उहिलेका पालामा : छाेरी जति भए ‘नि छाेरा त पाउनैपर्ने

सुर्खेत १९ भदाै ।
सृजना बुढाथाेकी
वि.सं. २००२ सालमा दैलेख जिल्लाको मूल्की विजौरा वडा ९ हालको दुल्लु नगरपालिकामा जन्मिएकी हुँ । गाउँले परिवेशमा हुर्किएकी मैले अक्षर कस्तो हुन्छ महशुस गर्न पाइन । म जन्मिएको समय भनेको छोरीलाई पढाउनु हँुदैन भन्ने मानसिकता भएको समय थियो । छोराहरु पढ्न जाने तर छोरीहरु घरकै चुलोचौको, घाँसदाउरा, मेलापात, ढिकी, जाँतो, मुसलसंगै हुर्किने गर्थे । ४ वर्षको उमेरबाटै एउटा जर्किनमा पानी ल्याउने भैसकेकी म घरमा झाडु लाउने, भाइबहिनीको हेरचाह गर्ने काम हुन्थ्यो ।
मैले देखेको त्यो परिवेशमा मेरा आमाबा, छिमेकी भनेको बिहान अँधेरै उठ्ने घरधन्दा, पशुचौपायाको व्यवस्थापन, ढिकीजाँतोको काम सकेर एक छाक खाना खाइनखाई गरेर मेलापाता जाने अवस्था थियो । छोरा मान्छे ७ वर्ष पुगेपछि व्रतवन्ध गर्ने र छोरीमान्छे ७ वर्ष पुग्ना साथ अर्काको जिम्मा लाउने चलन थियो । छोरी अर्काको घरमा जाने जात हो भनेर पढाउने कुरै हुँदैन थियो । प्राय: जसो छोरीले सानो हुँदा जामा, भोटो लाउने चलन हुन्थ्यो, अनि चप्पल हुँदैन थिए, खाली खुट्टा हिड्ने । त्यतिबेलाका पुरुषहरुले भोटो, कछार, धोती लगाउँथे भने विवाहित महिलाले चोलो, गुन्योचोली, लुङ्गी लगाउने गर्थे ।

वर्षमा एकपटक हाट नेपालगञ्ज वा राजापुर नुन, लत्ताकपडा किन्नका लागि गयो भने बल्ल जुत्ता पाइन्थ्यो । ११ दिन लगाएर गएर आइथ्यो हाटबाट । त्यतिबेला न बाटोघाटोको सुविधा न गाडिको । साधन थियो त मात्रै घोडा खच्चड त्यो नि सामान बोक्नका लागि । अनि सबै भन्दा मीठो परिकार भनेको भेली मिठाई हुन्थ्यो । तर ७ वर्ष पुग्ना साथ अर्काको घरमा आजदेखि मेरी छोरी तपाईकी बुहारी भनेर जामा र भोटो फेरेर गुन्योचोली लगाएर दिने परम्परा थियो ।
७ वर्षमा छोरी दिने अनि केहि दिन केटाको घरमा राख्ने त्यसपछि माइतीमै ल्याउने अनि काम गर्न सक्ने १२ वर्षको उमेर भएपछि फेरि घर पठाउने गरिन्थ्यो । सानै उमेर अझ भनौ रजस्वला नभएकी छोरीलाई कन्यादान दिदा जस्तो धर्म केहि नहुने भन्ने गरिन्थ्यो । . अझ ७ वर्षकी छोरीको बीस बाइस वर्षका केटा कोहि त श्रीमतीको मृत्यु भएका छोराछोरी भएकासंग पनि दिने । उमेर धेरै भएको केटाले पाल्छ भन्ने चलन थियो ।
पढाएर के काम अर्काकै घर जाने हुन कामै गर्नुपर्ने हो भन्ने चलन थियो । छोराहरु अलिअलि पढ्थे त्यहि पनि स्कुल जान ३ घण्टा लाग्ने । बिहान ७ बजे गएपछि १० बजे पुग्ने अनि बेलुका ४ बजे फर्के पछि ७ बजे घर पुग्ने केटाहरु । त्यतिबेला दैलेख जहाँ हाम्रो घर थियो पूरा ढुगांले बनेको अनि खरले छाएको घर थिए । ढिकीजाँतो नगरे खानै पाइँदैन थियो ।
भात खानको लागि चाडपर्वनै आउनु पथ्र्यो । किनकी खाना भनेकै मकैको आटो, रोटी, ढेडो, मकैको रोटी हुन्थ्यो । पानीको त्यस्तै दु:ख । मूलको पानी लिनका लागि २ घण्टा उकालो हिडेर जानुपर्ने । भोलिको लागि ढिकी जाँतोको काम आजै सक्नुपर्ने । परिवार पनि छुट्टीने भन्ने हुन्थेन,
सबै काकाबाबु उनका परिवारसंगै, परिवार ठूलो अनि काम पनि धेरै हुन्थे । छोरीजति सबै बिहानै ३ बजे उठिसक्नुपर्ने हुन्थ्यो । बेलाबेलामा मेला लाग्थ्यो तर त्यो समयमा मेला राती लाग्थ्यो ।
सबैजना दिनभरी काम सक्थे अनि राती मेला घुम्ने हुन्थ्यो । रातभरी मेलामै रमाईलो गर्ने, अनि बिहान घर फर्किने । मेलामा काठले बनाएको पिङ्ग खेल्ने, मीठा खानेकुरा खाने अनि दोहोरी गाउने गरिन्थ्यो । नयाँ लुगा भनेकै हाम्रो वर्षमा एक पटक आउँथ्यो त्यहि धुने अनि लाउने । हामी संग त २ जोड भन्दा बढि कपडा हँुदैन थिए । प्राय: पुरुषहरु घरमा हुँदैन थिए । कमाउनकै लागि कालापार जाने गर्थे । कालापार गएर चार पाँच वर्षमा आउँथे । न फोन, न खबर । कोहि मास्टर घुम्दै आएभने चिठी लेख्न पठाएपनि महिनौ लगाएर पुग्थ्यो अनि महिनौपछि खबर आउँथ्यो ।
त्यो समयसम्म त भएका बिरामी नि सञ्चो भैसक्थ्यो । अस्थायी साधन, बच्चा जन्माउन बन्द गर्ने
साधन केहि हुँदैन थिए । छोरी त जति भएपनि छोरा जन्माउनै पर्र्यो । ब्राह तेह्र जना छोरी हुन्थे
छोराका आशमा, मेरापनि ६ वटा बच्चा हुन २ खेर गए, अहिले २ छोरा २ छोरी छन् । त्यतिबेलाको काम भनेको गाउँभरीको मेलो सक्ने, खेती गोड्ने, मल बोक्ने, घाँस काट्ने, ढिकी मुसल कुट्ने, पशुचौपाया हेरचाह गर्ने हुन्थ्यो । हामीलाई घाउचोट लाग्यो भने काठेपात, बेलौतीको पात, आपको पात, सिम्रीक, सिन्दुर, तितेपाती थिचेर हाल्थिम हाम्रो औषधीनै जडिबुटि
थिए ।
हात खुट्टा भाँचियो भने जडिबुटि राखेर काप्रोले बान्ने हुन्थ्यो त्यो समयमा । घरहरु पनि टाढा टाढा हुन्थ्यो तर कराएर बोलाउनु पर्ने, यसरी बोलाए पछि सुनिन्थ्यो । घर उज्यालो बनाउनका लागि दियालो बालिन्थ्यो दियालोलाई अझ झर्रो पनि भन्थिम् । झरो मसिना काटेर मुठा पार्ने अनि रातीको समयमा घट्ट, मेला कतै जाँदा बालेर जाने । घरमा पनि उज्यालोका लागि टुकी कि झर्रोनै बाल्ने हुन्थ्यो ।






