसम्म जोड्ने सडकको ठेक्का भएको छ तर ठेकेदारले कामै गरेको छैन । एक पटक हेलिकप्टर ढुवानी गर्दा ११ लाखसम्म तिर्नु पर्दछ । हेलिबाट ढुवानी गरेका सामाग्री किलोको आठ सयसम्म पर्न आउँछ । जसले उपल्लो डोल्पा महंगीको मारमा छ । सडक विस्तार गर्ने कार्य सुरु भएका छन् । तर, ति गतिका साथ अघि बढेका छैनन । सदरमुकाम र प्रदेश राजधानी सुर्खेतसम्म सेवा लिन पुग्ने सेवाग्राही र हामी जनप्रतिनिधिलाई एकदमै समस्या भइरहेको छ । हामी कहाँ भएका उत्तरी छिमेकीसँग जोडिएका नाकाहरु पनि बैधानिकरुपमा खुल्न सकेका छैनन् ।
यी नाकाहरु बैधानिकरुपमा खुलाउन सकिएको भए यहाँका जनतालाई महंगीको मार कम हुन्छ । सरकारले यतातर्फ ध्यान दिन सकेको छैन । अहिले वर्षमा त्यहीँ पनि अवैधानिकरुपमै भएपनि १५ दिन जती नाका खुलाउने गरिएको छ । डोल्पावासीलाई जान दिइन्छ । जिल्ला बाहिरकाले पाउँदैनन् । मरिम र क्याटो नाका खुलाउन सकिएको खण्डमा अपर डोल्पा मात्रै नभई त्रिदेशिय सञ्जाल तयार हुन्छ । यी नाका खुलाउन सकिएको खण्डमा निर्माण सामाग्री, खाद्यान्न, लत्ताकपडासँगै दैनिक घरायसी प्रयोगका सामाग्रीहरु सस्तोमा उपब्ध गराउन सकिन्छ । यहाँ हाम्रो देशसँग सडक जोडिएको छैन तर, चीनतर्फबाट अपर डोल्पाका तीन वटै पालिका सडकसँग जोडिएका छन् । तर, नाका प्रयोगमा भने अनुमति छैन । यसले डोल्पाली जनताहरु मार खेप्न बाध्य बनेका छन् । सरकारले पालिकाका केन्द्रसम्म सडक पु¥याउने योजना अघि सारेपनि ति कहिले बन्ने हुन अत्तपत्तो छैन ।

कर्णालीका १० पालिकामा अझै पुगेनन् सडक
कर्णाली प्रदेशका १० स्थानीय तहको केन्द्रमा सडक सञ्जाल पुगेको छैन । कर्णालीमा ७९ वटा स्थानीय तह रहेका छन् । जसमा डोल्पाका ६ स्थानीय तह से–फोक्सुन्डो, मुड्केचुला, जगदुल्ला, छार्का ताङ्सोङ, अदानचुली र ताजाकोट गाउँपालिकाको केन्द्र सडकको सञ्जालको पहुँच बाहिर छन् । से–फोक्सुन्डोमा ३५.४ किमि, मुड्केचुलामा १६ किमि, जगदुल्लामा २६ किमि, छार्का ताङ्सोङ ७५ किमि, अदानचुलीमा २४ र ताजाकोटमा २६ किमि नयाँ सडक निर्माण गर्नुपर्ने विभागको अनुमान छ । यसैगरी, कालीकोटका चार स्थानीय तह पचालझरना, नरहरिनाथ, महावै र शुभकालिका गाउँपालिकाको केन्द्रमा पनि सडक पुगेको छैन । पचालझरनामा आठ किमि, नरहरिनाथमा १६ किमि, महावैमा नौ किमि र शुभकालिकामा १२ किमि नयाँ सडक निर्माण गर्नुपर्ने देखिएको छ ।

सम्पादकीय: सडक सञ्जालको पर्खाइमा कर्णाली