‘विचारको विचलनपछि जनयुद्ध लडेकाहरु नै हिंसा भन्न थाले’


नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालिबहादुर मल्लले विचारमा विचलन आएपछि जनयुद्ध लडेकाहरुनै जनयुद्धलाई हिंसा भन्न थालेको बताएका छन् । आइतबार वीरेन्द्रनगरमा कर्णाली प्रदेश कमिटीले सार्वजनिक गरेको समाजवादी यात्रा नामक मुखपत्रको विमर्श कार्यक्रममा बोल्दै इन्चार्ज मल्लले माओवादीले थालेको जनयुद्धका कारण देशमा आएको आमुल परिवर्तनलाई बिर्सेर कतिपयको नजरमा हिंसा भन्ने भ्रम परेको दावी गरे ।
माओवादी शान्ति प्रक्रियामा आउँदा १२ बुँदे सम्झौतामा हस्ताक्षर गरेका दलहरुले अहिले आएर जनयुद्धलाई हिंसाको रुपमा बुझ्नु विचारको विचलन भएको मल्लको तर्क थियो । उनले एमाले नेता रामबहादुर थापा लगायतका नेताका पछिल्ला अभिव्यक्तिलाई लिएर यस्तो टिप्पणी गरेका हुन् ।
१० वर्षे जनयुद्धमा होमिएका तर अहिले अन्य पार्टीमा लागेका नेताहरुमा जनयुद्ध के हो भन्ने विषयमा भ्रम रहेको उल्लेख गर्दै मल्लले हिजो माओवादीसँग सम्झौता गर्ने तर अहिले हिंसा भन्नेहरुसँग सजग रहनुपर्ने बताए । जनताले राज्यसत्ताका विरुद्ध हतियार उठाउनुलाई हिंसाका रुपमा बुझ्नु गलत रहेको मल्लको जिकिर छ ।
माओवादीले लडेर ल्याएको व्यवस्थाप्रति सर्वत्र प्रहार भइरहेको दावी गर्दै उनले यसको संस्थागत हुन माओवादी बलियो शक्ति भएमात्रै सम्भव रहेको दावी गरे । कर्णाली माओवादीको आधार इलाका भएको उल्लेख गर्दै मल्लले जनयुद्धका कारण आएको परिवर्तनलाई सबैले मनन् गर्नुपर्ने धारणा राखे ।
जनयुद्व हिंसा भए नेपालका ७ राजनिति दलका नेताहरुले माओवादीसँग १२ बुदे समाजदारी गरी बृहत शान्ती सम्झौता गर्दा ती राजनिति दलका नेताहरु कता सुतेका थिए भन्दै उनले प्रश्न गरेका थिए । हिंसा होइन हामिले गरेको जनयुद्व हो त्यो बहस हामिले गर्नु पर्छ,‘उनले भने,’ ‘हिंसा भनेको झडप हो, द्वन्द्व दुई पक्षबीच हुने लडाई हो, युद्व भनेको हतियार को युद्ध हो,जनयुद्ध भनेको अन्यायको विरोध गर्दै राज्यसत्ताका विरुद्ध लड्ने लडाई हो ।’
पूर्व मुख्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीले संसदीय व्यवस्थामा दुई ठुला पार्टी मिलेर सत्ता संचालन गर्ने चलन नभएको भन्दै उनले अन्तर्राष्ट्रिय परम्परा विपरित नेपालका दलालहरुको उदेश्य पुरा गर्न एमाले,काँग्रेस सत्ता समिकरण बनेको बताए ।
‘संसदीय व्यवस्थामा दुई ठुला पार्टी एकै पटक सत्तामा गएको चलन छैन तर नेपालमा यी पार्टीहरुले आफ्नो गल्ती ढाकछोप गर्ने र नेपालका दलालहरुलाई खुसी पार्न सत्तामा बसिरहेका छन्,‘उनले भने,’ ‘एक ठुलो पार्टी सत्तामा भए अर्को पार्टी व्यवस्था बलियो बनाउन पनि प्रतिपक्षमा बस्ने प्रचलन छ तर यी दुई दलहरुले आफ्नो स्वार्थ पुरा गर्न त्यसको ठिक उल्टो विपरित काम गरेका छन् ।’
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश अध्यक्ष विमला केसीले उक्त मुखपत्र माथि आफ्नो धारणा राख्दै पछिल्लो समयमा पार्टी भित्र विचार हराउदै गएकाले यो मुखपत्र पार्टी नेता कार्यकर्ताहरुको लागि बैचारिक खुराक बनेको बताइन् । अध्यक्ष केसीले नेपालको संविधानको प्रस्तावनामै समाजवाद उल्लेख गरेको हुँनाले आफ्नो पार्टीको योगदानका कारण संविधानको प्रस्तावनामा समाजबाद उल्लेख गर्न सफल भएको भन्दै माओवादी केन्द्र कर्णाली प्रदेशले पनि आफ्नो वार्षिक मुखपत्र समाजवादी यात्रा नामबाट प्रकाशन गरेको उल्लेख गरिन् ।
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रामदिप आचार्यले पछिल्लो समय माओवादी पार्टीमा अध्ययन गर्ने बानि हराउदै गएको भन्दै त्यसको लागि सबैले अध्ययन गर्न तिर जोड दिनु पर्ने बताए ।






