कर्णालीमा अर्गानिक खेती प्रवर्द्धनका लागि पाँचदिने अन्तर्राष्ट्रिय तालिम सुरु

सुर्खेत,१८ साउन।
कर्णाली प्रदेशमा जैविक (अर्गानिक) कृषि प्रणालीको प्रवर्द्धन तथा प्रविधि हस्तान्तरणलाई लक्ष्य गरी पाँचदिने विशेष तालिम सुरु गरिएको छ। सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको तालिम काठमाण्डौस्थित रोयल थाई दूतावासको पहलमा खाद्य तथा कृषि संगठन (एफएओ) र कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको समन्वयमा सञ्चालन भएको हो।

साउन १८ गतेदेखि सुरु भएको तालिम साउन २२ गतेसम्म चल्नेछ। पहिलो दुई दिन मन्त्रालयका अधिकृत स्तरका कर्मचारीहरूका लागि र बाँकी तीन दिन किसानहरूका लागि तालिम सञ्चालन गरिने आयोजकले जनाएका छन्।

उद्घाटन समारोहमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव परशुराम रावतले थाई दूतावासको कर्णाली आगमनलाई गौरवको विषय भन्दै कर्णालीका लागि यस्तो तालिम अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गरे। उनले कर्णाली सरकारले जैविक खेती प्रवर्द्धनका लागि विशेष नीति, नियम र संरचना निर्माण गरिसकेको उल्लेख गर्दै थाइल्याण्डसँगको सहकार्यले दीगो कृषि प्रणाली विकासमा सहयोग पुग्ने बताए।

त्यस्तै, नेपालका लागि रोयल थाई राजदूत सुवापोङ सिरिसोर्नले दुई देशबीचको मैत्री सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले यो तालिम आयोजना गरिएको जानकारी गराए। उनले भने, “यो तालिम ज्ञान आदानप्रदान र प्रविधि हस्तान्तरणको माध्यमबाट नेपालको कृषि उत्पादनमा गुणात्मक सुधार ल्याउनेछ।”

थाइल्याण्डको कृषि तथा सहकारी मन्त्रालय, थाइल्याण्ड अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (TICA), र कृषि तथा वन विश्वविद्यालयका विज्ञहरूसहित ९ सदस्यीय प्रतिनिधिमण्डल तालिममा सहभागी छन्।

कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले कर्णालीको विशिष्ट भूगोल, जैविक विविधता र जलवायु अनुकूलता अर्गानिक कृषि प्रणालीको लागि अत्यन्त उपयुक्त रहेको बताउँदै यो तालिमले कर्णालीलाई ‘जैविक प्रदेश’ बनाउने सरकारको प्रतिबद्धतालाई थप बल दिने बताए।

उनले रैथाने बाली, जडिबुटी, र अर्गानिक खेतीबाट अन्तर्राष्ट्रिय बजारमा प्रमाणित उत्पादनको निर्यात सम्भावना औंल्याउँदै सरकार जैविक कृषि प्रवर्द्धनका लागि बहुपक्षीय सहकार्यमा अघि बढिरहेको स्पष्ट गरे।

तालिमको माध्यमबाट सरकारी कर्मचारी र किसानहरूको क्षमता अभिवृद्धि गर्दै दीगो कृषि प्रणालीको विकास र आत्मनिर्भर कृषि अर्थतन्त्र निर्माणतर्फ सकारात्मक कदम चालिएको आयोजकले विश्वास व्यक्त गरेका छन्।

 

 

कर्णालीमा अर्गानिक खेती प्रवर्द्धनका लागि पाँचदिने अन्तर्राष्ट्रिय तालिम सुरु

छायाँनाथ धामको तीर्थयात्रा सुरू

Leave a comment

Your email address will not be published. Required fields are marked *