परीक्षा हलमै शिक्षकले बनाए टिकटक, चौतर्फी आलोचना
बाँके,२६ जेष्ठ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–९, ढकेरीस्थित गणेश माध्यमिक विद्यालयमा परीक्षा हलमै शिक्षकले टिकटक भिडियो बनाएको घटनाले चौतर्फी आलोचना निम्त्याएको छ। कक्षा ११ को वार्षिक परीक्षा चलिरहेको बेला शिक्षकले यस्तो कार्य गर्नु अनुशासनहीन र आपत्तिजनक भएको भन्दै अभिभावक, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा शैक्षिक क्षेत्रका व्यक्तिहरूले कडा विरोध गरेका छन्।
विवादमा तानिएका शिक्षक हरिप्रसाद चौधरी हुन्, जो सोही विद्यालयमा शिक्षण पेशामा कार्यरत छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा उनी परीक्षार्थी विद्यार्थीहरूसँगै हलभित्र टिकटक बनाउँदै रमाइरहेका देखिन्छन्।
परीक्षाजस्तो संवेदनशील समयमा, शैक्षिक अनुशासनको उल्लङ्घन गर्दै गरिएको यस गतिविधिले शिक्षकको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको अभिभावकहरूको प्रतिक्रिया छ।
“यो शिक्षा हो कि मनोरञ्जन?” – अभिभावकको आक्रोश
सो विषयमा अभिभावकहरूले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गर्दै भनेका छन्, “विद्यार्थीलाई अनुशासन सिकाउने शिक्षक आफैंले परीक्षा हललाई टिकटक सेट बनाउनु शिक्षाको अपमान हो।” उनीहरूले थपे, “यो घटनाले विद्यार्थीको ध्यान विचलित गर्न सक्छ र परीक्षाको निष्पक्षतामाथि प्रश्न उठाउँछ।”
शैक्षिक क्षेत्रको मर्यादा र परीक्षाको गम्भीरतालाई क्षति पु-याउने यस्ता गतिविधिप्रति कडा कारबाहीको मागसमेत उठ्न थालेको छ।
विद्यालय प्रशासन मौन, छानबिनको माग
घटना सार्वजनिक भए पनि विद्यालय प्रशासनले हालसम्म औपचारिक धारणा दिएको छैन। स्थानीयस्तरमा शिक्षा शाखा र सम्बन्धित पालिकाले यस विषयमा तत्काल छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने आवाज उठिरहेको छ।