कराेडाैँ लगानीकाे एकीकृत भवन प्रयाेगहीन

कालीकोट,२० भदौ ।
करोडौँ लगानीबाट निर्माण गरिएको जिल्लाको एकीकृत भवन यतिबेला प्रयोगहीन छ। निर्माण सम्पन्न भएको पाँच वर्षसम्म पाँचवटा सरकारी कार्यालय सञ्चालन गर्ने प्रयोजनका लागि निर्माण गरिएका एकीकृत भवन अहिले खाली छन् भने उता सबै कार्यालय भाडाको घरमा बस्दै आएका छन्।
आठ करोड ८० लाख लागतमा निर्माण भएको भवन अहिले सरुवा रोग अस्पतालको बोर्ड राखेर कब्जा गरिएको छ। निर्माण सम्पन्न भएको एक वर्षसम्म पनि हस्तान्तरण भएको छैन। कोरोना सङ्क्रमण फैलिएपछि तत्कालका लागि आइसोलेसनका रूपमा उक्त भवन प्रयोग गरिएको थियो। २०७६ सालयता कहिले कोरोना अस्पताल, कहिले सरुवा रोग अस्पतालको बोर्ड राख्ने गरेकाले पाँचवटा सरकारी कार्यालय भाडाको घरमा बस्न बाध्य भएको बताइएको छ।

कोष तथा लेखा नियन्त्रकको कार्यालय कालीकोटका निमित्त प्रमुख युवराज महताराले कोरोनाले गर्दा केही भन्न नसकेर आफूहरू भवन निर्माणपछि पनि भाडाको घरमा बस्दै आएको बताएए । उनले वार्षिक रूपमा भाडाबापत पाँच लाख ४० हजार रुपियाँ तिर्दै आएको सुनाए । अहिले सरुवा रोग अस्पताल भयो भनिएको छ तर अस्पतालमा एक जना पनि बिरामी नआउने, दुईरचार जना कर्मचारी बसेर भवन कब्जा गरेको आफूले सुनेको उनले बताए ।
कोलेनिकासंगै जिल्ला हुलाक कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला निर्वाचन कार्यालय, प्रदेश लेखा एकाइ, पूर्वाधार विकासलगायतका कार्यालय सार्ने उद्देश्यले दस तलाको कार्यालय र कर्मचारी आवास निर्माण गरिएको थियो। सरुवा रोग अस्पताल स्थायी रूपमा स्वीकृति भए नभएको केही जानकारी छैन। जिल्ला निर्वाचन कार्यालय कालीकोटका सूचना अधिकारी धनबहादुर मल्लले भवन खाली भए पनि सरकारी कार्यालय मोटो रकम तिरेर भाडामा बस्न बाध्य भएको बताए ।
उनले फाइल उठाएर माथिसम्म पुगेको तर अहिलेसम्म आफूहरू भाडाको घरमा बस्दै आएको जानकारी दिए । जिल्ला निर्वाचन कार्यालयले भाडाको घरमा मासिक २५ हजार ३३० रुपियाँ तिर्दै आएको मल्लले बताए ।सरकारी कार्यालयले वार्षिक ५० लाखभन्दा बढी भाडा तिर्दै आएका छन् तर सरकारी कार्यालयका लागि निर्माण भएको भवन दुई जना कर्मचारी बसेर कब्जा गरिएको छ। प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले सरुवा रोग अस्पताल भनेर जगेडामा राखिएको यसले गर्दा सरकारी सम्पत्ति खर्च भइरहेकाले स्वास्थ्य सेवा कार्यालयसंँगै प्रदेश सरकारसँग समन्वय गरेर समस्याका बारेमा जानकारी लिने बताए ।
स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटकबहादुर महतले प्रदेशले अस्पताल स्वीकृत दिएकाले विस्तारै बिरामीको चाप बढ्ने र सेवा दिन सुरु गर्ने प्रतिक्रिया दिए । उनले अहिले पनि कर्मचारी रहेको र फेरि विज्ञापन गरेकाले उनीहरूको छनोटपछि स्थायी रूपमा आउने दाबी गरे ।
गाेरखापत्र





