एकल पुरुषहरुलाई मासिक भत्ता जनयुद्धका घाइतेलाई शेयर दिइने

सुर्खेत । शुक्रबारसम्म कर्णालीका अधिकांश स्थानीय तहले बजेट ल्याएका छन् । कर्णालीका ७९ स्थानीय तहमध्ये केही स्थानीय तहले नयाँ र नौला योजनासहितको बजेट ल्याएका छन् ।
कोरोना महामारीमा स्वास्थ्य, शिक्षा, रोजगार, कृषि र पूर्वाधारलाई प्राथमिकतामा परिरहेका बेला केही स्थानीय तहले भने नयाँ योजनासहित बजेट ल्याएका छन् । दैलेखको आठविस नगरपालिकाले एकल पुरुषलाई भक्ता दिने घोषणा गरेको छ ।
श्रीमती गुमाएका र आर्थिक अवस्था कमजोर भएका त्यस्ता पुरुषलाई जीवन निर्वाहका लागि भत्ता दिनेगरी नीति तथा कार्यक्रम ल्याएको उपमेयर दीपा बोहोराले जानकारी दिइन् । ऐन र बजेट पास पएपछि मात्रै कति रकम दिने भन्ने एकीन हुने उनको भनाइ छ । त्यस्तै यो नगरपालिकाले दुई वटा भैंसी र १० वटासम्म बाख्रापालन गर्ने कृषकलाई ३० हजार अनुदान दिने घोषणा गरेको छ ।
दैलेखकै गुराँस गाउँपालिकाले तीन वटा नयाँ कार्यक्रमहरु ल्याएको छ । गाउँपालिकाले पालिकामा रहेको तेस्रो लिंङ्गीहरुलाई मासिक दुई हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको छ । तेस्रो लिंङ्गीहरुको जीवनयापनलाई सहज बनाउन र सम्मानका लागि मासिक दुई हजार रुपैयाँ भत्ता दिनेगरी बजेट ल्याएको गाउँपालिकाका अध्यक्ष खेमराज वलीले जानकारी दिए । गाउँपालिकामा पहिचान भएका तेस्रो लिंङ्गीहरु छन् ।
त्यस्तै सासुससुरा स्याहार बुहारी कार्यक्रमसमेत ल्याएको छ । सासुससुरालाई सम्मानपूर्वक पालनपोषण गर्ने बुहारीहरुलाई गाउँपालिकाले प्रोत्साहन स्वरुप बार्षिक पाँच हजार रकम उपलब्ध गराउने छ । जेष्ठ नागरिकको सम्मानका लागि गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको हो ।
त्यस्तै आफ्नो कार्यक्षेत्रभित्र रहेका जनप्रतिनिधि र शिक्षक कर्मचारीले नीजि विद्यालयबाट छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना गरेमा पनि बार्षिक पाँच हजार रुपैयाँ प्रोत्साहन गरिने छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा टेवा पुग्ने उद्देश्यले यस्तो कार्यक्रम ल्याइएको गाउँपालिको जनाएको छ । यस्तै रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले माओवादी जनयुद्धका घाइते तथा अपाङहरुलाई शेयर दिने भएको छ ।
आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रममार्फत जनयुद्धका घाइते तथा अपाङहरुलाई शेयर दिने घोषणा गरेको हो । त्यस्तै जनयुद्ध र जनआन्दोलनमा मृत्यु भएका शहिदका परिवारलाई पनि मासिक एक हजार रकम उपलब्ध गराउने र उक्त रकम पनि सहिदहरुका घरपरिवार लक्षित उद्योगमा शेयरको रुपमा लगानी गर्ने घोषणा गरेको छ ।
जनयुद्ध र जनआन्दोलनका घाइते, अपाङ, सहिद परिवार, जेष्ठ नागरिक र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य वीमा र निःशुल्क रुपमा नगरबस र एम्बुलेन्स सेवा समेत दिने नीति तथा कार्यक्रममा उल्लेख छ । माध्यमिक तहमा कार्यरत गणित र विज्ञान विषय शिक्षकले अनिवार्य रुपमा आधारभूत तहको कम्प्युटर तालिम लिनुपर्ने छ । शिक्षकहरुको पेशागत सीप र क्षमता अभिबृद्धिका लागि नगरपालिकाले यस्तो नीति लिएको हो ।
आधारभूत तहको तालिमपश्चात शिक्षकलाई एक–एक वटा ल्याप्टप दिने नीति तथा कार्यक्रममार्फत घोषणा गरेको छ । पहिलो चरणमा गणित र विज्ञान विषयका शिक्षकलाई आधारभूत कम्प्युटर तालिम लिनुपर्ने व्यवस्था गरेको हो । निर्वाचित जनप्रतिनिधि र कर्मचारीले छोराछोरीलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा भर्ना गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने उद्देश्यले नीति अबलम्बन गरेको हो ।
पाँच कक्षासम्मका विद्यार्थीलाई निःशुल्क पोशाक र स्टेशनरी दिने घोषणा गरेको छ । सबै बालबालिकालाई शिक्षा अनिवार्य रुपमा विद्यालयमा भर्ना गराउने उद्देश्यले निःशुल्क पोशाक र स्टेशनरी दिने भएको हो । आधारभूत तहसम्मका विद्यार्थीलाई दिवा खाजा खुवाउने र जंगफुटलाई प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।
खार्पुनाथमा स्वास्थ्य विमा
हुम्लाको नाम्खा गाउँपालिकाले निःशुल्क स्वास्थ्य विमा कार्यक्रम अगाडि सारेको छ । जसका लागि आगामी आर्थिक बर्षका लागि ४१ लाख रुपैयाँ विनियोजना गरेको गाउँपालिकाका अध्यक्ष कर्ण रावलले जानकारी दिए । गाउँपालिकामा झण्डै एक हजार पाँचसय घरधुरी छन् । ति मध्ये सिमित नागरिकले मात्रै स्वास्थ्य विमा गरेका छन् ।
नागरिकको ज्यूधनको रक्षा गर्ने उद्देश्यले सबै नागरिकको निःशुल्क स्वास्थ्य विमा गरिदिने कार्यक्रम ल्याएको हो । ‘आवश्यकता त विकास निर्माण नै थियो, तर जनता नै नरहे विकासको के अर्थ भयो र ?’ उनले भने, ‘नागरिक जीवन रक्षा गर्नु नै ठूलो उपलब्धि मानौँ ।’ भौगोलिक विकटता र न्यून आयस्रोतकाबीच नागरिकको जीवन रक्षाको लागि निःशुल्क स्वास्थ्य विमा कार्यक्रम ल्याइएको उनको तर्क छ ।
ताँजाकोटमा पुनर्निर्माण कार्यक्रम
हुम्लाको ताँजाकोट गाउँपालिकाले पुनर्निर्माणको कार्यक्रम ल्याएको छ । पहिरोपीडितको पुनस्र्थापनाका लागि पुनर्निर्माण कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष बागदल मल्लले जानकारी दिए । जसका लागि आगामी आर्थिक बर्षका लागि तीन करोड बजेट विनियोजना गरिएको छ ।
पुनर्निर्माणमा विद्यालय, खानेपानी र पीडितको घर निर्माण गरिदिने छ । गत बर्षको साउन ३१ गते पहिरोबाट ताँजाकोटका तीन सय ४४ घरपरिवार पुर्णरुपमा विस्थापित भएका थिए । बाढीपहिरोले गाउँ नै बगाएपछि तीनसय ८० घरहरुलाई स्थानान्तरण गर्नुपर्ने देखिएको छ । वडा नम्बर ४ को उत्तिसेनीगाउँकै २४ घरपरिवारलाई सोही वडाको भकारेमा स्थानान्तरण थालिएको छ । भकारेमा हाल घरहरु निर्माण भइरहेका छन् ।
त्यस्तै वडा नं. ३ को छापागाउँ, काठेओखर, डाँडापानी र दमाइबाडाका गाउँलाई सोही वडाको थारमारेमा स्थानान्तरण गर्ने योजना अगाडि सारेको छ । जसका लागि थारमारेमा आगामी आर्थिक बर्षमा ८० वटा घरहरु निर्माण गर्ने योजना बनाएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले कुल तीनसय ८० घरधुरी मध्ये चालु आर्थिक बर्षमा एकसय ५० वटा घरहरु पुननिर्माण गर्ने लक्ष्य राखेको छ ।
पातारासी र चन्दननाथले एमबीबीएस पढाउने
जुम्लाका दुई स्थानीय तहले एमबीबीएस पढाउने कार्यक्रम ल्याएका छन् । सदरमुकामको चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकाले विद्यार्थीलाई छात्रवृत्तिमा एमबीबीएस पढाउने योजना अगाडि सारेका हुन् । पातारासीले एक जना विद्यार्थीलाई एमबीबीएस छात्रवृत्तिमा पढाउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
तर चन्दननाथले भने कति जनालाई एमबीबीएस पढाउने भन्नेर एकीन गरेको छैन । विपन्न, मेहनत जेहन्दार एकजना विद्यार्थीलाई छात्रवृति उपलब्ध गराउने नीति तथा कार्यक्रममा समेटिएको नगरपालिकाले जनाएको छ । त्यहाँ नगर प्रमुख कान्तिका सेजुवाल र उपप्रमुख अप्सरादेवी न्यौपानेबीचको विवादका कारण बजेट आएको छैन ।
यही कारण नीति तथा कार्यक्रम आए पनि बजेट आउन ढिलाइ भएको हो । आगामी शैक्षिक शत्रदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामै एमवीवीएस अध्ययन हुँदैछ । प्रतिष्ठानसँगको समन्वयमा जुम्लाका स्थानीय तहले एमबीबीएस पढाउने कार्यक्रम ल्याएका हुन् ।






