एकीन भयो काँक्रेविहारको क्षेत्रफल, फेरी नापजाँच गर्दा क्षेत्रफल बढ्यो

सुर्खेत, ५ चैत ।
सुर्खेतको प्रमुख पर्यटकीय स्थल काँक्रेविहारको क्षेत्रफल एकीन भएको छ । केही दिनअघि प्राविधिक टोलीले नापजाँच गरेर काँक्रेविहार संरक्षित क्षेत्रको क्षेत्रफल एकीन गरेको हो ।
पुनः नापजाँच भएपछि काँक्रेविहारको क्षेत्रफल एकसय ७७ दशमलव ७७ हेक्टर कायम भएको नापी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र थापाले बताए ।
यसअघि काँक्रेविहारको क्षेत्रफलको बारेमा अन्यौल थियो । नापी कार्यालय सुर्खेतको नक्साकंनमा काँक्रेविहारको क्षेत्रफल एकसय ६७ हेक्टर र राजपत्रमा एकसय ७५ दशमलव पाँच हेक्टर थियो ।
पुनः गरिएको नापचाँजले काँक्रेविहारको क्षेत्रफल एकीन भएको प्राविधिक टोलीले जनाएको छ । पुनः नक्साङ्कनले पहिलेको तुलनामा काँक्रेविहारको क्षेत्रफल केही बढेको देखाएको हो ।
‘समग्रमा काँक्रेविहारको क्षेत्रफल पहिलेको तुलनामा केही बढेको छ’ डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख मुनबहादुर रावतले भने, ‘केही स्थानमा काँक्रेविहारको क्षेत्रफल अतिक्रमण भएको रहेछ ।’
काँक्रेविहारको क्षेत्रफल अतिक्रम गरेर एक स्थानीयले घर नै निर्माण गरेको भेटिएको प्राविधिक टोलीले जनाएको छ । ‘काँक्रेविहारकै क्षेत्रमा एक स्थानीयले घरसमेत बनाएका रहेछन्’ अध्ययनमा संलग्न एक प्राविधिक कर्मचारीले भने, ‘पुनः नक्साङ्कनले अतिक्रमित क्षेत्रको पहिचान गरेको छ ।’
यसअघि काँक्रेविहार क्षेत्रको जग्गा अतिक्रमणमा परेको हुनसक्ने आशंकामा स्थानीयले बारम्बार आवाज उठाएका थिए भने गएको असोजमा ‘कम्पाउण्ड वाल’ (पर्खाल) लगाउने विषयमा विवाद् भएपछि अदालतमा रिट नै परेको थियो ।
उच्च अदालत सुर्खेतले अल्पकालीन सुनुवाई गर्दै काँक्रेविहारको पर्खाल निर्माणको काम रोक्न अन्तरिम आदेश दिएको थियो । सरकारी तथ्याङ्कमै काँक्रेविहार क्षेत्रफल फरक–फरक भएका कारण डिभिजन वन कार्यालयलाई क्षेत्रफल एकीन गर्न भनिएको थियो ।
अदालतको आदेशपछि पर्खाल निर्माण रोकेर डिभिजन वन कार्यालय सुर्खेतले काँक्रेविहारको पुनः नक्साङ्कन गरेको हो । झण्डै डेढ महिना लगाएर प्राविधिक टोलीले काँक्रेविहारको क्षेत्रफल एकीन गरेको हो ।
नापी कार्यालयले २०२९ सालमा गरेको नक्साकंनलाई आधार मानेर काँक्रेविहारको क्षेत्रफल एकसय ६७ हेक्टर कायम गरेको थियो भने वन विभागले जीपीएस प्रविधिबाट गरेको नक्साकंनलाई आधार मानेर राजपत्रमा काँक्रेविहार क्षेत्रको क्षेत्रफल एकसय ७५.५ हेक्टर कायम गरिएको थियो ।
सरकारी तथ्याकंमै फरक–फरक क्षेत्रफल कायम हुँदा कसलाई आधिकारिक मान्ने भन्नेमा पनि अन्यौलता थियो । झण्डै ४९ बर्षपछि काँक्रेविहार क्षेत्रको पुनः नापजाँच गरिएको हो ।
अदालतमा बुझाइयो प्रतिवेदन
काँक्रेविहार क्षेत्रको पुनः नक्साङ्कनको प्रतिवेदन उच्च अदालत सुर्खेतमा बुझाइएको छ । काँक्रेविहारको पुनः नक्साङ्कनका गर्न गठित पाँच सदस्यीय प्राविधिक समितिले प्रतिवेदन अदालतमा बुझाएको हो ।
जंगलको क्षेत्रफल नै छोडेर पर्खाल लगाउन थालिएको भन्दै अदालतमा रिट परेको थियो । गएको असोज १९ गते अदालतले पर्खाल निर्माणको काम रोक्न आदेश दिएको थियो । यही प्रतिवेदनको आधारमा अदालतले रिटमा सुनुवाइ गर्नेछ ।
प्रतिवेदनमा अतिक्रमण भए/नभए, नयाँ नाप नक्साङ्कन लगायतका विषयहरु समेटिएका छन् । समितिमा डिभिजन वन कार्यालय सुर्खेत, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय र वीरेन्द्रनगर नगरपालिका प्राविधिकहरु थिए ।
अदालतले रिटमा सुनुवाइका आधारमा कम्पाउन्डिङ कसरी गर्ने भनेर एकीन हुनेछ । काँक्रेविहारको जग्गा अतिक्रमण रोक्न र यसको संरक्षणका लागि कम्पाउन्डिङ थालिएको थियो । सडक निर्माण तथा कम्पाउन्डिङ्का लागि डिभिजन वन कार्यालय ५० लाख र वीरेन्द्रनगर नगरपालिकाले तीन करोड बजेट छुट्याएका छन् ।








