कहिले फेरिएला जुम्लाको मुहार ?
बाल गोपाल देवकोटा
जुम्ला,२९ असोज ।
नेपाल लोडसेडिङ मुक्त भएको वर्षौं बितिसक्यो तर कर्णाली प्रदेशको जुम्ला जिल्लामा हप्ताको एक÷दुई दिन मात्र बिजुली आउँछ भन्दा हामीलाई अचम्म लाग्नसक्छ । तर कोही कसैले अचम्म मान्नुपर्ने कुरा छैन, वर्षौँदेखि अन्धकार झेलिरहेका जुम्लावासीहरुको समस्या जस्ताको त्यस्तै छ ।
विश्वले एक्काइसौं शताब्दीको फन्को मारिरहँदा पनि जुम्लाका समस्या जहाँका त्यहीँ छन् । युगौंदेखि भौगोलिक विकटताले पिछडिएको मेरो प्रदेश एवं जुम्ला जिल्ला अझैसम्म पनि पिछडिएको छ । राजाको शासनकालदेखि सौतेली व्यवहार खेप्दै आएको मेरो जुम्ला अझै पनि सौतेली व्यवहार खेपिरहेको छ ।
कति राजा रजौटा फेरिए, कति प्रधानमन्त्री, मन्त्री अनि सरकार फेरिए तर पिछडिएको मेरो जुम्लाको मुहार फेर्न कसैले सकेन । मेरो जुम्ला अझैसम्म दुर्गममै सीमित रह्यो । कहिल्यै फेरिएन, युगौंदेखि समस्यासँग जुध्दै आएको मेरो जुम्लाको मुहार फेर्ने दिन अनि विकासको काम गर्ने लिडर ।
२१औँ शताब्दीले जस्तोसुकै गाथा गाए पनि जुम्ला एवं कर्णालीका विकट बस्तीहरूमा देखिएको नियमित विद्युत्, खानेपानी र सरसफाइको अभाव, अशिक्षा, गरिबी, भोकमरी, छुवाछुत तथा छाउपडी जस्ता सामाजिक कुसंस्कारले नराम्ररी सताएको छ । अब हामी आफैँ विचार गर्न सक्छौँ जुम्ला एवं समस्त कर्णालीको हालत कस्तो छ भनेर । नजर डुलाउँदा पाइलै पिच्छे बिजुलीका पोलहरु ठडिएका छन्, गाउँगाउँमा विद्युत गृह छन् तर बत्ती छैन ।
घरैपिच्छे धाराहरु छन् तर धारामा नियमित पानी नभएर स्थानीय आकुल–व्याकुल भएको छन् । बाहिरबाट हेर्दा सेवा सुविधा भएको हस्पिटल छ भन्ने छ, कठै! भनेजस्तो राम्रो सेवा सुविधा दिन सकेको छैन । कोही गाउँमा बिरामी पर्दा हस्पिटलसम्म ल्याउने सवारी साधन एम्बुलेन्सको कुरा त परै जाओस् एउटा स्ट्रेचरसम्म छैन ।
हेर्दा बाहिरबाट सबैलाई लाग्नसक्छ घर– घरसम्म बाटोघाटो पुगेको छ तर बाटोको डिजाइन, गुणस्तर र बाटोमा गुडिरहेका गाडी कहिले देखिँदैनन् । विद्यालय छन् तर विद्यार्थी देखिँदैनन् । गन्तव्य एउटै छ, विकासको नाममा प्रकृतिको विनाश हुनेगरी ३÷४ ठाउँबाट बाटो खनिएको छ ।
’जसको शक्ति उसकै भक्ति’ भनेझैँ मेरो प्रदेश एवम् मेरो जन्म जिल्ला जुम्लामा यो कुरा यथार्थ साबित भएको छ । पहिले जस्तो समस्या भोगेको थिएँ दसैँ– तिहारमा जुम्ला आउँदा यो वर्ष पनि त्यस्तै समस्या भोग्नु पर्यो मैले । परापूर्व कालदेखि जुम्ली जनताले भोगेका विभिन्न समस्यासँग फेरि पनि मैले जुधेर बस्नुपर्यो ।
सुन्थें, पहिलाभन्दा जुम्ला केही विकसित भएको छ तर २÷४ कामहरुबाहेक अरु केही कुरामा विकसित भएको देखिनँ । म जुम्ला आएको दिनदेखि राम्रोसँग बत्तीको मुहार पनि देख्न सकिएन । यताउति हेर्दा बत्तीका अनगिन्ती पोलहरू ठडिएका नेपाल विद्युत प्राधिकरणका साना जलविद्युत आयोजनाका समितिले सञ्चालन गरिरहेका विद्युतका पोलहरु छन् । पोलमाथि बत्तीको तार पनि तानिएको छ तर त्यो तारमा बत्ती छैन ।
खबर सुन्थेँ, पोलमाथि तानिएका तारहरु स्थानीय विद्युत गृहमा जोडिएका छन् र नयाँ विद्युत गृहबाट उत्पादन भएको बत्ती पनि जोडिएको छ । अझ भनौं राष्ट्रिय ग्रिडमा पनि जुम्ला जोडी सक्यो भन्ने खबर सुन्दा काठमाडौंमा म जति खुशी भएको थिएँ तर वास्तविकता के रहेछ जुम्ला आउँदा थाहा भयो । ‘
सदियौंदेखि झरो र टुकीको सहायताले उज्यालो गरिरहेका हामी जुम्ली जनताहरु अझैपनि घर अगाडि ठडिएका विद्युतका पोलहरुमा तानिएका तारहरू हेर्दै बत्ती आउने आशामा झरो र टुकी बालिरहेका छौं । वर्षमा एकचोटी आउने दसैँ–तिहारजस्ता चाडपर्वहरु पनि जुम्ली जनताले बत्तीको अभावमा अन्धकारमै मनाइरहेका छन् ।
नेपालका सहरी बस्तीहरु झलमल्ल बत्तीले झकिझकाउ हुँदा पिछडिएको गाउँ मेरो जुम्ला अझैपनि अन्धकारमा रुमल्लिरहेको छ ।’ जुम्लामा अन्धकार भएपछि सांसद गजेन्द्रबहादुर महतले सांसद विकास कोषबाट डिजेल प्लान्ट खरिद गर्न २४ लाख ६० हजार उपलब्ध गराए ।
२ सय केभी (१६० किलोवाट) क्षमताको उपकरण ल्याएर केही समय डिजेलबाट भए पनि बिजुली बल्यो । तर डिजेलको खर्च थेक्न नसकिएपछि उक्त उपकरण पनि थन्किएको छ । जुम्लाको बिजुलीको विषयमा सडकदेखि संसद्सम्म चर्काे विरोध र आलोचना भएपछि विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयले अर्काे डिजेल प्लान्ट पनि पठायो, तर डिजेल भने पठाएन । त्यो उपकरण पनि ल्याएदेखि थन्किएको छ ।
अहिले ती डिजेल प्लान्ट कता छन् कसैलाई अत्तोपत्तो छैन । विद्युतको अभावले गर्दा जुम्लामा उद्योग, कम्पनीहरु खुल्न पनि सकेका छैनन् र भएका साना उद्योगहरु पनि धमाधम बन्द भइरहेका छन् । वर्तमान अवस्थामा कुनै पनि विकासको काम गर्दाखेरि विद्युत् अति नै आवश्यक पर्ने हुन्छ जहाँ विद्युत् छैन, त्यो क्षेत्र पिछडिएको हुन्छ ।
आफूले चलाउने मोबाइलदेखि ठूला कलकारखाना चल्नसम्म हामीलाई विद्युत्को आवश्यक पर्छ । विश्व बजार अहिले डिजिटललाइज भइसकेको छ । सहर बजारदेखि गाउँ–गाउँसम्मका सम्पूर्ण कामकाजहरु, कारोबारहरु डिजिटल माध्यमबाट हुने गरेका छन् ।
विद्यालयका पठनपाठनदेखि संघसंस्थाका ठूल्ठूला मिटिङ, कार्यक्रमहरू अहिले डिजिटल माध्यमबाट नै हुने गरेका छन् र यो डिजिटल माध्यम सञ्चालनको लागि विद्युत् अनिवार्य छ, तर मेरो ठाउँमा यो कुरा अहिलेसम्म सम्भव भएको छैन । अब कुरा गरौं मेरो जन्म जिल्ला जुम्लाको, जहाँ कि महिना दिनसम्म बत्तीको मुहार देख्न सकिँदैन । त्यस ठाउँको अवस्था कस्तो होला हामी सोच्न पनि सक्दैनौँ । विकासको मुख्य आधार नै विद्युत् हो ।
जहाँ विद्युत् छैन, त्यहाँको जीवन कस्तो होला? वर्तमान अवस्थामा विद्युत बिना कुनैपनि दैनिकी कामहरु गर्न सकिँदैन । विद्यालय तथा विश्वविद्यालयहरूले अनलाइन विधिबाट कक्षा तथा परीक्षाहरु सञ्चालन गरिरहेका छन् । दूरदराज एवं दुर्गम ठाउँका विद्यार्थीलाई कति समस्या भएको होला हामी सोच्न पनि सक्दैनौँ । आफ्नै घरमा बसेर अनलाइन कक्षा लिने र परीक्षा दिने कसलाई मन हुँदैन? सबैलाई हुन्छ ।
सकिनसकी मोवाइलमा डाटा प्याक लिएर गाउँघरका डाँडाकाँडा अनि रुखको टुप्पामा बसेर अनलाइन कक्षामा सहभागिता त होउँला तर मोबाइल चार्ज गर्ने बत्ती छैन र भनेको बेला नेट पनि चल्दैन । त्योबेला दुर्गमका विद्यार्थीहरुलाई बत्ती र नेटले गर्दा कति दुःख दिन्छ, त्यो सुन्दा पनि अचम्म मान्ने स्थिति छ सहर बजारमा बस्नेहरुको । जुम्लामा विद्युत् नहुँदा दैनिक क्रियाकलापमा समस्या आएको छ ।
मोबाइल चार्जदेखि उद्योग कलकारखाना सञ्चालन गर्न नसकिने भएको छ । विद्युत सेवा नआउने भएसंगै स्थानीय फोटोकपी, प्रेस सञ्चालकहरुले सेवाग्राहीलाई महंगो सेवा प्रदान गर्दै आइराखेका छन् । मोबाइल चार्ज गर्न नसक्दा जिल्ला बाहिर रहेका आफन्त जनसंग कुराकानी गर्न सकेका छैनन् ।
स्थानीय एफएम स्टेशनहरु बन्द हुने अवस्थामा छन् । कर्णाली प्रदेश सरकारले डिजिटलमय प्रदेश बनाउने भन्दै आएकोमा दैनिक लोडसेडिङको मार खेप्नु परेकोमा स्थानीय दुःखी छन् । लोडसेडिङका कारण सरकारी तथा गैरसरकारी कार्यालयबाट हुने दैनिक क्रियाकलाप प्रभावित हुने गरेका छन् ।
लोडसेडिङले बैकिङ कारोवारमा समेत समस्या ल्याएको छ । जुम्ला खलंगाको विद्युत समस्या समाधान गर्न कर्णाली प्रदेश सरकारले एक मेगावट सोलार प्लान्ट राख्ने तयारी पनि थालेको थियो, यसको काम कहाँ कत्तिसम्म पुग्यो त्यसको थाहा पत्तोसम्म छैन ।
आशा गरौँ त्यो कामले गति लिनेछ र जुम्ली जनताले झलमल्ल बत्ती बाल्न पाउनेछन् । अन्ततः आशा छ घर अगाडि आँगनमा ठडिएका बत्तीका पोलहरुमा तानिएका तारहरूमा दैनिक बत्ती आउनेछ अनि सदियौंदेखि झरो र टुकीको भरमा उज्यालो गरिरहेका हामी जुम्ली जनताको मुहारमा बत्तीले उज्यालो छर्ने छ र विकासको कामले गति लिने छ ।





