भूकम्पपीडित टनेलभित्र

डोटी,२ मंसिर ।

खेतमा बेमौसमी तरकारी लगाउन प्रयोग गरिने प्लास्टिक टनेल टाँगिएको छ । अन्यत्र यस्ता टनेलभित्र लटरम्म गोलभेंडा फलेका भेटिन्छन् । थलारा गाउँपालिका–८ बिस्खेत गाउँको हलिया बस्ती नजिकको यो टनेलभित्र भने महिला, बालबालिका र वृद्धवृद्धा अटेस–मटेस गरेर बसिरहेका छन्  ।

जाडोले दम बढेर वृद्धवृद्धा खोकिरहेका थिए । बालबालिकाका अनुहार निन्याउरा देखिन्थे । रातभर टनेलबाट चुहिएको पानीले भिजेका ओढ्ने–ओछ्याउने कपडा खेतका आलीमा असरल्ल सुकाउन राखिएका थिए । सुत्केरी, वृद्धवृद्धा र बालबालिका रातभरको जाडो फाल्न पारिलो घाममा सुस्ताइरहेका देखिन्थे । ‘

जाडो पनि उस्तै छ, रातभरि टनेलबाट शीत चुहिएर सुत्न सकिँदैन,’ ६८ वर्षीया चाखुडी दमाईंले भनिन्, ‘नौ दिनदेखि रातभरि जागा बस्ने, दिनभरि सुत्ने गरेका छौं ।’ उनले भूकम्पले घरहरू बस्नै नमिल्ने गरी चर्किएपछि यहाँ बस्नुपरेको बताइन्  । स्थानीय गैरदलितको नाममा भएको जग्गामा घर बनाएर बसेका चाखुडीजस्तै १८ परिवार भूमिहीन दलितहरू अहिले स्थानीय गैरदलितको एउटा खेत भाडामा लिएर एउटै प्लास्टिक टनेलभित्र रात काटिरहेका छन् ।

उनीहरू सबै हलिया परिवारका हुन् । कात्तिक २२ को भूकम्प र त्यसपछि पटक–पटक गएका परकम्पका कारण उनीहरूका घर चर्केर छियाछिया भएका छन्  । प्लास्टिकको टनेलबाट शीत चुहिने र ओढ्ने–ओछ्याउने लुगा गतिलो नभएका कारण यहाँ बस्न सकस भएको उनीहरू बताउँछन्  ।

‘चिसोले बच्चा रातभरि रुन्छन्,’ स्थानीय पारु दमाईंले भनिन्, ‘घर भूकम्पले छियाछिया बनाएको छ, मान्छे हिँड्दा पनि भत्किन्छ कि भन्ने डर लाग्छ । यहाँ बस्दा बालबच्चा जोगाउन गाह्रो भयो । यत्रो हिउँद कसरी काट्ने हो ?’ एउटै टनेलभित्र ७५ जना बसेका छन्, जसमा धेरैजसो बालबालिका छन् । पारु आफैं पनि तीनमहिने छोरीकी आमा हुन । कात्तिक २२ देखि बाहिरै बसिरहेको भए पनि कहीं, कतैबाट राहत र सहयोग नपाएको पीडितको गुनासो छ ।

अहिलेसम्म कतैबाट राहत सहयोग केही पाएका छैनौं, शीत नचुहिने कपडाको पाल र ओढ्ने–ओछ्याउने गतिलो लुगा भइदिए पनि रात काट्न सजिलो हुने थियो,’ लालमती दमाईंले भनिन्, ‘वडाध्यक्ष आएर राहतको कुरा हुँदै छ भन्नुभएको छ तर अहिलेसम्म केही पनि पाएका छैनौं ।’ घर चर्किएपछि विस्थापित भएका सबै १८ परिवार हलिया हुन्  ।

उनीहरू सबैका घरका झ्याल, ढोका, भित्तालगायत विभिन्न ठाउँमा चर्किएर बस्न नमिल्ने भएको हो । उसै पनि पहिरोको जोखिममा रहेको यो हलिया बस्ती भूकम्पले क्षतिग्रस्त बनेपछि अब कहाँ गएर ओत लाग्ने भन्ने चिन्ताले उनीलाई सताउन थालेको छ ।

 बर्खा सकियो पहिरोबाट बच्यौं भनेर राहतको सास फेर्दै थियौं, भूकम्पले घर चर्काइदियो,’ स्थानीय पदम दमाईंले भने, ‘हामीसँग पाल हालेर बस्नलाई पनि आफ्नो जग्गा छैन । अब यत्रा परिवार कहाँ गएर बस्ने होला ? केही सोच्नै सकेका छैनौं ।’ पाल हाल्ने ठाउँ नपाएका कारण सबै परिवार एकै पालमुनि बसेर रात काट्ने गरेको र बस्तुभाउलाई जोखिमपूर्ण तरिकाले घरमै बाँध्ने गरेको उनले बताए । ‘हामीले त टाउको लुकाएका छौं, गाईबस्तु कति बेला च्यापिएर मर्ने हुन्, थाहा छैन,’ उनले भने ।

थलारा गाउँपालिकाभरिमा ४५ घर पूर्ण रूपमा भत्किएको ७३ वटा घर बस्न नमिल्ने गरी चर्किएको र ३ सय ५३ वटा घर चर्किएर जोखिम भएको जानकारी दिँदै राहत र पुनःस्थापनाका लागि गाउँपालिकाले काम गरिरहेको थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले बताए । हलिया बस्ती पहिरोको जोखिमका कारण यसै पनि स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेको र भूकम्पले क्षति पु¥याएपछि झन् समस्या भएको उनको भनाइ छ । ‘

उहाँहरूलाई तत्कालका लागि त्रिपाल र कपडा उपलब्ध गराउँदै छौं तर तुरुन्तै कुनै ठाउँमा व्यवस्थित तरिकाले बस्ती नै बनाएर सार्नुपर्नेछ,’ उनले भने, ‘त्यसका लागि ठाउँको खोजी गर्ने र स्रोत जुटाउने पहल गर्दै छौं ।’ उनले पालिकामा अन्य केही बस्ती पनि जोखिममा परेकाले एकीकृत बस्ती विकास गरेर जोखिममा रहेका परिवारलाई सारिने बताए ।

कात्तिक २२ को भूकम्पमा धनजनको क्षति बेहोरेका डोटीको पूर्वीचौकी गाउँपालिकाका पीडित पनि खुला आकाशमुनि बसिरहेका छन् । उनीहरूले अझैसम्म राहतसमेत पाउन नसकेको गुनासो गरेका छन्  । त्रिपाल, टेन्ट, लत्ताकपडा तथा औषधिजन्य सामग्री अभाव रहेको पूर्वीचौकी–३ गैरागाउँका हर्क बोहराले बताए ।

उक्त भूकम्पले जिल्लाका १ हजार ४ सय १२ घरमा पूर्ण तथा ३ हजार ८ सय २ घरमा आंशिक क्षति पुगेको नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम समितिका महासचिव देव बोहराले बताए । घरमा क्षति भएर विस्थापित भएकाहरू कठ्यांग्रिँदो चिसोमा खुला आकाशमुनि रात बिताउन बाध्य छन् । त्रिपालमुनि चिसो रात काट्न सुत्केरी महिला, बालबालिका र वृद्धवृद्धालाई समस्या भएको पूर्वीचौकी–४ की सरस्वती खड्काले बताइन्  ।

परकम्पका कारण चर्केका घरमा बस्न स्थानीय डराइरहेका छन्  । उनीहरू घरका अन्नपात, लुगाकपडा तथा अत्यावश्यक सामग्रीहरू बाहिर झिकेर बसेका छन्  । भूकम्पले पूर्वीचौकीका कतिपय विद्यालयमा समेत क्षति पारेको भन्दै अनिश्चितकालका लागि बन्द गरेको छ । पूर्वीचौकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायले पीडितले राहत सामग्री अझै पाउन नसकेकामा दुःख व्यक्त गरे ।

कर्मचारी नभएर आर्थिक कारोबार बन्द भएकाले पालिकाबाट सहयोग गर्न नसकिएको उनले बताए । पालिकाले जिल्ला विपद् व्यवस्थापन समितिलगायत अन्य सहयोगी निकायलाई गुहारिरहेको अध्यक्ष उपाध्यायले बताए । भूकम्पले क्षति पुगेका घरका बासिन्दा भित्र पस्न डराइरहेका छन् । आंशिक क्षति भएका घरमा बेलाबेला पस्ने गरे पनि ढुक्क भएर बस्न नसकिएको स्थानीय बताउँछन्  ।

कात्तिक २२ मा खप्तड केन्द्रबिन्दु भएर गएको ६.६ म्याग्निच्युडको भूकम्पले डोटीमा ६ जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए । सुदूरपश्चिमका पहाडी जिल्लामा घरहरू चर्किएका थिए । त्यसयता लगातारजसो परकम्प गइरहेकाले चर्किएका घरभित्र बस्न सकिरहेका छैनन्

कन्तिपुर

भूकम्पपीडित टनेलभित्र

मौन अवधि– चुनाव प्रचारका पोस्ट लाइक, कमेन्ट

Leave a comment

Your email address will not be published. Required fields are marked *