जमुनाह नाकामा ९ जनाको कोरोना जाँच गर्दा भारतबाट फर्किएका एक युवकमा संक्रमण पुष्टि

२, असार २०८२
बाँके। भारतको देहरादुनबाट घर फर्कँदै गरेका बर्दियाका २६ वर्षीय महेशकुमार थारुमा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपालगन्ज नाका हुँदै फर्किएका थारुलाई आरडीटी परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय, बाँकेका सूचना अधिकारी नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो। श्रेष्ठका अनुसार संक्रमित थारुमा कुनै लक्षण नदेखिएकाले थारुलाई मास्कसहित घर पठाइएको हो।
“लक्षण नदेखिएकाले अस्पताल भर्ना गर्नुको सट्टा थारुलाई आवश्यक स्वास्थ्य परामर्श दिइएको छ,” श्रेष्ठले बताउनुभयो। साथै, थारुलाई संक्रमणको सम्भावित लक्षणबारे सचेत गराउँदै आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ।
हाल भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेपछि नेपालगन्ज नाका हुँदै आउने यात्रुहरूमाथि निगरानी बढाइएको छ। शंकास्पद व्यक्तिको स्वास्थ्य परीक्षणमार्फत संक्रमणको जोखिम न्यूनीकरण गर्न स्थानीय प्रशासन र स्वास्थ्य संस्थाहरू सक्रिय छन्।






