माथिल्लो कर्णाली आयोजना डुबान क्षेत्रका रूख काट्न थालियो

दैलेख, ५ चैत्र ।
माथिल्लो कर्णाली जलविद्युत् आयोजनाले बाँध निर्माण गर्दा डुबानमा पर्ने जंगलको कटान सुरु गरेको छ । आयोजनाले दैलेख र अछामका ५ वटा सामुदायिक वनका करिब १० हजार रूख कटान गर्न थालेको हो ।

जसका लागि दुवै जिल्लाका वन डिभिजन कार्यालयहरूले छपान तथा कटान स्वीकृति दिइसकेका छन् । डुबान प्रभावित क्षेत्र अछामको तुर्माखाँद गाउँपालिका–३ स्थित थालपाटा सामुदायिक वनमा २ हजार ७ सय ५ रूख कटान सुरु गरिएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार असाराघाट सामुदायिक वनका ६४ रूख २ वर्षअघि नै कटान गरिएको थियो ।

सल्लेरी सामुदायिक वनका ७ हजार २ सय ५२ रूख कटानका लागि टाँचा छपान सुरु गरिसकिएको आयोजनाका वन परामर्शदाता भुवनराज ओझाले बताए । उनका अनुसार रूख कटान गर्दा आइपर्ने खर्च स्थानीय सामुदायिक वनलाई प्रतिक्युविक फिट २ सय १० रुपैयाँका दरले भुक्तानी गरिएको छ ।

त्यसपछि सामुदायिक वनले कार्यविधिअनुसार उपभोक्तालाई बेच्ने वा लिलाम गर्ने भन्नेबारे निर्णय गर्ने डिभिजन वन कार्यालय दैलेखका प्रमुख टेकबहादुर रावलले बताए । आयोजनाको तुइनकुनामा निर्माण हुने २३ मिटर उचाइको बाँधले ८ किलोमिटर लम्बाइको तलाउ निर्माण हुनेछ ।

उक्त तलाउले दैलेखको आठबीस नगरपालिका र अछामको तुर्माखाँद गाउँपालिकाका ५ वटा सामुदायिक वनका साल, सल्ला, साज, खयरलगायतका १० हजार रूख डुबानमा पार्ने आयोजनाका वन परामर्शदाता ओझाले बताए ।

आयोजनाले डुबान क्षेत्रका रूख कटान थालेपछि आयोजना निर्माणमा आशा पलाएको आठबीस नगरपालिका प्रमुख खडगराज उपाध्यायले सुनाए । निर्माणको जिम्मा लिएको जीएमआरले लगानीको स्रोत जुटाउन नसक्दा माथिल्लो कर्णाली आयोजनाको निर्माण १३ वर्षदेखि अघि बढ्न सकेको छैन ।

सरकारले जीएमआरलाई सन् २००८ मा आयोजना निर्माणको जिम्मा दिएको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा सरकारले जीएमआरलाई आयोजनाको जिम्मा दिएको थियो । तर जग्गा मुआब्जा विवाद, अधिग्रहण, पुनर्वास र वनसम्बन्धी विषय सुल्झन नसक्नु मुख्य कारण रहेको जीएमआरले बताउँदै आएको छ । यद्यपि, उसले अहिले आयोजनामा काम भने गरिरहेको छ ।

माथिल्लो कर्णाली आयोजना डुबान क्षेत्रका रूख काट्न थालियो

सुर्खेतमा टिप्परमा माेटरसाइकल ठाेक्किँदा एकको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *