कर्णालीका आर्थिक मन्त्री विष्टले लिए सपथ

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले पद तथा गोपनियताको सपथ लिएका छन् । नवनियुक्त मन्त्री विष्टले मंगलबार साँझ प्रदेश प्रमुख तिलक परिवार समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् ।
विष्टले सपथ लिएसँगै कर्णाली प्रदेश सरकारमा माओवादी केन्द्र पनि सहभागी भएको छ । मुख्यमन्त्रीलाई विश्वासको मत दिनुअघि नै मन्त्रालयको बागबन्डा टुङ्गाउनुपर्ने माओवादीको अडानपछि मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगलबार विष्टलाई मन्त्री नियुक्त गरेका थिए ।
नवनियुक्त मन्त्री विष्ट सुर्खेत निर्वाचन क्षेत्र २ (ख) बाट निर्वाचित सांसद हुन् । २०३६ साल बैशाख १६ गते कालिकोटमा उनको जन्म भएको हो । हाल बराहताल गाउँपालिका–१ सुर्खेतका स्थायी वासिन्दा विष्टले विद्यार्थी जीवनबाट राजनीति सुरु गरेका हुन् ।
२०५६ सालमा तत्कालीन माओवादीले थालेका विद्रोहमा उनी भूमिगत भएका थिए । भूमिगत कालमै उनले २०५६ भदौदेखि २०५८ माघ १ गतेसम्म झण्डै १८ महिना बन्दी जीवन विताए । उनी सुर्खेत जेलब्रेक घटनाका कमाण्डर समेत हुन् । २०५८ माघ १ गते विष्ट लगायतले सुर्खेत कारागारबाट जेलब्रेक गरेर भाग्न सफल भएका थिए । माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका उनले राजनीतिक शास्त्रमा स्नातक तहसम्म अध्ययन गरेका छन् ।






