१५ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै लुम्बिनी प्रदेश स्तरीय बाल भेला सम्पन्न

बाँके ,१२ जेठ ।
१५ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै लुम्बिनी प्रदेश स्तरीय बाल भेला, प्रदेश बाल समूह सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बालबालिकाको हक, अधिकार र सहभागितालाई सशक्त बनाउने उद्देश्यले आयोजित भेलाले सर्वसम्मत रूपमा १३ सदस्यीय प्रदेश बाल समूह सञ्जाल गठन गरेको हो ।
भेलाको समापन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश बाल अधिकार समितिकी सदस्य सचिव सम्झना सुवेदीले सौहार्दपूर्ण वातावरणमा सर्वसम्मत रूपमा सञ्जाल गठन भएको भन्दै नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरिन् । उनले बालबालिकाको सर्वाङ्गीण विकासका लागि प्रदेश बाल अधिकार समितिले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै बालबालिकाको सवाल साझा सरोकारको विषय भएकाले सबै पक्ष एकजुट भएर काम गर्नुपर्नेमा जोड दिइन् ।
उनले सामाजिक विकास मन्त्रालय बालबालिकाको हकहितका विषयमा सधैं अग्रसर रहेको उल्लेख गर्दै बालमैत्री समाज निर्माणका लागि राज्य, समुदाय, अभिभावक र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताइन् ।
कार्यक्रममा बाल अधिकारका लागि नागरिक संस्थाहरूको सञ्जालका तर्फबाट बोल्दै बास नेपालका निर्देशक हेमराज भट्टले नव निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए । उनले भेलामा बालबालिकाका सवालमा गम्भीर र महत्वपूर्ण छलफल भएको उल्लेख गर्दै जारी गरिएको नेपालगञ्ज घोषणापत्र कार्यान्वयनमा सबै पक्षको साझा प्रतिबद्धता रहने विश्वास व्यक्त गरे ।
त्यसैगरी, नवनिर्वाचित अध्यक्ष महिमा खनालले आफूलाई सर्वसम्मत नेतृत्वको जिम्मेवारी प्रदान गरेकोमा सहभागी सबैप्रति आभार व्यक्त गरिन् । उनले बालबालिका तथा सरोकारवालाको अपेक्षा अनुरूप जिम्मेवार ढंगले काम गर्ने प्रतिबद्धता जनाउँदै आगामी दुई वर्ष सबैसँग सहकार्य गरेर बालमैत्री प्रदेश घोषणा अभियानलाई अघि बढाइने बताइन् ।
समापन कार्यक्रममा प्रदेश योजना आयोगकी सदस्य शान्ता भण्डारी, सामाजिक विकास डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख ऋषिराज शर्मा, सामाजिक विकास मन्त्रालयकी महिला विकास निरीक्षक कमला ज्ञवाली, पिस नेपालका अध्यक्ष मणि प्रसाद गैह्रे, नेपालगञ्ज उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख पवित्रा पुरी, बाल अधिकारका क्षेत्रमा क्रियाशील विभिन्न संस्थाका प्रतिनिधि, अभिभावक तथा पत्रकारहरूको सहभागिता रहेको थियो ।
सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना तथा सेभ द चिल्ड्रेन इन्टरनेशनल, पिस नेपाल र बाल अधिकारका लागि नागरिक संस्थाहरूको सञ्जाल लुम्बिनी प्रदेशको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो । जेठ ९ गतेदेखि सुरु भएको भेलाको उद्घाटन लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री एवं प्रदेश बाल अधिकार समिति अध्यक्ष जन्मजय तिमिल्सिनाले गरेका थिए । कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाका बालबालिका तथा अभिभावकहरूको सहभागिता रहेको थियो ।
१३ सदस्यीय प्रदेश बाल समूह सञ्जाल गठन
भेलाले रुपन्देहीकी महिमा खनाललाई सर्वसम्मत अध्यक्ष चयन गर्दै १३ सदस्यीय प्रदेश बाल समूह सञ्जाल गठन गरेको छ ।
सञ्जालको उपाध्यक्षमा रुकुमपूर्वका शक्ति विक, सचिवमा नवलपरासीका दीपेश न्यौपाने, सहसचिवमा अर्घाखाँचीका आशिष घिमिरे तथा कोषाध्यक्षमा चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा रोल्पाकी परिसा आचार्य, कपिलवस्तुकी नाइसा अधिकारी, दाङकी आयुषा चौधरी, बाँकेका अरमान शेष, बर्दियाका लिजन थारु, कपिलवस्तुकी रिन्क नटुवा, गुल्मीका प्रयास पाण्डे तथा पाल्पाकी अन्जु वयम्बु चयन भएका छन् ।
नवनिर्वाचित पदाधिकारीहरूलाई सदस्य सचिव सम्झना सुवेदी, योजना आयोग सदस्य शान्ता भण्डारी, सामाजिक विकास डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख ऋषिराज शर्मा, महिला विकास निरीक्षक कमला ज्ञवाली तथा पिस नेपालका अध्यक्ष मणि प्रसाद गैह्रेले अबिर, खादा र प्रमाणपत्र प्रदान गरेका थिए ।






