दुनाटपरीबाट आत्मनिर्भरता: देवरीयाका महिलाको प्रेरणादायी यात्रा

१८, साउन २०८२
धनगढी उपमहानगरपालिका–७ देवरीयाका पाँच महिलाले दुनाटपरी बनाएर आत्मनिर्भर जीवनशैलीको उदाहरण प्रस्तुत गरेका छन्। स्थानीय सीता चौधरी, कमला चौधरी, भुलिया चौधरी, विनिता रेग्मी र सविता चौधरीले संयुक्त रूपमा ‘जाखौरबाबा महिला विकास दुनाटपरी उद्योग’ सञ्चालन गर्दै आएका छन्।
यी महिलाहरूले दुई वर्षअघि वडा कार्यालयबाट दुनाटपरी बनाउने तालिम लिएपछि व्यवसायमा हात हालेका थिए। तालिमपछि वडा र उपमहानगरपालिकाको सहयोगमा दुईवटा मेसिन पनि निशुल्क पाएका थिए, जसले उत्पादनलाई थप सहज बनाएको छ।
“पहिले घरको काममै सीमित थियौँ, तालिमपछि आम्दानी सुरु भयो,” उद्योग सञ्चालकमध्येकी सीता चौधरी भन्छिन्। हाल उनीहरूको समूहले दैनिक एक हजार दुना र ३०० जति टपरी उत्पादन गर्दै आएको छ। उत्पादनलाई साइजअनुसार मूल्य तोकिएको छ — सानो दुना ७० पैसा, एक नम्बर ८० पैसा, दुई नम्बर एक रुपैयाँ, तीन नम्बर डेढ रुपैयाँ र टपरी साढे तीन रुपैयाँमा बिक्री हुने गरेको छ।
महिलाहरूले कारोबारबाट मासिक झण्डै ३० हजार रुपैयाँ आम्दानी गर्दै आएका छन्। आम्दानीबाट समूहमा नियमित बचत हुने गरेको र अहिले एक सदस्यको नाममा ६० हजार रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको सञ्चालक कमला चौधरी बताउँछिन्। उनले भनिन्, “समूहमा जम्मा गरेको पैसाले गाह्रो बेलामा निकै सहयोग मिलेको छ।”
सुरुमा बजार विस्तारमा केही कठिनाइ भए पनि अहिले माग बढ्दै गएकाले व्यवसाय स्थिर बन्दै गएको समूहकी अर्की सदस्य सविता चौधरी बताउँछिन्।
उद्योगले महिलाहरूलाई आत्मनिर्भर बनाउनुका साथै समुदायमा स्वरोजगारको प्रेरणा पनि दिएको छ।






