खलंगामा चंगा महोत्सव


संस्कृति संरक्षण र संवर्द्धन समितिको आयोजनमा जुम्लामा तेस्रो चंगा महोत्सव गरिएको छ । तीन वर्षदेखि निरन्तर जुम्लामा चंगा महोत्सव हुँदै आएको छ । चंगा महोत्सवमा बालबालिकाहरुले भाग लिने गरेका छन् ।
चंगा उडाएर दसैं आएको अनुभूति गराउन हरेक वर्ष महोत्सव हुने गरेको समिति कार्यक्रम संयोजक महेन्द्र कार्कीले बताए । उनका अनुसार ६० जना बालबालिकाले चंगा महोत्सवमा भाग लिएका थिए । उनीहरुलाई चंगा दिइएको थियो ।
चंगा उडाउने तरिका, उडेको दूरी र उडाउन जान्ने÷नजान्ने सीप हेरेर मूल्यांकन गरिएको थियो । महोत्सवमा बालकतर्फ रिदम श्रेष्ठ प्रथम, अमान सिद्धिकी द्वितीय र विवेक देवकोटा तृतीय भए । यता बालिकातर्फ दिपेङका सिमखाडा हमाल प्रथम र शुभेच्छा बुढा द्वितीय भए । उनीहरुलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो । चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले चंगा महोत्सवको उद्घाटन गरेका थिए ।
उनले चंगा महोत्सवले बालबालिकालाई मनोरञ्जन प्रदान गर्नुका साथै दसैं आएको अनुभूती गराउने बताए । कर्णालीको प्रशिद्ध चन्दननाथ भैरवनाथ मन्दिरको छतदेखि चंगा उडाइएको थियो । सामान्यतया दसैं तिहारमा पिङ खेल्ने, चंगा उडाउने गरिन्छ । ‘घरमा एक्लै पिङ र चंगा त उडाइन्छ तर सामूहिक रुपमा चंगा उडाएर मनोरञ्जन प्रदान गर्न महोत्सव आयोजना भइरहेको छ,’ संयोजक कार्कीले भने ।’
आगामी दिनमा चंगा महोत्वसमा बालबालिकादेखि वृद्धवृद्धलाई सहभागी गराउने लक्ष्य रहेको समितिले जनाएको छ । बालबालिकाले एकै पटक धेरै चंगाहरु एकैसाथ उडाउँदा सदरमुकाम खलंगा चंगामय बनेको थियो । बालबालिकाले चंगा उडाएको हेर्नेहरु आश्चर्यमा परेका थिए । चंगा महोत्सवमा सहभागी भएर चंगा उडाउन पाउककदा बालबालिकाहरु उत्साहित थिए ।






