“चिहानको बाटोबाट जीवनमा फर्किए चम्पासिंह : डा. रोकायाको सन्देश — दुर्गममै सम्भव छ चमत्कारी उपचार”

गोल्डेन बुढा
जुम्ला ,८ जेष्ठ।
२०७७ सालको बैशाख १४ गते जुम्लाको तातोपानी गाउँपालिका–३ का चम्पासिंह शाहीमाथि आकाशबाट खसेको ढुंगाले प्रहार गर्यो। ढुंगा खानीमा काम गरिरहेका बेला ढुंगाले थिचेपछि मेरुदण्ड, कम्मर र दुबै खुट्टाको हड्डी चुँडिएर उनी निस्सासिएका थिए। गाउँलेले उनलाई मृत घोषणा गर्ने मनस्थितिमा पुगिसकेका थिए। मसानघाटसम्म लैजाने तयारी भइरहँदा, आफन्तको दृढता र सहयोगमा उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पुर्याइए।

प्राण त थियो, तर अवस्था गम्भीर। प्रतिष्ठानका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. पुजन कुमार रोकायाको नेतृत्वमा तत्काल शल्यक्रिया गरियो। त्यो सामान्य उपचार थिएन — निकै जटिल र चुनौतीपूर्ण थियो। तर डा. रोकायाको टीमले सफल अपरेसन गर्यो। चम्पासिंह आज हिँडडुल गर्न सक्ने अवस्थामा छन्। “म त चिहानमै पुगिसकेको मान्छे थिएँ,” चम्पासिंह भन्छन्, “डा. रोकाया नै मेरो पुनर्जन्मका भगवान हुन्।”
डा. रोकाया विगत १२ वर्षदेखि जुम्लाकै प्रतिष्ठानमा सेवामा समर्पित छन्। दुर्गम कोटाबाट एमबिबिएस अध्ययन गरेका उनी जन्मथलो फर्किएर हाडजोर्नी सेवा स्थापना र स्तरोन्नतिमा अग्रणी भूमिका खेलिरहेका छन्। उनले जुम्लामै नशा र हाडजोर्नी विभाग स्थापनासँगै मुगु, कालिकोट, डोल्पा जस्ता जिल्लामा समेत सेवा पु¥याएका छन्। उपचारका लागि डोकोमा बिरामी बोकिने समाजमा उनी विशेषज्ञ सेवा लिएर घरआँगनमै पुग्ने डाक्टर हुन्।

ग्रामिण क्षेत्रमा चोटपटकका कारण फरक प्रकृतिका हुन्छन्। भिरबाट लड्ने, रुखबाट खस्ने, खानीमा पुरिने, छतबाट झर्ने — यी दैनिक जीवनमै समावेश हुने दुर्घटनाहरू हुन्। यस्ता चोटपटकका घटनामा समयमै अस्पताल आउन नसक्नु, अशिक्षा र धामीझाँक्रीमा विश्वास प्रमुख चुनौती बनेका छन्। अनुसन्धान अनुसार १८५ बिरामीहरु चोटपछि पहिलोपटक धामीझाँक्रीकहाँ पुगेका थिए।
डा. रोकायाको भनाइमा, “शहरमा चाप छ, तर ग्रामीणमा चुनौती छ।” सघन उपचार, समयमै उपचार, उपकरणको पहुँच र नीतिगत सुधारले दुर्गम क्षेत्रमै उच्चस्तरीय स्वास्थ्य सेवा दिन सकिने उनी विश्वास गर्छन्। उनी भन्छन्, “यहाँ गाउँको खाना खाएर गाउँकै अस्पतालमा सेवा गर्न पाउनु मेरो सौभाग्य हो।”

डा. रोकाया जर्मनीबाट थप तालिम लिएर फर्केका छन् र हाल प्रतिष्ठानका अस्पताल निर्देशकका रुपमा कार्यरत छन्। उनले नेतृत्व गरेका उपचारहरू केवल औषधीय होइनन्, जीवन फेरिदिने खालका छन्।
जुम्ला जस्तै दुर्गम ठाउँमा पनि — प्रतिबद्धता, सेवा र सशक्त नेतृत्व भए चमत्कार सम्भव छ भन्ने उदाहरण हुन् डा. पुजन रोकाया।






