आकाशे पानीको भरमा किसान

जुम्ला,७ फागुन ।
गत असोजमा परेको अविरल वर्षासँगै आएको बाढीले कुलो बगाइदिएपछि चन्दननाथका किसान समस्यामा छन् । बाढीले चन्दननाथ–१ देखि ५ वडाका किसानहरूले प्रयोग गर्दै आएको माझकुलो र ठिन्केकुलो बगाएको थियो । पातारासीको कोटभीरदेखि झण्डै ५ किलोमिटर दूरी रहेको सिँचाइ कुलो बाढीपहिरोले बगाइदिएको हो ।
तर त्यसपछि कुलो मर्मत नहुँदा २ हजार ५ सय हेक्टर जमिन बाँझो हुने अवस्था आएको चन्दननाथ–२ का किसान दीपबहादुर मल्लले बताए । उनका अनुसार कुलो ढुंगा र माटोले पुरिएको छ । ‘सामान्य तरिकाले माटो पन्छाउँदा पानी ल्याउन सकिने अवस्था छैन, डोजर प्रयोग गरे मात्र कुलो बन्ने देखिन्छ,’ उनले भने, ‘हिउँदको सामान्य चिस्यानकै भरमा जौ छरिएको छ ।’
कुलो नबन्दा खेत बाँझो भएर खेती गर्न नसकिने अवस्था हुन सक्ने भन्दै किसानहरू चिन्तित छन् । किसानहरूका अनुसार जेठ महिनासम्म कुलोमा पानी बगाएर रोपाइँ चलाउनु पर्ने बाध्यता छ । सिँचाइ अभावकै कारण आचार्यबाडा, ठिन्के, देउतीमाडी, पाल्तीसरा र लयापानी जिउलोमा धान रोपाइँ गर्न कठिन देखिएको छ ।
चन्दननाथ–१ का हरिशरण आचार्यका अनुसार कुलोमाथि सडक र सडकभन्दा पनि माथि खानेपानीको पाइप जडान गरिएकोले ठिन्के कुलो र माझकुलो सधैं जोखिममा छन् । ‘गत असोजमा पहिरोले जुम्लामा सयौं कुलाहरू बगाएको थियो,’ उनले भने, ‘अब सिँचाइका लागि पक्की कुलो नै चाहिएको छ ।’
पहिरो प्रभावित क्षेत्रका किसानहरूले कुलो मर्मतको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा पटकपटक डेलिगेसनमा गइसकेका छन् । त्यसपछि स्थानीय प्रशासनले भौतिक, पूर्वाधार कार्यालय, सिँचाइ कार्यालय र चन्दननाथ नगरपालिकाका प्रतिनिधि राखेर छलफल पनि गरेको थियो ।
तर पनि किसानको माग पूरा हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले किसानको खेतमा पानी पुर्याउन पहल भइरहेको बताए । ‘यो वर्षको खेतीका लागि मर्मतको पहल भइरहेको छ, आगामी आर्थिक वर्षको बजेटमा यो कुलो समावेश गरेर दीर्घकालीन समाधान खोज्ने तयारी पनि भइरहेको छ,’ उनले भने, ‘पुस १४ गतेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर ६० लाख रुपैयाँ आवश्यक पर्ने निर्णय गरेको थियो ।’
कान्तिपुर





