एमाले दैलेखको अध्यक्षमा निर्वाचित शर्मा को हुन ?

अमर सुनार
दैलेख, ३ चैत्र ।
बुधवार भएको नेकपा एमाले दैलेखको पुनः निर्वाचनको अन्तिम परिणाम आएको छ । गत मंसिरमा खसेको मत भन्दा मतपेटिकामा बढी मत फेला परेको कारण बदर गरिएकोमा मंगलवार परेको उम्मेदवारी अनुसार बुधवार भएको मतदानको विहीवार विहान मतगणना सकिएको हो ।

अध्यक्षमा निर्वाचित रविन्द्रराज शर्मा प्रतिनिधिसभा दैलेख निर्वाचन क्षेत्र नं. १ का साँसद हुनुहुन्छ । २०५४ को निर्वाचनमा शर्मा दैलेख सदरमुकाममको नारायण नगरपालिकाको मेयर जित्नुभएको थियो ।

उहाँ २०७१ मा भएको नेकपा एमालेको छैटौं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपाको बेला पनि दैलेखमा अध्यक्ष एमालेको हिस्सा पर्दा उहाँ नै नेकपाको जिल्ला अध्यक्ष हुनुहुन्थ्यो ।

२०४७ नेकपा मालेको सुरुवाती पार्टी नेतृत्व गर्नु भएका शर्मा २०४८ र २०५१ को संसदीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट उम्मेवार बन्नुभएको थियो । त्यसबेला एमालेको संगठन कमजोर भएको कारण धौधौ धरौटी जोगिएको थियो ।

२०५२ मा नेमकिपाको ठूलो पङ्क्ति नेकपा एमालेमा समाहित भएपछि उहाँले नेतृत्व छोड्नु भएको थियो । नेमकिपाको ठूलो पङ्क्ति नेकपा एमालेमा समाहित भएपछि एमालेले दैलेखमा २०५४ को स्थानीय निर्वाचनका सबै निर्वाचनमा एमालेको बर्चस्व कायम गराउन सकेको शर्मालाई श्रेय दिइन्छ ।

मतगणना परिणाम अनुसार रविन्द्रराज शर्माले चार सय १४ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी हुनुभएको छ । उहाँका प्रत्यासी सूर्यबहादुर शाहीले दुई सय ६३ मत पाउनुभयो । कुल मतदाता सात सय २३ मतदाता मध्ये छ सय ८४ जनाले यस पटक मतदान गरेका थिए ।

अघिल्लो पटक मतगणना गर्न खोलिएको मतपेटिकामा कुल मतदाता संख्या भन्दा ३१ मत बढी अर्थात सात सय ४८ मत फेला परेपछि निर्वाचन प्रक्रिया नै बदर गरिएको थियो ।

गत मंसिर २३ गते देशभर एक पटक जिल्ला जिल्ला अधिवेशन तोकिएको समयमा भएको निर्वाचनमा सात सय २३ मतदाता मध्ये सात सय १७ मत खसेको थियो ।

खसेको मत भन्दा मतपेटिकामा ३१ बढी मत फेला परेपछि एकले अर्को पक्षलाई ‘किर्ते गरेको’ भन्दै सम्पूर्ण निर्वाचन बदर गरी यस पटक उम्मेवारी लिनेदेखि मतदानसम्मका नयाँ प्रक्रिया लिंदा अरु पदहरुमा नयाँ उम्मेदवारी परे पनि अध्यक्ष पदमा रविन्द्रराज शर्मा र सूर्यबहादुर शाही पुरानै उम्मेदवार खडा भएका थिए ।

नेककिपालाई एमालेमा समाहित गराउँदा वा सामाजिक प्रभाव भएको परिवर्तनकामीहरुलाई नेतृत्व सुम्पिएर हार्दिकता जनाएको श्रेय पाए पनि २०६१ मा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनको पक्षधरता जनाएर गतिविधिमा लागेको कारण अहिले साँसद शर्मालाई ‘राजावादी’को ताज मेटिएको छैन ।

जस्तै ठूलै समस्यालाई पनि सामान्य ढंगले लिने, जनसरोकारको समस्या सुन्ने तर काममा चासो नदिने, कार्यकर्ता तथा सरोकारवालाहरुले गर्ने फोन नउठाउने नेता भनी साँसद शर्माको आलोचना हुने गर्दछ ।

नेकपा एमालेको दोहो¥याएर गरिएको निर्वाचनमा उपाध्यक्ष प्रेमबहादुर बुढा, सचिवमा तिलक रिजाल, दुई सहसचिवमा कलावती न्यौपाने र गंगाराम दाहाल जित्नुभएको छ ।

जिल्ला नेतृत्वमा अध्यक्ष सहित पाँच जना पदाधिकारी रहने व्यवस्था छ । स्थानीय तहको संख्या अनुसार फरकफरक हुन सक्ने विधानले गरेको व्यवस्था अनुसार दैलेखमा पाँच पदाधिकारी र ९५ सदस्य समेत १०० सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको छ ।

पार्टीको विधान अनुसार जिल्लाका ११ वटै स्थानीय तहबाट हरेकबाट तीन पुरुष र दुई महिला गरी ५५ जना, तीन महिना सहित नौ जनजाति, चार महिला सहित १५ जना दलित, पाँच महिला सहित २१ जना खुला सदस्य निर्वाचित भएका छन् । दलित सदस्यहरु सर्वसम्मति भएको थियो ।

आन्तरिक चुनावमा पनि ‘किर्ते गरेको’ भनी आलोचना भएको बेला नेकपा एमालेको केन्द्रीय निर्वाचन विभाग प्रमुखको प्रत्यक्ष निगरानीमा अघिल्लो निर्वाचन अधिकृत हिमालयजंग शाहलाई नै निर्वाचन अधिकृत बनाई निर्वाचन कार्य सम्पादन गरिएको थियो । शाहलाई अघिल्लो पटक सही नेतृत्व गर्न नसकेको भनी आलोचना भएको थियो ।

एमाले दैलेखको अध्यक्षमा निर्वाचित शर्मा को हुन ?

तोकिएको समयमा निर्वाचन हुन्छ तयारीमा लाग्नुहोस

Leave a comment

Your email address will not be published. Required fields are marked *