कर्णालीमा कृषि योजना छन्, जनशक्ति पाईदैन

सुर्खेत, १९ भदौ ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल कृषि उत्पादनसँग जोडिन चाहन्छन् । अवसरहरुको क्षेत्र पर्याप्त भएपनि कृषि उत्पादनका विषयमा कर्णाली प्रदेश परनिर्भरतातर्फ धकेलिरहेको मनन गरेका अध्यक्ष कँडेल कृषि व्यवसायमा जोडिन खोजेका हुन् । कृषि व्यवसाय तर्फको योजना अनुरुप कँडेलले वीरेन्द्रनगर–१४ मा ठेगाना रहनेगरी ऋषिकेश कृषि फर्म नामक फर्मका लागि कागजी प्रक्रिया समेत टुंगाएका छन् ।
विशेषगरी लोकल कुखुरा, खसी–बाख्रा र फलपूmलका क्षेत्रमा काम गर्ने योजनाका साथ कँडेलले यो योजना ल्याएको बताउँछन् । योजना निर्माणको चरणमा रहेका कँडेललाई भने हाल एउटै मुख्य समस्या छ, त्यो हो दक्ष जनशक्तिको अभाव । व्यवसायिक दृष्टिकोणमा अध्यक्ष कँडेल सुर्खेतका परिचित व्यवसायीमध्ये एक गनिन्छन् ।
बजाजका मोटरसाइकलका लागि कर्णालीको आधिकारिक बिक्रेता रहेका उनको यो क्षेत्रमा आफ्नै व्यवसायिक नाम छ । यसबाट पनि उनले मनग्य आम्दानी समेत गरिरहेका छन् । तर कृषि उत्पादका क्षेत्रमा जनशक्ति अभावका कारण लक्ष्मणको योजनाले दु्रत गति लिईरहेको देखिदैन । ‘आवश्यकता बमोजिमको राम्रै लगानी गरेर उत्पादन गर्ने योजना हो । तर के गर्ने मान्छे पाईदैन । त्यत्रो लगानी गरेर निर्धक्कका साथ दिन सकिने जनशक्ति पनि चाहियो नि’, उनले भने ।
कँडेल मात्र होइन, पछिल्लो समयमा कृषि क्षेत्रमा लगानी योजना गर्नेहरुलाई जनशक्ति अभावकै कारण पछि हट्नुपर्ने बाध्यतापनि छ । उनले भने, ‘यस क्षेत्रमा लगानी गर्न चाहने थुप्रै साथिीहरु हुनुहुन्छ । तर काम गर्ने मान्छे नभएपछि लगानी खेर जान्छ कि भन्ने डर छ ।’ दक्ष कृषित जनशक्तिको अभावले नै कृषि क्षेत्रमा लगानी गर्न चाहनेहरुलाई लगानीको वातावरण सृजना नहुने उनी बताउँछन् ।

भेटिदैनन् कृषि प्राविधिकः
पछिल्ला वर्षहरुमा हेर्ने हो भने कर्णालीमा कृषि क्षेत्रमा लगानी बढिरहेको देखिन्छ । तर कृषि क्षेत्रमै प्राविधिकहरुको माग पनि सोहि अनुरुप बढिरहेको देखिन्छ । रोजगारदाताको नेतृत्वमा श्रम बजार सचिवालय परियोजनाले समेत हालै मात्र कर्णालीमा उपलब्ध जनशक्ति तथा आवश्यकताका सम्बन्धमा सर्वेक्षण गरेको थियो । सो सर्वेक्षणले समेत कृषि क्षेत्रमा जनशक्ति अभावको विषय औल्याएको छ ।
परियोजना मार्फत खासगरी निर्माण क्षेत्र, कृषि क्षेत्र र पर्यटन क्षेत्रमा जनशक्तिको अवस्थाका विषयमा कर्णालीमा सर्वेक्षण गरिएको थियो । सुर्खेत र जुम्लाका नौँ सय ७९ जनसंख्यामा एक सय १४ व्यवसायिक फार्मको नमूना लिई गरिएको सर्वेक्षणले कृषि क्षेत्रका लागि सबैभन्दा अभाव रहेको जनशक्ति नै कृषि प्राविधिक जनाएको छ ।
सर्वेक्षण अनुसार कृषि क्षेत्रका एक सय १४ फार्मका लागि अझैपनि २० जना कृषि प्राविधिकको आवश्यकता छ । र, कृषि प्राविधिक कर्णालीको कृषि क्षेत्रका लागि अत्यावश्यक जनशक्तिका रुपमा समेत रहेको सर्वेक्षणले जनाएको छ ।
यसैगरी आगामी दुई वर्षमा ४० जना र पाँच वर्षपछि यस क्षेत्रमा ९५ जना जनशक्तिको आवश्यकता पर्ने सर्वेक्षणले देखाएको परियोजनाकी समन्वयकर्ता सुभेक्षा सिंहले जानकारी दिइन् । कृषि क्षेत्रमा फलपूmल तथा तरकारी विषयमा प्राविधकको माग दोस्रो स्थानमा छ । सर्वेक्षणले हालको समयमा १० जना, आगामी दुई वर्ष पछि २० जना र पाँच वर्षको समयमा ३५ जना दक्ष जनशक्ति यस क्षेत्रमा आवश्यक देखिन्छन् ।
पशु प्राविधिक जनशक्तिको पनि सोहि संख्यामा माग छ । यसरी कर्णालीका जिल्लाहरु सुर्खेत र जुम्लामा मात्र हालको समयमा कुल ४५ जना दक्ष जनशक्ति आवश्यकता देखिन्छ । आगामी दुई वर्षपछि ९० जना र पाँच वर्ष पछि एक सय ८० जना जनशक्ति आवश्यक पर्ने सर्वेक्षणले जनाएको छ । प्रदेशका १० जिल्लामध्ये दुई जिल्लामा मात्र कृषि क्षेत्रमा उल्लेखित संख्यामा जनशक्तिको अभाव छ भने सबै प्रदेशको अवस्था हेर्ने हो भने सोहि आधारमा अनुमान लगाउन सकिन्छ ।
को हुन् कृषि प्राविधिक ?
कृषि फार्म प्राविधिकले खाद्य गुणस्तर र कृषि उत्पादनहरू सुनिश्चित गर्नका लागि कृषि क्षेत्रमा सहयोग गर्ने जनशक्ति हो । कृषि फार्मको योजना बनाउनु, जग्गा तयार गर्नु र उर्वरा व्यवस्थापन गर्नु, बिरुवा÷बालीको प्रचारप्रसार गर्नु, नर्सरीको व्यवस्थापन गर्नु, बीउ छर्ने वा बिरुवा रोप्ने, अन्तरकृषि सञ्चालन गर्न र बाली संरक्षण गर्न कृषि प्राविधिकको मुख्य भूमिका हुन्छ ।
कृषि फार्म प्राविधिकले किसानलाई सीप र ज्ञान हस्तान्तरण गर्न सिफारिस गर्छन् । साथै नयाँ र उपयुक्त प्रविधि प्रदर्शन गर्दै, मार्गदर्श न र फार्मका लागि दिशानिर्देश गर्न सक्छन् । यसबाहेक, कृषि प्राविधिकले किसान र अन्य खेती मजदुरहरूलाई मौसम र मौसम अवस्था र माटोको अवस्थाको आधारमा सही बाली छनोट गर्न मद्दत गर्दछन् ।
अहिले वस्तुगत कृषि अभ्यास कृषि खेतीको व्यवसायीकरणमा परिणत हुँदै गएको छ । यो प्रवृत्ति बढ्दै गएको देखिन्छ । खेतीलाई सफल बनाउन कृषि फार्म प्राविधिकको ठूलो भूमिका हुन्छ । यस बाहेक कार्यसम्पादनको आधारभूत विधि लागू गर्न आवश्यक ज्ञान भएको व्यक्तिलाई वर्णन गर्दछ, दिइएको कार्यको लागि उपयुक्त उपकरण, उपकरण र सामग्रीहरू छनोट गर्ने ज्ञान, दिइएको कामको समाधान गर्न साझा कर्तव्य र कार्यहरूको आधारभूत सिद्धान्त र सिद्धान्त लागू गर्ने क्षमता उनीहरुसँग हुन्छ ।
कृषि फार्मको व्यवसायसँग सम्बन्धित समस्याहरू हावा, पानी, खाना, ध्वनि र माटो प्रदूषण हुन् । रासायनिक मल तथा विषादीको प्रयोगले माटो, जल तथा वायु प्रदुषण तथा भारी मेसिनरी तथा उपकरणको प्रयोगले ध्वनि तथा वायु प्रदूषण सृजना गर्दछ ।
जैविक/जैविक मल/कीटनाशकको प्रयोगले हावा, खाना र जमिन÷माटोको प्रदूषणलाई न्यूनीकरण गर्न मद्दत गर्न सक्छ । त्यसैगरी, प्राङ्गारिक मलको प्रयोगलाई प्राथमिकता दिँदा माटो र जल प्रदूषण कम गर्न सकिन्छ ।
फोहोर पानीको प्रशोधनले पनि जल प्रदूषण कम गर्न मद्दत गर्न सक्छ । त्यसैगरी साइलेन्सर र ध्वनिरहित उपकरणको प्रयोगका साथै शून्य जोत्ने÷न्युनतम खेती गर्ने अभ्यासले ध्वनि र माटोको प्रदूषण÷क्षरणलाई कम गर्न सक्छ ।






