सुर्खेतका ९९ वडा मध्ये ६/६ वडामा एमाले–काँग्रेस र २ वडामा माओवादी केन्द्र विजयी

सुर्खेत, १ जेष्ठ ।
४ गाउँपालिका, ५ नगरपालिका र ९९ वडा रहेको सुर्खेत जिल्लाका ८ वटै स्थानीय तहको मत गणना कार्य जारी रहेको छ । वडाबाट मतगणना शनिबार विहानैदेखि सुरु गरिएको थियो ।
सिम्ता गाउँपालिका वडा नं. १ घोरेटाको मतदानकै दिन विवाद भएपछि मतदान प्रक्रिया रोकिएको थियो । निर्वाचनमा खटिएका कर्मचारीहरु असुरक्षित भएपछि मतदान कार्य रोकिएको थियो ।
निर्वाचन आयोगसंगको परामर्शमा निर्वाचन अधिकृतको कार्यालय जेष्ठ २ गते मतदान कार्य गर्ने निर्णय सहित सार्वजनिक सूचना जारी रहेको छ । मतदान स्थगित भएपछि सिम्ता गाउँपालिकाको मत गणना कार्य रोकिएको छ ।
भने अन्य ८ वटा स्थानीय तहको मतगणना कार्य जारी रहेको छ । सार्वजनिक भएकाे मतपरिणाम अनुसार सुर्खेतका ९९ वडा मध्ये १४ वटा वडाकाे मतपरिर्णाम सार्वजनिक भएकाे छ ।
६ वडामा नेकपा एमाले र ६ वडामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन भने २ वडामा नेकपा माअाेवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । आइतबार विहान १०ः०० बजेसम्म मतपरिणाम र विजयीहरुको विवरण यस प्रकार रहेको छ ।
गुर्भाकोट नगरपालिका (२ वडामा नेकपा एमालेका उम्मेदवार विजयी)
गुर्भाकोट नगरपालिका वडा नं. १ र १४ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । वडा नं. १ को वडा अध्यक्ष पदमा राम बहादुर शाही ६७९ मत र वडा नं. १४ को वडाअध्यक्षमा चन्द्र बहादुर घर्ती विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले भने औपचारिक रुपमा विजयीको घोषणा गर्न बाँकी छ ।
भेरीगंगा नगरपालिका (१ वडा काँग्रेस, १ वडा माओवादीका उम्मेदवार विजयी)
भेरीगंगा नगरपालिकाको वडा नं. १ र २ को मतपरिणाम सार्वजनिक भएको छ । वडा नं. १ मा नेपाली काँग्रेसका उम्मेदवार दिनेश पुलामी विजयी भएका छन् भने वडा नं. २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार चिरन्जिवि बुढा विजयी भएका छन् ।
वडा अध्यक्षबाहेक अरु सबै सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । महिला सदस्यमा पवित्रा घर्ती मगर, दलित महिला सदस्यमा हरिमाया नेपाली, खुल्ला सदस्यमा दुर्ग बहादुर सारू मगर र खुल्ला सदस्यमा माग्ले बुढा विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले भने औपचारिक रुपमा विजयीको घोषणा गर्न बाँकी छ ।
चिङ्गाड गाउँपालिका (१ वडा नेकपा एमालेका उम्मेदवार विजयी)
त्यसैगरी चिंगाड गाउँपालिका वडा नं. १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । वडा नं. १ मा नेकपा एमालेका उम्मेदवार टेक बहादुर रजाली ६८२ मत सहित विजयी भएका छन् ।
वडा नं. २ को केही मतगणना कार्य भैराख्दा दलका प्रतिनिधिहरुवीच विवाद उत्पन्न भएपछि मतगणना कार्य रोकिएको छ ।
वीरेन्द्रनगर नगरपालिका (१ वडा नेकपा एमालेका उम्मेदवार विजयी
सुर्खेत राजधानी वीरेन्द्रनगर वडा नं. १६ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार डण्डबहादुर विश्वकर्माले ६०८ मत ल्याएर वडाध्यक्षमा जितेका छन् ।
उनका प्रतिद्वन्द्वी पूर्णप्रसाद ढकालले ५८३ मत ल्याएका छन् । त्यस्तै खुला महिला सदस्य र एकजना खुला सदस्यमा नेकपा एमालेले जितेको छ । काँग्रेसले दलित महिला सदस्य र एकजना खुला सदस्य जितेको छ ।
बराहताल गाउँपालिका (१ वडा माओवादी, १ वडा एमालेका उम्मेदवार विजयी)
बराहताल गाउँपालिका वडा नं. १ मा नेकपा माओवादीको प्यानलनै विजयी भएको छ । जम्मा सात सय ४० मत खसेकोमा माओवादीका वमबहादुर बुडुवाल ‘तारा’ ले दुई सय ७५ मत ल्याएर विजयी भएका हुन् ।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवारले दुई सय २८, नेकपा एमालेले एक सय ७५ मत प्राप्त गरे । बराहताल गाउँपालिका वडा नं. २ मा नेकपा (एमालले) को प्यानल नै विजयी भएको छ । मत परिणाम अनुसार एमाललेका भिम साउँदले नेकपा माओवादीका उम्मेदवारलाई करिव दुई सय मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
उनले ६ सय ५६ मत ल्याउदा माओवादीका डिलबहादुर नेपालीलेले चार सय ४५ मत प्राप्त गरी पराजित भए । त्यस्तै नेपाली कांग्रेसका मनिराम पुरीले दुई सय ४९ मत प्राप्त गरे ।
पञ्चपुरी नगरपालिका (१ वडामा एमाले र ३ वडामा काँग्रेस उम्मेदवार विजयी
पञ्चपुरी नगरपालिकाका ४ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । वडा नं. १ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् भने वडा नं. २, १० र ११ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।
शनिबार दिउँसो आएको मत परिणाम अनुसार पञ्चपुरी नगरपालिकाको वडा नं. १ बाट नेकपा एमालेको विजयी यात्रा सुरु भएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री नवराज रावतको गृह नगर हो ।
सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं. १ मा नेकपा (एमाले) को प्यानल नै विजयी भएको छ । शुक्रवार सम्पन्न स्थानीय तहको निर्वाचनबाट एमालेका कणर्बहादुर थापाको प्यानल नै विजयी भएको हो ।
थापाले चार सय ७९ मत प्राप्त गरी विजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवारले तीन सय ६३ मत प्राप्त गरे । माओवादी केन्द्रले ४२ मत, राप्रपाले १४ र एकीकृत समाजवादीले ३ मत प्राप्त गरेका छन् ।
पञ्चपुरी नगरपालिका वडा नं. २ मा याम बहादुर विसी निर्वाचित भएका छन् । नेपाली काँग्रेसबाट वडा अध्यक्ष पदका उम्मेदवार विसी विजयी भएका हुन ।
त्यसैगरी वडा नं. १० मा नेपाली काँग्रेसका उम्मेदवार हरिप्रसाद ढकालसहित प्यानलै विजयी भएकोछ । वडा नं. ११ मा नेपाली काँग्रेसका उम्मेदवार धन बहादुर माझी सहितको प्यानलै विजयी भएको छ ।
चौकुने गाउँपालिका (२ वडामा काँग्रेसका उम्मेदवार विजयी)
चौकुने गाउँपालिका वडा नं. १ र २ को मतपरिणाम आएको छ । दुवै वडामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।
वडा नं. १ का नेपाली काँग्रेसबाट उम्मेदवार जिरक बडुवाल विजयी भएका छन् । एकीकृत समाजवादीका उम्मेदवारलाई ८ मतान्तरमा विजयी भएका हुन ।
वडा नं. २ मा मायाराम जैसी विजयी भएका छन् । यस अघिपनि वडा अध्यक्ष रहेका जैसी दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा विजयी भएका छन् । औपचारिक रुपमा विजयीको घोषणा हुने भने बाँकी रहेको छ ।







