सामाजिक विभेद न्यूनिकरणका लागि आमा समूह र किशोरी क्लव सक्रिय

सुर्खेत, १० चैत्र ।
सामाजिक चेतानाको स्तर र अन्धविश्वासका कारण कर्णालीमा विभेदहरु कायमै छन् । अहिले पनि समाजमा जातिय छुवाछुत, छोरा र छोरीप्रतिको विभेद र सामाजिक कुरितीका थुप्रै समस्याहरु छन् ।
कथित माथिल्लो र तल्लो जातबीच हुने विभेद हटेको छैन । दलितले छोएको पानी नचल्ने अन्धविश्वास कायमै छ । आज अन्तरजातिय विहे गरेका थुप्रै जोडी समाज र परिवाटै विस्थापित हुन बाध्य छन् । दलितहरु घरभित्र पसेको र धारामा पानी छोएको निहुँमा दुव्र्यवहार भोग्न बाध्य छन् ।
जातिय विभेदजस्तै छोरा र छोरीबीचमा पनि ठूलो विभेद छ । आज पनि सयौं छोरीहरुले छोरासरह शिक्षा र सम्मान पाउन सकेका छैनन् । देउता रिसाउने अन्धविश्वासले महिनावारी हुँदा पनि महिलाहरु गोठमै रात कटाउँछन् ।
कर्णालीमा व्याप्त यस्तै सामाजिक विभेदविरुद्ध कर्णाली प्रदेश सरकारले अभियान सञ्चालन गरेको छ । प्रदेश सरकारले स्थानीय तह, गैरसरकारी संस्था र समुदायमा आधारित संस्थाहरूसँगको सहकार्य गरेर विभेदविरुद्धको अभियान सुरु गरेको हो ।
अभियानमा जनप्रतिनिधि, आमा समूहदेखि किशोरी क्लवहरु जोडिएका छन् । उनीहरुले बहुविवाह, जातिय छुवाछुत तथा भेदभाव, अन्धविश्वास र छुईप्रथा (छाउपडी) जस्ता कुप्रथाविरुद्ध जनचेतनामूलक अभियान चलाइको छ ।
प्रदेशका दश वटै जिल्लाबाट विभेदविरुद्धको अभियान सञ्चालन भइरहेको सामाजिक विकास मन्त्रालयका सामाजिक सुरक्षा तथा महिला विकास शाखाका प्रमुख अनिता ज्ञवालीले जानकारी दिइन् ।
अभियानको नेतृत्व दलित अगुवा, आमा समूह र किशोर क्लवहरुले गरेका छन् । उनीहरुले विभेदको प्रकृति हेरेर समुदायमै पुगेर सडक नाटक, सफलता कथा, र कानूनी जनचेतना फैलाउने गरेका छन् ।
जनप्रतिनिधि, सुरक्षाकर्मी, विभिन्न सामाजिक संघसंस्था र राजनीतिक दलका नेतृत्वले उनीहरुलाई सघाउन थालेका छन् । सामाजिक विभेदविरुद्ध अग्रसर भएका अगुवालाई स्थानीय तह, टोल विकास संस्था, सहकारी तथा गैरसहकारी निकायले सम्मान र पुरस्कृत गर्दै आएका छन् ।
जता जमघट, उतै अभियान
सामाजिक विभेद हटाउन हुम्लामा चाडपर्वमा जागरण अभियान सञ्चालन गरिएको छ । धेरै नागरिक भेला हुने मेलामहोत्वस, विभिन्न चाडपर्वमा विभेदविरुद्धको अभियान सुरु गरिएको सामाजिक विकास कार्यालय हुम्लामा प्रमुख हर्कबहादुर बस्नेतले जानकारी दिए ।
‘जहाँ धेरै नागरिक जम्मा हुन्छन्, त्यहीँ पुगेर सामाजिक विभेदविरुद्धको अभियान चलाइरहेका छौँ’ बस्नेतले भने, ‘विशेषगरी चाडपर्व र महोत्सवमा यस्ता अभियान चलाउँछौँ ।’ अभियानमा आमा समूह र किशोरी क्लवका सदस्यहरुलाई जोडिएका छन् ।
उनीहरुले जातिय छुवाछुत, छोराछोरीप्रतिको विभेदविरुद्धमा सडक नाटक, देउडा प्रतियोगिता, निवन्ध प्रतियोगिताहरु गर्दै आएका छन् । चैतेलो पर्व र नारी दिवश जस्ता दिनहरुमा पनि विभेदविरुद्धका गतिविधिहरु गर्दै आइएको छ । विभेदविरुद्धको अभियानमा जिल्लामा सक्रिय सामाजिक संघसंस्थाहरुले साथ दिएका छन् ।
कानुन पढाउँदै प्रहरी
मुगुमा सामाजिक विभेद न्यूनिकरणका लागि जनप्रतिनिधिदेखि प्रहरी प्रशासनले हातेमालो गरेका छन् । त्यहाँ विभेद गर्दा हुने कानूनी सजायबारे जनचेतना फैलाउने जिम्मा प्रहरीले पाएको छ ।
सामाजिक विकास कार्यालय मुगुमा प्रमुख टोपबहादुर बुढाका अनुसार प्रहरीले क्याम्पस तथा विद्यालयमा पुगेर विभेद गर्दा हुने कानूनी दण्ड तथा सजायको विषयमा विद्यार्थीहरुलाई पढाउने छन् ।
केही दिनअघि जिल्ला समन्वय समितिका (जिसस) प्रमुख पूर्णबहादुर रोकायाको अध्यक्षतामा बसेको बैठकले सबै विभेदविरुद्धको अभियानमामा सबै निकायलाईको जिम्मेवारी बाँडफाँड गरेको छ । जसअनुसार जिसस प्रमुखले विभेदविरुद्धको अभियानको समन्वय गर्ने, जनप्रतिनिधिले विभेद हुने स्थानको पहिचान गरेर अभियानहरु चलाउने, दल नेताहरुले अभियानमालाई सहयोग गर्ने र प्रमुख जिल्ला अधिकारीले त्यसको अनुगमन गर्नेछन् ।
त्यहाँ पनि आमा समूह, किशोरी क्लव, जनप्रतिनिधि र दलित अगुवाहरुलाई विभेदविरुद्धको अभियानमा जोडिएको छ । उनीहरुले छाउपडी, जातिय विभेद, बालविवाह, महिला हिंसा र छोराछोरी बिरुद्ध हुने विभेदका बिरुद्ध कार्यक्रमहरु गर्ने गरिरहेका छन् ।
संविधानको धारा २४ ले जातीय विभेद र छुवाछू विरुद्वको अधिकार स्थापित गरेको छ भने धारा ४० ले दलित समुदायको सशक्तिकरणका लागि विभिन्न अधिकारको व्यवस्था गरेको छ । जातीय विभेद गर्नेलाई फौजदारी अभियोगमा मुद्दा चल्छ ।






