धोकाको चक्रव्यूह

कसैको लोकमा छैन एकैनास समुन्नति
अरुको के कुरा हेर सन्ध्यामा सूर्यको त्यो गति ।

कवि शिरोमणि लेखनाथ पौडेलको यो मर्मस्पर्शी कविताको श्लोकले धनवान् र बलवानलाई मात्र होइन, राजनीतिक सत्ता शक्तिमा चढेर मैमत्त भैरहेका अभिमानहरुलाई पनि कटाक्ष गरिरहेको छ । राजनीतिमा यसको ज्वलन्त नमूना बनेका छन माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । ऊनी भूमिगत जीवनबाट पहिलो पटक सार्वजनिक हुँदा उनको उच्च आत्मबल, जोश र रवाफसँग जनता आकर्षित थिए । देशले राजनेता पाए झैं भएको थियो, तर मनोगत स्वार्थमा लिप्त हुँदै जाँदा जनविश्वास घट्न थाल्यो । दिनप्रतिदिन पार्टी स्खलित भएपछि ठूला पार्टीको आड लागेर सत्ता भोग गर्नुपर्ने अवस्था आयो । उनले हिजो ल्याएको अपवित्र गठबन्धन अवधारणा आज उनैमाथी भारी पर्‍यो किनकि काँग्रेस र एमालेको त्यस्तै गठबन्धनले सत्ता वियोगी बनाइदियो । प्रचण्डसँग त्यो ओझ आँट जाँगर सबै निभ्दै गएको छ, पश्चिमबाट अरु तल झरेको घाम जस्तै ।

नेपाली काँग्रेस र नेकपा एमाले जस्ता पुराना पार्टीले २०६४ सालको संविधानसभाको चुनावमा भाग लिँदालिँदै भर्खरै संसदीय राजनीतिमा आएको माओवादी पार्टीले प्रथम स्थान हासिल गरेपछि देशले अवश्य विकासको गति लिन्छ भन्ने जनतामा आशा पलाएको थियो । जनताकालाई त प्रजातन्त्र कु गर्ने राजा मात्र होइन काँग्रेस र एमालेको मनपरि तन्त्रले पनि सताइरहेको थियो । कहिले धमिजा र लाउडा काण्डमा कमिसन कुम्ल्याउने, कहिले सम्झौता हो भन्दै जनता ढाँटेर महाकाली सन्धि गर्ने, सांसद खरिद बिक्री काण्ड मच्चाउने, प्रजातन्त्र राजाका पाउमा चढाउने जस्ता तमाम घृणित कर्म गरेकाले फेरि तिनै अनुहार चुनावमा उमेदवार हुँदा तिनलाई सवक सिकाउँदै द्वन्द्वका घाउमा पट्टी बाँधेर भए पनि जनताले माओवादीलाई ठूलो अवसर दिएका थिए । स्वर्णिम अवसर माओवादी अध्यक्ष तथा गणतन्त्रको पहिलो प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई हजम हुन सकेन । पद र प्रलोभनको दलदलमा प्रचण्ड यसरी गढ्न थाले कि माओवादीबाट मोहन वैध्य, बाबुराम भट्टराई रामबहादुर थापा र नेत्र बिक्रम चन्द जस्ता महारथीहरु पार्टीबाट बाहिरिंदा पनि उनलाई कुनै चिन्ताले छोएन पटक्कै प्रवाह भएन । छोडी जानेहरूको रिक्त स्थानमा आफ्ना परिवार नातागोता र समर्थकलाई हुल्न पाइने अभिलाषा जागेर कुचोले बढार्नु पर्ने कसिंगर हावाले उडायो भने झैं भएको पो हुँदोहो भन्ने सिधा अड्कल काट्न सकिन्छ ।

द्वन्द्व कालमा भत्काइका जलाइएका कैयन संरचना पुनर्निर्माण गर्नु थियो, द्वन्द्वले टुहुरा असहाय र अबला पारेका जनताको मन जित्नुपर्ने थियो, घाइते अपाङ्गहरुलाई पनि सम्बोधन गर्दै विकासलाई द्रुतगतिमा लैजानु चानचुने चुनौती थिएन । तर प्रचण्डको दाउ अर्कै थियो, सेनामा कब्जा जमाएर सदाकाल राज गर्ने सपना रहेछ मनमा । भलै उनको त्यो अथक अभ्यास सफल हुन सकेन । सेनापतिसँगको द्वन्द्वले प्रचण्ड पराजित मात्रै भएनन् छँदाखाँदाको प्रधानमन्त्री पदबाट पनि हात धुनु पर्‍यो । तत्काल सत्तामा फेरि फर्कनका लागि उनले देशभरका माओवादी कार्यकर्ता र समर्थकहरु राजधानीमा खेडे । एमाले का नेता माधवकुमार नेपाल प्रधानमन्त्रीको पदमा पुगेर सत्ता सम्हालेका थिए, प्रचण्डले नेपाललाई हरूवा मात्रै भनेनन् विदेशीको गोटि पनि भन्न भ्याए । आफ्नो समर्थन नगरेको झोकमा राजधानीवासीलाई सुकिलामुकिला भन्दै सरापे । न्वारान देखिको बल झिकेर आन्दोलन गर्दा समेत सत्ता प्राप्त हुन नसकेको र त्यसपछिका दिनबाट आफ्नो ओरालो यात्रा सुरु भएको अत्यन्त नमिठो अनुभव छ प्रचण्डसँग ।

विकृति विसंगतिमा मौलाएका पुराना पार्टीहरु सत्तामा चढ्दै ढुकुटीमा दाइँ हालिरहेका थिए । माओवादी ती पार्टीहरु भन्दा फरक हुनुपर्थ्यो, अनेकन बाधा चिरेर सुशासन कायम गर्नु पर्थ्यो । देश लुट्न जनता ढाँट्न र आफ्ना परिवार नातागोता लाई राजकीय पदमा हुल्न माओवादीले अरु पार्टीलाई पनि उछिनेको छ । जसको कारण पहिलो संविधानसभा निर्वाचन मा प्रथम स्थान लिएको पार्टी पछिल्लो पटकको संविधानसभा निर्वाचनमा घमण्डको बोसो पग्लेर तेस्रो स्थानमा सिमित हुन पुग्यो । पहिलो र तेस्रो स्थान जे प्राप्त भएपनि २०६४ सालको संविधानसभा निर्वाचनपछि प्रत्येक्ष परोक्ष रूपमा प्रचण्ड सत्ता कै वरिपरि छन । सकेसम्म आफै प्रधानमन्त्री हुने, नसकेका घडी सम्भावना नजिक भएका अन्य व्यक्तिलाई प्रधानमन्त्री पदमा उभ्याएर किङ मेकरको श्रेय पनि आफ्नै पोल्टामा हाली तत् तत् व्यक्तिलाई कृपा पात्र बनाउने नीति लिएको देखिन्छ । कहिले उच्च स्तरीय संयन्त्र भनी संविधानले नचिनेको प्राबधान ल्याएर पनि राजकीय भागबन्डामा सामेल भए । म प्रधानमन्त्री
त होइन तर प्रधानमन्त्री भन्दा कम शक्तिशाली पनि छैन भनी प्रचण्डले सार्वजनिक रूपमा दिएको अभिव्यक्ति पाठकवर्गमा अवश्य अवगत नै होला ।

प्रचण्ड जब सत्ता बहिर्गमनमा पर्छन् तब ऊनी अत्तालिन्छन र माओवादीहतरु फेरि एक ढिक्का हुनुपर्ने अलाप गर्छन् । चित्त दुखाउँदै फाटेर गएका माओवादीहरु प्रचण्डको रोदनमा एक जुट हुन सक्दैनन् र फर्केर पनि आउँदैनन भन्ने जान्दाजान्दै पनि कार्यकर्तालाई छेक्न वा भ्रमको भुमरीमा रुमल्न घरीघरी यस्तो रटान लगाइ रहन्छन् । सत्ता संकट पर्दाका घडी राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिक्रियावादीले घेरा हाल्न खोजे भन्ने अर्को थेगो पनि बनाएका छन प्रचण्डले । त्यो थेगोले पनि पछिल्लो दुर्दशा थेग्न सकेन । जादुवाला नम्बरले जसरी पनि सत्ता जोगादिन्छ भनी मखलेल भैरहेका बेला एकाएक काँग्रेस र एमालेको भित्री मतोबाट एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार
निर्माण भएपछि प्रचण्डका अघि ठूलो दुर्भाग्य खडा हुन गयो । यो दुर्भाग्यले उनलाई विक्षिप्त मात्रै बनाएन सत्ता सम्बन्ध पनि चुटालेर किनाराकृत बनाइदियो ।

देशका ठूला दुई पार्टी मिलेर सरकार बनाउन हुँदैन निरंकुशता पैदा हुन्छ ,अन्यत्र यस्तो संस्कार छैन भनेर प्रचण्ड पटकपटक चिच्याउँछन । उनको भनाइ नाजायज होइन होला तर हिजो दुई ठूला पार्टीमा खेलेर तेस्रो पार्टीले सत्ताको नेतृत्व गर्नु पनि संवैधानिक नै थियो त रु के त्यसैका लागि थियो त जनताको अभिमत रु त्यही र त्यस्तै प्रकृतिको काम कसैले गर्दा चमत्कार हुने र कसैले गर्दा बलात्कार हुने हुन्छ रु विरोधका लागि बोल्दा पनि आफ्नो नैतिकताको थोरै ख्याल गर्नुपर्ने हुन्छ । काँग्रेस र एमाले मिलेपछि प्रचण्डका मनमा छट्पटी पस्यो । प्रधानमन्त्री पद गयो, प्रधानमन्त्री बनाइदिने किङ मेकरको हैसियत पनि रहेन र आफ्ना सांसदलाई मन्त्रीमा झुन्ड्याएर दुनो सोझ्याइ रहने अवस्था पनि रहेन । हुन त राजनीतिमा असम्भव भन्ने केही हुन्न भनेर गणतन्त्रका मसिहाहरुले व्यवहारमा नै देखाइ सकेका छन । कसैको नाम लिनुपरेमा मुख कुल्ला गर्छु भन्ने अहंकारले स्वार्थका लागि कोटेश्वरको गोडा मल्नु परेको र ठूलाठूला शक्ति केन्द्रले भने पनि प्रधानमन्त्री पदका लागि ओलीसँग मिल्दैन भन्ने घमण्डले लाज सरम पचाएर बालकोट को बार्दलीबाट हात हल्लाएको विस्मयकर दृष्टान्तको स्मरण जनतामा छँदैछ । जनताको माझमा जाँदा यिनै दोगलाहरुले राजनीतिमा आदर्श विचार नैतिकता र निष्ठा चाहिन्छ भन्न पनि पछि पर्दैनन् ।

राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न भनी गणतन्त्रका दोगलाहरुले नयाँ सिद्धान्त प्रतिपादन गरेका छन र यस बारेमा माथि नै चर्चा समेत भैसकेको छ । यस्तै यस्तै अपवाद बाहेक २०८४ साल सम्मको यो अवधिमा प्रचण्ड अब सत्तामा उक्लने र भोग विलास गर्ने सम्भावनालाई संविधानले तगारो हालिदिए को छ । मानौं प्रचण्डको माहोल बन्दै गयो, मानौं केपी ओली पनि प्रचण्डकै समर्थन गर्न पुगे तब पनि प्रधानमन्त्री पद खाली गर्नका लागि कि ओलीले राजीनामा दिनुपर्‍यो कि अविश्वास को प्रस्ताव लैजानु पर्‍यो । प्रधानमन्त्रीको पद खाली भएपनि कसैको दाल गल्दैन किनकि अब राष्ट्रपतिले संविधानको धारा ७६ ९३० बमोजिम सरकार गठनको आह्वान गर्छन् । संसदमा सबैभन्दा ठूलो पार्टी हुनुको नाताले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको भागमा पोखिन्छ सत्ता । तब देउवाको एकलौटी सरकार ३० दिनभित्र विश्वासको मत पाए सहजै चल्छ नपाए देउवाकै नेतृत्वबाट मध्यावधि निर्वाचनमा जान्छ ।
यहाँ ओलीले चाहँदैमा टीका लगाएर प्रचण्डलाई प्रधानमन्त्री बनाइदिने र प्रचण्डको इच्छा मुताविक ओलीलाई सत्ता सुम्पने हुनै सक्दैन त्यहाँ संवैधानिक जटिलताको सामना गर्नै पर्छ ।

धोकाको चक्रव्यूह

YUGAAWHAN NATIONAL DAILY (2081-10-27)