‘दशौं राष्ट्रिय खेलकुद कर्णालीको गौरव’

सुर्खेत,६फागुन ।
नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्काले कर्णालीमा हुन लागेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीका लागि अवसर र गौरवको विषय भएको बताएका छन् ।
शनिबार वीरेन्द्रनगरमा निर्माणाधीन प्रादेशिक रङ्गशालाको अनुगमन गर्दै नेता खड्काले सबै मिलेर खेलकुदलाई सफल वार्न काम गर्नुपर्ने पनि बताए । उनले खेलकुद प्रतियोगिता सञ्चालनका लागि रङ्गशाला निर्माणमा कुनै कसर बाँकी नराख्न आग्रह गर्दै केन्द्र सरकारले खेलकुदका क्षेत्रमा दिँदै आएको बजेट अनुदान बढाउन कुनै कसर बाँकी नराख्ने बताए ।
‘‘प्रदेशस्तरबाट गर्न सकिने कामलाई तपाईहरु गर्नुस, दशौं राष्ट्रिय खेलकुदलाई केन्द्रमा राखेर विगतका राष्ट्रिय खेलकुद सञ्चालनमा सङ्घ सरकारले दिने आर्थिक तथा भौतिक के दिने गरेको छ, त्यसको आँकलन गरेर प्रदेश खेलकुद परिषद्ले प्रदेश सरकारमार्फत सङ्घमा प्रस्ताव पठाउनुहोस् ।’’
नेता खड्काले भने ‘हामी कर्णालीबाट सङ्घमा प्रतिनिधित्व गर्ने जति पनि सदस्य छौं हामी सामूहिक पहल गछौं ।’ साथै प्रदेश सरकारले गौरवको आयोजनाका रुपमा रंगशाला निर्माणमा देखाएको तदारुकता प्रशंसायोग्य रहेको नेता खड्काको भनाइ छ ।
प्रादेशिक रङ्गशालाको २०७८ साल मङ्सिर २० गतेबाट निर्माण कार्य सुरु गरिएको थियो । उक्त परियोजना २०८१ साल जेठ १४ गते हस्तान्तरण गर्ने गरी काम भइरहेको छ । त्यसका लागि प्रदेश सरकारले एक अर्ब ५९ करोड बजेट छुट्यााइएको छ । हाल निर्माण कम्पनीले प्रदेश सरकारको एक अर्ब ५९ करोड बजेटमा निर्माणकार्य गर्दै आएको छ । एमयसी जेएस निर्माण कम्पनीले रङ्गशालाको ठेक्का लिएको हो । अहिलेसम्मको कार्य प्रगति ३५ प्रतिशत भएको छ भने ३० प्रतिशत वित्तीय प्रगति भएको छ ।
हालसम्म फुटबल मैदान, एथलेटिक्सको वेस तयार, भिआईपी प्यारापिट, पौडी पोखरीको सिभिल स्टकचर, मल्टीप्रपोच कर्भडहलको ढलान, सिभिल स्टक्चरको काम ८० प्रतिशत सम्पन्न भएको कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्जालले जानकारी दिए ।
उनले भने , ‘‘लक्ष्य अनुसार राम्रै प्रगति पनि भइरहेको छ । तर यो प्रोजेक्टको निर्माणकार्य ढिलो सके जरिवाना र छिटो सके बोनस दिने गरेर सम्झौता भएको हुँदा समय अवधिभन्दा अगाडि सक्ने गरेर निर्माण कम्पनी अगाडि बढेको छ ।’’ उक्त योजना वि.सं. २०८१ साल जेठ १४ गते हस्तान्तरण गर्ने गरी काम भइरहेको छ ।
गाेरखापत्र





