सम्पादकीय: मदन भण्डारी राजमार्ग समृद्ध सुर्खेतको ढोका

प्रदेश राजधानी सुर्खेत उत्तर दक्षिणबाट सडक सञ्जालमा जोडिएको छ । तर पूर्वी सुर्खेत र पश्चिम सुर्खेतमा सिधै सडक सञ्जालबाट जाडिएको छैन् । छिञ्चु जाजरकोट खण्डले पूर्व तथा कर्णाली राजमार्गले पश्चिमका केही भुभागमा सडकको विकास भएपनि पूर्व पश्चिम प्रत्येक्ष सडक सञ्जालबाट जोडिएका छैनन् । यसले गर्दा पश्चिम सुर्खेतको ठूलो भूगोल सडक सञ्जालबाहिर छ । पूर्वको झापादेखि सुदुरपश्चिमको डडेल्धुरा जोड्ने सडक भित्री मधेसको मुख्य मार्ग हो, मदन भण्डारी राजमार्ग । यसले सुर्खेतलाई पुरै जोड्छ । मदन भण्डारी राजमार्ग पूर्वी सुर्खेत–वीरेन्द्रनगर हुदै पश्चिम सुर्खेत पार गरेर सुदुरपश्चिम प्रवेश गर्दछ । सिंगो सुर्खेतको भूगोल राष्ट्रिय राजमार्गमा जोडिनु सुर्खेतको भाग्य हो । मध्यपहाडी राजमार्ग र पूर्व पश्चिम (महेन्द्र) राजमार्गको बीचमा बन्ने दुई लेनको यो राजमार्गले भित्री मधेस र चुरे तथा महाभारत क्षेत्रका आसपासका ठाउँलाई समेट्दछ । राजमार्गले सिंगो सुर्खेतको समृद्धि र विकासको नयाँ ढोका खोल्ने अपेक्षा राखिएको छ । मदन भण्डारी राजमार्गको अधिकतम् लाभ सुर्खेतले लिनु सक्नुपर्छ । सुर्खेतको बीच भागमा पर्ने हुँदा राजमार्गबाट यहाँका नागरिकले विभिन्न फाइदा लिन सक्ने आधार छन् । सहरीकरणको विकास, साना तथा मझौला उद्योग स्थापना, व्यवसायिक कृषि, आयआर्जनमार्फत सडकको फाइदा लिन सकिन्छ ।

नेपालगञ्जमा निर्भर सुर्खेतको बजार सुदुरपश्चिम प्रदेशको कैलाली, धनगढी तथा पूर्वमा लुम्बिनीका दाङलगायतका जिल्लासँग जोडिनेछ । कृषि र पशुपालनमा ठूलो सम्भावना बोकेको सुर्खेतका लागि मदन भण्डारी राजमार्ग बरदान सावित हुनेमा दुई मत छैन । भौगोलिक विकटता, अविकासजस्ता कारणले पछिल्लो समय रित्तिँदै गएको भित्री मधेशको साख जोगाउन पनि यो राजमार्ग उत्तिकै महत्वपूर्ण मानिएको छ । यसले सुर्खेतमा ठूला कलकारखानाको विकास हुन गई रोजगारी सिर्जनामा केन्द्रित गर्न आवश्यक छ । सडक बन्ने तर लाभ लिन नसक्ने हो नागरिकको जीवनमा तात्विक परिवर्तन हुँदैन । यसतर्फ जिल्लाका जनप्रतिनिधि, व्यवसायी एवं निजी क्षेत्र सचेत हुनुपर्दछ । वि.सं २०७६ सालबाट निर्माण थालिएको राष्ट्रिय राजमार्ग परियोजना अन्तर्गतको यो राजमार्गको कुल लम्बाई झण्डै १२ सय किलोमिटरको छ । हाल सुर्खेतको पूर्वी तथा पश्चिम खण्डको सडक स्तरोन्नति भइरहेको छ । लामो समयदेखि अल्झिएका विवादहरु समाधान भएका छन् । यसले राजमार्ग निर्माणले गति लिने अपेक्षा गरिएको छ । सडक निर्माण भएसँगै सुदुरपश्चिमका पहाडी जिल्ला र कर्णालीका १० वटै जिल्लाका नागरिकलाई संघीय राजधानी आउजाउ गर्न लुम्बिनी प्रदेशको नेपालगञ्ज धाउनुपर्ने बाध्यता हट्नेछ ।

यस राजमार्गको प्रभावकारी कार्यान्वयनले सुदूरपश्चिम र कर्णाली क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय सुधार ल्याउनेछ । सुर्खेत प्रदेश राजधानी भएका कारण यो क्षेत्र यातायातको प्रमुख केन्द्रको रूपमा विकसित हुँदैछ । राजमार्ग सम्पन्न भएपछि व्यापार, कृषि, पर्यटन र रोजगारीका अवसरहरू सिर्जना हुनेछन् । तर, सरकार, निर्माण कम्पनी तथा सरोकारवालाबीच समन्वय अभावका कारण निर्माण कार्य बिलम्ब हुँदै आएको छ । यसतर्फ सम्बन्धित निकायहरूले सहकार्य गर्दै आवश्यक प्रक्रिया छिटो पूरा गर्नेतर्फ ध्यान नदिए यो सडकको लागत बढ्ने मात्र होइन, विकासको गतिमा समेत अवरोध आउन देखिन्छ । यसर्थ मदन भण्डारी राजमार्गको सुर्खेत खण्डलाई समयमै सम्पन्न गर्न प्रशासनिक प्रक्रियालाई तीव्रता दिई निर्माण कार्यलाई व्यवस्थित बनाउन जरुरी छ । जनताका अपेक्षाहरू पूरा गर्दै यातायात सञ्जाललाई सुदृढ बनाउने यो महत्वपूर्ण परियोजना द्रुत गतिमा सम्पन्न होस् भन्ने सबैको चाहना छ ।

सम्पादकीय: मदन भण्डारी राजमार्ग समृद्ध सुर्खेतको ढोका

YUGAAWHAN NATIONAL DAILY (2081-10-29)

सम्पादकीय: मदन भण्डारी राजमार्ग समृद्ध सुर्खेतको ढोका

छिमेकी चीनले बनाएको संरचना प्रयोगमा नेपाल आफै