बकर ईदको अवसरमा बाँकेका चार स्थानीय तहमा आइतबार सार्वजनिक बिदा
बाँके,२५ जेष्ठ ।
मुस्लिम समुदायको महान पर्व इद-उल-अज्हा (बकर ईद) को अवसरमा बाँके जिल्लाका चार स्थानीय तहमा आज आइतबार सार्वजनिक बिदा दिइएको छ।
नेपालगञ्ज उपमहानगरपालिका, नरैनापुर गाउँपालिका, जानकी गाउँपालिका र खजुरा गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्। यी स्थानीय तहले छुट्टाछुट्टै सूचना प्रकाशित गर्दै पालिकाबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा आइतबार बन्द हुने जानकारी दिएका छन्।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाह, जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ र खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक ले सूचनामार्फत बिदा सम्बन्धी जानकारी सार्वजनिक गरेका हुन्।
बकर ईद तीन दिनसम्म मनाइने पर्व हो। यस वर्षको पहिलो दिन शनिबार परेको हुँदा दोस्रो दिन आइतबार सार्वजनिक बिदा दिइएको हो।
इद-उल-अज्हा मुस्लिम समुदायको दोस्रो ठूलो पर्व मानिन्छ, जुन रमजानको उपवास सम्पन्न भएपछि मनाइन्छ। यो पर्व बलिदान, परोपकार र सामाजिक एकताको सन्देश दिने पर्वका रूपमा चिनिन्छ। यस दिन मुस्लिम धर्मावलम्बीहरूले विशेष नमाज पढ्ने, जनावरको बलि दिने, गरीब र आवश्यकता परेकालाई दान दिने र शुभकामना साटासाट गर्ने परम्परा रहेको छ।
बाँके जिल्लामा मुस्लिम समुदायको बाक्लो उपस्थिति रहेको स्थानीय तहले सांस्कृतिक सद्भाव र धार्मिक विविधताको सम्मानस्वरूप सार्वजनिक बिदा दिएको जनाइएको छ।