भेरी नदीमा बेपत्ता बालबालिकाको शब भेटियो

सुर्खेत, ४ चैत्र ।
गत फागुन २८ गते (शनिबार) देखि सुर्खेतको भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीनै जना बालबालिकाको शब भेटिएका छन् । भेरीगंगा नगरपालिका–१३, स्थित भेरी नदीको फरक–फरक स्थानबाट तीनै जना बालबालिकाको शब भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
हराएका मध्ये विहीबार भेरीगंगा नगरपालिका–११, का १० वर्षीया गंगा खड्का र ८ वर्षीय कृष्णा सिंजालीको शब भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेत सूचना अधिकारी (डीएसपी) रामप्रसाद घर्तीले बताएका छन् ।
घर्तीले दुबै शवलाई साँझ पोष्ट मार्टमका लागि मेहलकुना अस्पताल लागिएको जानकारी दिए । उनका अनुसार हराएका मध्ये लेकवेंशी नगरपालिका–२, का ८ वर्षीय दिनेश बुढाको बुधबार नै शव भेटिसकेको र उनको पोष्टमार्टम गरिसकिएको बताए ।
फागुन २८ गते (शनिबार) सुर्खेतको भेरिगंगा नगरपालिका–११ रामघाटस्थित भेरी नदीमा नुहाउने क्रममा तीनै जना बालबालिका हराएका थिए ।







