सम्पादकीय: पेट्रोल अन्वेषणमा बिलम्ब नहोस्

दैलेखमा जारी पेट्रोलिय पदार्थ अन्वेषण अन्तर्गतको ‘ड्रिलिङ’को काम सम्पन्न भएसँगै तेस्रो चरणका कामहरु सुरु भएका छन् । २८ वैशाख २०८१ बाट सुरु भएको ड्रिलिङको काम २० पुषमा सम्पन्न भएको थियो । दैलेखको भैरवी गाउँपालिका–१ जलजलेस्थित अन्वेषण स्थलमा ड्रिलिङको काम चार हजार १३ मिटरमा पुगेर टुङ्गिएपछि नतिजामुखी कामहरु अघि बढेका हुन् । वैशाखबाट सुरु भएको ड्रिलिङको काम असोज मसान्तभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि कडा चट्टानका कारण आयोजना लम्बिन पुगेको थियो । आयोजना अन्तरगत मुख्य ड्रिलिङको काम सम्पन्न भएसँगै यसले आशा जगाएको छ । आयोजनाबाट प्राप्त नतिजा अनुसार दैलेखमा प्राकृतिक ग्याँस रहेको प्रारम्भिक अध्ययनले देखाएको छ । ड्रिलिङको काम सकिएलगत्तै प्रयोगशाला परीक्षणका लागि नमूनाहरु चीन पठाउन थालिएको छ । खानी तथा भूगर्भ विभागका अनुसार ड्रिलिङबाट प्राप्त चट्टान, ग्यास लगायतको नमूना (स्याम्पल) संकलन गरी तातोपानी नाका हुँदै चीनतर्फ पठाइएको हो । पेट्रोलियम अन्वेषण परियोजनाका कामहरु तीन चरणमा गरिएको छ । पहिलो चरणमा विस्तृत सम्भाव्यता अध्ययन, दोस्रो चरणमा ड्रिलिङ र तेस्रो चरणमा प्राविधिक नतिजा विश्लेषण पर्दछन् ।

अहिले तेस्रो चरणको काम सम्पन्न गर्न संकलित नमूनाहरुलाई प्रयोगशालामा परीक्षण गर्न चीन पठाइएको हो । यस अन्तर्गत भौर्गभिक सूचना, प्रयोगशाला रिर्पोटसहितको निश्कर्ष प्रतिवेदनका कामहरु पर्दछन् । चट्टान, माटोको गुण, छिद्रहरुको परीक्षण, जैविक पदार्थको ल्याब परीक्षण गर्ने काम शुरु भएको जनइएको छ। परीक्षण पश्चात चिनियाँ कम्पनी जिओलोजिकल सर्भे कम्पनीले अन्वेषणको नतिजा विश्लेषणसहितको विस्तृत प्रतिवेदन नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ । यस पश्चात मात्रै दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन सम्भव रहे नरहेको पत्ता लाग्नेछ । अन्वेषण अन्तर्गतको मुख्य काम ड्रिलिङ सम्पन्न भएसँगै अब कुन अवस्थामा पेट्रोलियम भण्डार छ र यसको उत्खनन् प्राविधिक र आर्थिक हिसाबले उपयुक्त छ या छैन भन्नेबारे अध्ययन हुनेछ । दुई हजार सात सय मिटर ड्रिलिङ भएपछि विज्ञबाट प्रत्येक दुई÷दुई मिटर गहिराइबाट निस्किएका ढुङ्गा र माटो परीक्षण हुँदै आएको छ । त्यसबाट प्राप्त भएको विवरणलाई सङ्कलन गरी सोर्स रक, रिजर्भ वायर रक र सिल रक गरी तीन वटा थप अध्ययन भइरहेको जनाइएको छ । दैलेखमा पेट्रोलियम पदार्थ उत्खननको विषय आजको भने होइन । सरकारी अध्ययनहरुले नै पेट्रोलियम पदार्थ रहेको पुष्टि गरिरहदा यसको उत्खनन्मा भने अपेक्षाकृत गति हाँसिल गर्न सकिएको छैन । विभिन्न समयमा परियोजना अगाडी बढाउने विषमा ढिलाई हुँदा उतखननको काममा बिलम्ब हुँदै आएको छ ।

समग्र देशकै भाग्य र भविष्यसँग जोडिएको परियोजनाका बाँकी चरणका कामहरु अब भने तीव्र गतिमा बढाउनु पर्दछ । जमिनमुनी खन्ने काम सम्पन्न भएसँगै अब बाँकी चरणका कामहरु अगाडि बढाई तोकिएकै समयमा वास्तविक अवस्था पत्ता लगाउनेतर्फ राज्यले ध्यान पु¥याउनु पर्दछ । दैलेखमा कार्यान्वयनमा आइरहेको पेट्रोलियम पदार्थ अन्वेषण परियोजनाबाट जिल्लाबासी उत्साही छन् । यसले वर्षौंदेखि बगेर खेर गइरहेको ग्यास, पेट्रोलको उपयोगमा आउनुका साथै जिल्लाको मात्र नभई समग्र देशकै आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास गरिएको छ । उत्खनन् एवं अन्वेषण गर्दा यहाँको धार्मिक अस्तित्व मेट्न नहुनेमा जिल्लाबासी एकमत छन् । धार्मिक र वैज्ञानिक उपयोगबाट पञ्चकोशी क्षेत्रलाई रुपान्तरण गर्न सके जिल्लाको समग्र विकासमा मद्दत पुग्दछ । यसबाट समर्ग देशलाई पेट्रोलियम पदार्थमा भारतसँगको निर्भरता अन्त्य हुने अपेक्षा गर्न सकिन्छ । यसर्थ, परियोजनालाई अन्तिमरुप दिन बिलम्व गरिनु हुँदैन ।

सम्पादकीय: पेट्रोल अन्वेषणमा बिलम्ब नहोस्

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण तेस्रो चरणको नमुना

सम्पादकीय: पेट्रोल अन्वेषणमा बिलम्ब नहोस्

चलखेलको आशंकामा मुगु कर्णाली जलविधुतको सबै प्रकृया