गणतन्त्र दिवसमा कर्णालीभर तीन दिनसम्म दिप प्रज्वलन गरिने

सुर्खेत । गणतन्त्र दिवसका अवसर कर्णाली प्रदेश भर दिप प्रज्वलन गरिने भएको छ ।
जेठ १४, १५ र १६ गते कर्णाली स्थित सार्वजनिक निकायका कार्यालयमा दिप प्रज्वलन गर्न निर्देशन समेत दिइएको छ । यसका साथै कर्णाली प्रदेशवासी नागरिक सबैले घर–घरमा गणतन्त्र दिवसका अवसरमा दिपप्रज्वलन गर्न ‘गणतन्त्र दिवस–२०७९ समारोह समिति’ले आग्रह समेत गरेको छ ।
प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा गठित ‘गणतन्त्र दिवस–२०७९ समारोह समिति’ समितिमा प्रदेशका मन्त्री, प्रमुख सचिव, प्रदेश लोकसेवा आयोगका अध्यक्ष, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख, उपरथी पश्चिम कमाण्ड हेडक्वाटर, प्रदेश सचिव, सुर्खेतका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी बल ६ नं. महेश्वरी बाहिनी मुख्यालय, बरिष्ठ प्रहरी उपरिक्षक प्रदेश प्रहरी कार्यालय, अनुसन्धान निर्देशक र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सदस्य रहेका छन् भने प्रदेश सचिव प्रेमप्रसाद आचार्यलाई सदस्य सचिवको रुपमा राखिएको छ ।
जेठ १४ गते प्रदेशका सबै सरकारी कार्यालयले राष्ट्रिय झण्डा फहराउने एवंम् व्यानर सजाई आ–आफ्नो कार्यालयमा सरसफाई गर्ने, सोही दिन जिल्ला प्रशासन कार्यालय सुर्खेतले समन्वय गरी सुरक्षा निकाय, खेलाडी, राजनीतिक दलका प्रतिनिधि, सुर्खेत उद्योग वाणिज्य संघ लगायतका संघसंस्थाको सहभागितामा सार्वजनिक स्थल र बजार तथा चोकहरुमा सरसफाई गर्ने कार्यतालिका तय भएको छ ।
यसैगरी, दिवसका दिन अर्थात जेठ १५ गते वीरेन्द्रनगरबाट प्रकाशित पत्रिकामा प्रदेश प्रमुख र मुख्यमन्त्रीको शुभकामना सन्देश प्रकाशन गर्ने, सोही दिन विहान ७ बजे मंगलगढी चोकदेखि प्रभातफेरी शुरु गरी वीरेन्द्रचौक हुँदै पिपलचौताराबाट सिटी हलमा प्रवेश गरी समारोहमा परिणत हुने कार्यक्रम समेत रहेको छ ।






