छिमेकी चीनले बनाएको संरचना प्रयोगमा नेपाल आफै बाधक


नेपाल र चीनको सिमाना हुम्लाको हिल्सामा चीन सरकारकातर्फबाट पक्की मितेरी पुल निर्माण सम्पन्न भएको छ । चीन सरकारले गत असारबाट निर्माणको काम सुरु गरेर छोटो समयमा नै निर्माणको काम सम्पन्न गरेको छ ।

चीन सरकारले गत असारमा काम सुरु गरेर माघ महिनामा नै मितेरी पुलको निर्माणको काम सम्पन्न गरेको छ । तर, नेपालतर्फको संरचना नभत्काइदा पुल सञ्चालनका ढिलाई भइरहेको छ । एक सय ४६ मिटर लम्बाइ रहेको मितेरी पुल नेपालतर्फ ५७ मिटर र चीनतर्फ ६३ मिटर जमिनमाथी निर्माण गरिएको छ ।

पुल निर्माणको सबै कार्य पूरा भइसकेको नेपालतर्फ पर्ने केही घरका कारण पुल सञ्चालनमा आउन ढिलाई भएको हिल्सा–सिमिकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले जानकारी दिए । ‘मितेरी पुलको सबै सम्पन्न भएपछि पुल सञ्चालनमा ल्याउन सहमति भएको थियो,’ उनले भने, ‘नेपालतर्फ पर्ने ६ वटा घर सार्वजनिक शौचालयका कारणले सञ्चालनमा आउन सकेको छैन् ।’
मितेरी पुल निर्माणका बेला नेपालतर्फको एक सय मिटर सडकसम्म चिनियाँ पक्षले बनाउने सम्झौता भएको र चिनियाँ ठेकेदारले नेपालतर्फका भएका संरचनाका कारणले नेपालतर्फको पहुँच मार्ग निर्माण गर्न बाँकी रहेको नेपालीले बताए ।

‘म दुई पटक हिल्सा पुगेर समस्या समधानका लागि पहल गरे,’ उनले भने, ‘चिनियाँ ठेकेदारसँग भेट नभएका कारणले कुनै कुरा हुन पाएन् ।’ पुल निर्माण अवधिमा चार पटक अनुगमन गर्ने कार्य प्राविधिकबाट गरिएको उल्लेख गर्दै उनले मितेरी पुलको आठ महिनामा चिनियाँ पक्षले निर्माण सम्पन्न गरेको भए पनि सञ्चालनमा आउन नसकेको बताए ।

‘चिनियाँ पक्षले नेपालतर्फको पहुँच मार्गको सडक निर्माण कार्य गरिरहेको छ,’ उनले भने, ‘नेपालतर्फको पुलको छेउबाट दुई सय मिटर सडक चीन सरकारले निर्माण गर्नुपर्ने सम्झौता अनुसार नेपाली भू–भागमा शौचालय, ६ वटा व्यक्तिगत घर र हेलिप्याडलगायतका संरचना भएका कारणले सडक निर्माणको काम हुन सकेको छैन् ।’

चिनियाँ पक्षले ती संरचना खाली गर्न आग्रह गरेको भए पनि सडक निर्माण हुन नसकेको बताउँदै उनले पुलबाट सडक निर्माण गर्दा सार्वजनिक संरचना बाधक रहेको प्रमुख नेपालीले बताए । ‘नेपालीको घर तथा अन्य संरचना नभत्काउने गरी कसरी सडक निर्माण गर्ने भन्ने बिषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘नेपालतर्फ रहेका घर तथा अन्य संरचना नभत्काउने गरि सर्बदलिय तथा सर्बपक्षीय छलफलको आवश्यकता रहेको छ ।’

हुम्लाको सिमकोटबाट चीनको सिमाना हिल्सासम्म ९३ किलोमिटर सडक रहेको छ । आर्थिक वर्ष २०५३÷०५४ मा सुरु भएको हिल्सा–सिमकोट सडक अहिले पूर्ण रुपमा सञ्चालनमा रहेको आयोजना प्रमुख नेपालीले जानकारी दिए ।

हुम्लाको हिल्सासम्म कर्णाली करिडोरले जोड्ने गरेको छ । बाँकेको जमुनाहदेखि सुर्खेत, दैलेख, कालिकोट, बाजुरा हुदैँ हुम्लाको सिमकोटदेखि चीनको सीमा क्षेत्र हिल्सासम्मको दूरी ६ सय ८२ किलोमिटर छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि हुम्लाको हिल्सासम्म चार सय १० किलोमिटर छ ।

कर्णाली करिडोर कालीकोटको नरहरिनाथ गाउँपालिका–८ खुलालुदेखि हुम्लाको सलिसल्लासम्मको एक ९६ किलोमिटर सडकको ट्र्याक नेपाली सेनाले खोलिसकेको छ । चीनको सिमाना हुम्लाको हिल्सादेखि सलिसल्लासम्मको एक ४६ किलोमिटर हिल्सा–हुम्ला सडक आयोजनाले कामको जिम्मा लिएको छ । त्यो सडकखण्डको काम पनि तीव्र रुपमा भइरहेको छ । अहिले कर्णालीका पुल नबन्दा हुम्लाको सदरमुकामसम्म सडक पुग्न सकेको छैन् ।

हिल्सा–सिमकोट सडक आयोजनाले जिम्मा लिएको एक सय ४६ किलोमिटरमध्ये हिल्सादेखि हुम्लाको सिमीकोटसम्मको ९३ किलोमिटर सडक निर्माण भइसकेको हिल्सा सिमकोट सडक आयोजनाले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणका क्रममा नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसियिटभ (बीआरआई) सहकार्यको फ्रेमवर्कमा हिल्सा–सिमकोट सडक परियोजनामा सम्झौता भएको थियो ।

हुम्लाको सदरमुकाम सिमकोटबाट हिल्सासम्मको ९३ किलोमिटर दुरीको गाडी भाडा तीन हजार पाँच ६२ रुपियाँ लाग्ने छ । यसभन्दा अगाडी योभन्दा महङ्गो भाडादर अहिले भने घटाइएको छ । सडक कच्ची, यातायातका साधनले बढी क्षेती ब्यहोर्नु पर्ने भएका कारण मौखिक सहमति यातायात ब्यवसायीहरु भाडा घटाएर यात्रु बोक्न तयार रहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए ।

‘भर्खर भर्खर यातायातका साधनहरु सञ्चालनमा आईरहेकाले नियमसंगत रुपमा सञ्चालनमा ल्याउन समय लाग्छ,’ उनले भने, ‘भोलीका दिनमा भाडादर नियम अनुसार हुनेछ ।’ कर्णाली प्रदेश सरकारले कर्णालीका उत्तरी नाकालाई प्राथमिकतामा राखेको छ । प्राथमिकतामा परे पनि कामको गति भने सुस्त छ । मुगुको नाक्चेलाग्ना, डोल्पाको मोरिल्ला र हुम्लाको हिल्सा नाका खोलन सके कर्णालीको समृद्धिको ढोका खुल्ने भन्दै प्रदेश सरकारले यी नाका खोल्न कसरत गरिरहेको छ । प्रदेश सरकारको बजेटले यति ठूला आयोजना निर्माण गर्न नसकिने र संघीय सरकारले पर्याप्त बजेट नदिँदा अपेक्षा अनुरुप यी आयोजनाका काम अघि बढ्न सकेका छैनन् ।

चीन सरकार हिल्सा नाका बाहेक नाक्चेलाग्ना र मोरिल्ला नाका खोल्नेबारे भने आनाकानी गर्दै आएको छ । सरकारले प्राथमिकता राखेका योजना प्राथमिकतामा नराख्दा लक्ष्य अनुसार काम हुन सकेको छैन ।

छिमेकी चीनले बनाएको संरचना प्रयोगमा नेपाल आफै बाधक

सम्पादकीय: मदन भण्डारी राजमार्ग समृद्ध सुर्खेतको ढोका