अनुदानमा किविका विरुवा वितरण

रुकुम पश्चिम,४ फागुन ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले २० हजार गोल्डेन र हेवाड जातका किविका विरुवा खरिद गरेको छ । नगरभित्रका कृषकलाई ५० प्रतिशत सहुलियतमा किविका विरुवा वितरण गर्नको लागी उक्त विरुवा खरिद गरेको हो । व्यावसायिक किवि खेतिलाई प्रोत्साहन गर्नका लागि नगरभित्रका कृषकहरुलाई ५० प्रतिशत सहुलियतमा किविका विरुवा वितरण गरिने नगरपालिकाले जनाएको छ ।
उत्पादन नै समृद्धिको आधार हो भन्ने नारासहित ५० प्रतिशत नगरको लगानीमा कृषकलाई कुल २० हजार किविका विरुण वितरण गर्न थालिएको बताउँदै नगरप्रमुख रवि केसीले बाँकी ५० प्रतिशत लगानी भने कृषकले गर्नुपर्ने जानकारी दिए ।
व्यावसायिक कृषि गर्न चाहने कृषकलाई मध्यनगर गर्दै र आठबिसकोटलाई किवि खेतिमा आत्मनिर्भर बनाउने उद्देश्यले विरुवा वितरण गर्न लागिएको भन्दै उनले कृषि प्राविधिकहरुको सहयोगमा मात्रै किवि लगाउन समेत कृषकहरुलाई सुझाव दिए । स्थानीय सरकारले किवी खेतिलाई जोड दिएपछि नगरपालिकामा किवी खेति गर्ने किसानको संख्या बढेको छ ।
अघिल्ला वर्षहरुमा पनि नगरपालिकाले किसानलाई अनुदानमा ठूलो मात्रामा किवीको विरुवा वितरण गरेको थियो भने किसान आफैँले किनेर पनि विरुवा लगाएका थिए । नगरपालिकामा कृषकहरुले गत वर्ष मात्र २१ सय वटा किविका विरुवा रोपेका थिए ।यो वर्ष नगरभर करिब १७ सय किविका बोटले उत्पादन दिएको समेत नगरपालिकाको अनुमान रहेको छ ।






