नगरपालिकामा हप्तौंदेखि एम्बुलेन्स सेवा बन्द, बिरामी मारमा

गाेल्डेन बुढा
जुम्ला,२ असोज
जुम्लाको चन्दननाथ नगरपालिकामा एकहप्ताबाट एम्बुलेन्स सेवा सुचारु हुन सकेको छैन्।गत भदौ महिनाकाे दिउँसो २४ गते जेन्जी आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरुले पार्किङ गरेर राखेको एम्बुलेन्स तोडफोड गरेपछि यस्तो समयमा सृजना भएको हो। एम्बुलेन्स सेवा लिन नपाउँदा बिरामी मारमा परेका छन्।

आजभोलि महँगोमा गाडी रिजर्भ गरेर अस्पताल पुर्याउनु परेको स्थानीयले गुनासो गरे। स्थानीय करबहादुर खत्रीले बिरामी बोक्ने एम्बुलेन्स प्रदर्शनकारीको निसाना बन्नु दुःखद् भएको बताउँछन्।उनले भने, ‘प्रदर्शनमा पनि कोही घाइते भएको भए त्यही एम्बुलेन्स चाहिने थियो होला । तर त्यही एम्बुलेन्स नै रहेन ।’प्रदर्शनकारीहरुले एम्बुलेन्सका सबैतिरका सीसा तोडफोड गर्नुका साथै इन्जीनमा समेत क्षति पुर्याएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एम्बुलेन्स छैनन् । अहिले चन्दननाथ नगरपालिकाको एम्बुलेन्सले सेवा दिइरहेको थियो,प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले भने, ‘अहिले बिरामी बोक्नुपर्ने देखि महँगोमा गाडी रिजर्भ गरेर बिरामी अस्पताल पुर्याउनुपर्ने बाध्यता छ ।’एम्बुलेन्सले नगरपालिकाभित्रका १० वटै वडाका बिरामी बोक्नुका साथै छिमेकी गाउँपालिका र जिल्लाका बिरामीसमेत बोकिरहेको थियो । ‘फुर्सदको बेला जताका बिरामीले फोन गरे उत्तैका बिरामी बोकिरहेको थियो,’ प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाले भने, ‘अहिले बिरामीका आफन्तले फोन गरिरहन्छन् तर एम्बुलेन्स तोडफोड भएकोले सेवा दिन सकिएको अवस्था छैन ।’चन्दननाथ नगरपालिकाका अनुसार एम्बुलेन्सको बिमा शिखर इन्स्योरेन्स कम्पनीमा गरिएको थियो । बिमाले पनि सर्भे गरिसकेको छ । ग्यारेजले स्टमेट गरेर पठाइसकेको छ । उनले भने, ‘बारम्बार बिमा कार्यालयमा गएर एम्बुलेन्स छिटो मर्मत गर्नुपर्ने भन्दै दबाब दिइरहेका छौं ।’नगरपालिकाले क्षतिको विवरण पठाइसकेको छ । यता नगरप्रमुख राजुसिंह कठायतले हप्ता दस दिनभित्र एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने गरेर तयारी बताए। प्रहरीले पनि एम्बुलेन्समा भएको क्षतिको मुचुल्का गरिसकेका छन् । जसअनुसार ५ लाख रुपैयाँ बराबरको सामानहरु क्षति भएको छ । स्थानीयले पनि अरु सवारी साधनभन्दा छिटो एम्बुलेन्स बनाउनुपर्ने माग गरेका छन् ।
जेन-जी आन्दोलनका क्रममा भएको प्रदर्शनले नगरपालिकाभित्र करिब एक करोड रुपैयाँ बराबरको भौतिक क्षति पुर्याएको छ। आगजनी तथा तोडफोडबाट नगरपालिकामा कुल ९८ लाख ७३ हजार तीन सय ८३ रुपैयाँ बराबरको क्षति भएको देखिन्छ।सवारीसाधनमा सबैभन्दा बढी ७९ लाख ७३ हजार, मेसिनरी तथा कार्यालयका सामग्रीमा १३ लाख र भौतिक संरचनामा ६ लाख बराबरको क्षति भएको हो।






