रोजगारमैत्री नीति बनाउन कोहलपुर नगरपालिकाको पहल

बाँके,१९ जेष्ठ ।

स्थानीय स्तरमै रोजगारी सिर्जनाको दीर्घकालीन योजना बनाउने उद्देश्यसहित कोहलपुर नगरपालिकाले रोजगार रणनीति निर्माणको प्रक्रिया अघि बढाएको छ। पहिलो चरणमा नगरपालिकाले सोमबार स्थानीय उद्योगी व्यवसायीसँग व्यापक छलफल गर्दै रणनीतिका लागि सुझाव संकलन गरेको छ।

रोजगार सेवा केन्द्रका संयोजक आशिष वर्माले रणनीति निर्माण प्रारम्भ भएको जानकारी दिँदै स्थानीय सरकारसँगको सहकार्यबाट रोजगारी सिर्जना सम्भव हुने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार, स्थानीय बजार र जनशक्तिको यथार्थ मूल्याङ्कनसहित व्यावहारिक नीति निर्माण नगरपालिकाको प्राथमिकता हो।

उद्योगी व्यवसायीहरूले स्थानीय सरकारको यस प्रयासलाई स्वागत गर्दै नीतिगत स्थायित्व र सहजीकरण आवश्यक रहेको धारणा राखे। उनीहरूले संघीय सरकारबाटै नीतिगत स्पष्टता नआएसम्म दीर्घकालीन रोजगारी सिर्जना चुनौतीपूर्ण हुने जनाए।

उद्योग वाणिज्य संघ कोहलपुरका अध्यक्ष प्रदीप भट्टराईले “राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमै परिवर्तन ल्याउनुपर्ने” बताउँदै व्यवसायीको संरक्षणबिना रोजगारीको अपेक्षा राख्न नसकिने धारणा व्यक्त गर्नुभयो। उहाँले रोजगारी सिर्जनामा निजी क्षेत्रलाई सहयोग गर्दा मात्र अर्थतन्त्रमा चहलपहल आउने दाबी गर्नुभयो।

महासंघका पूर्व केन्द्रीय सदस्य चक्र अधिकारीले कोहलपुर वरपर रहेका साना–ठूला उद्योगहरूको संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले कृषिमा आधारित व्यवसायलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो।

संघका संस्थापक अध्यक्ष कर्ण थापाले “सीप आधारित तालिमबिना रोजगारी सिर्जना असम्भव” रहेको जनाउँदै प्रविधिमैत्री तालिममार्फत युवाहरुलाई आत्मनिर्भर बनाउनुपर्ने सुझाब दिनुभयो।

त्यस्तै, पूर्व अध्यक्ष चिन्तामणि धितालले रोजगारी सिर्जना गर्नको लागि स्थानीय, प्रदेश र संघीय सरकारबीचको नीति एकरुपता अत्यावश्यक रहेको जनाउनुभयो। उहाँले “कृषि, उद्योग, पर्यटन रोजगारीका मुख्य स्रोत हुन्, तिनीहरूको पहिचानसहित योजना आवश्यक छ” भन्नुभयो।

पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठले खुला सिमाना र नीतिगत कमजोरीका कारण स्थानीय उत्पादन र रोजगार दुवै मारमा परेको जनाउँदै “सरकारी नीति सुधार र उपभोक्ताको ईमानदारीले मात्र स्थानीय रोजगारी टेवा पाउँछ” भन्नुभयो।

पूर्व अध्यक्ष नरेन्द्र शर्माले रोजगारदाता र खोजकर्ताको सही मैचिङ गर्न तालिम प्रणाली परिमार्जन गर्नुपर्ने सुझाव दिनुभयो। निवर्तमान अध्यक्ष लक्ष्मण पौडेलले “रोजगार दिने कि सिर्जना गर्ने? नीति स्पष्ट हुनुपर्छ” भन्दै स्वरोजगारी बन्नेहरूलाई प्रोत्साहन र संरक्षण गरिनुपर्ने बताउनुभयो।

कार्यक्रममा उद्योग वाणिज्य संघका महासचिव राजकुमार पौडेल, जुत्ता चप्पल व्यवसायी संघ अध्यक्ष आकाश घिमिरे, कपडा व्यवसायी संघ अध्यक्ष राजिव शर्मा, यातायात व्यवसायी थम्मन रोकायलगायत सहभागी थिए। उनीहरूले रोजगारीका विविध आयाममा सुझाव प्रस्तुत गरेका थिए।

कार्यक्रम रोजगार सेवा केन्द्रका संयोजक आशिष वर्माको प्रस्तुति र श्रीवृद्धि सेवा प्रालिका प्रमुख सरोज चौधरीको कार्यपत्रमार्फत सम्पन्न भयो। कार्यक्रमको संयोजन महासचिव दीपक भण्डारीले तथा सभापतित्व विधायन समिति संयोजक सुनिता सुनारले गर्नुभएको थियो।

 

रोजगारमैत्री नीति बनाउन कोहलपुर नगरपालिकाको पहल

तिला गाउँपालिकाका वडाध्यक्षमाथि चक्कु प्रहार : एक

रोजगारमैत्री नीति बनाउन कोहलपुर नगरपालिकाको पहल

जुम्लाको विकासमा राजनीतिक दलको ध्यानाकर्षण

Leave a comment

Your email address will not be published. Required fields are marked *