खोपको दोस्रो डोज कहिले ?

कोरोना महामारीका कारण हालसम्म कर्णालीमा मृत्यु हुनेको संख्या तीन सय नाघेको छ । पहिलो लहरको तुलनामा दोस्रो लहरमा धेरै नोक्सान भयो । अघिल्लो पटक संक्रमित धेरै थिए । तर कर्णालीमा ज्यान गुमाउनेको संख्या न्यून थियो । यसपाली संक्रमण पनि तीव्र बन्यो । अनि कोरोनाकै कारण ज्यान गुमाउनेहरुको संख्या पनि धेरै भयो ।

सरकारी प्रयासहरु संक्रमणको नियन्त्रण र रोकथाममा नभएका होइनन् । यद्यपी ती प्रयासहरु पर्याप्त भएनन् । अझ भनौ अस्पतालहरुमा अक्सिजन नपाएर संक्रमितहरुको ज्यान गयो । धेरैले समयमै उपचार नपाएर, समयमै अस्पतालसम्म नपुगेर र अक्सिजनको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था आयो ।

अघिल्लो पटकको महामारीमा कोरोनाविरुद्धको खोप उपलब्ध थिएन । खोप र औषधि नै नहुँदा महामारीबाट ज्यान जोगाउन समस्या हुने नै भयो । यसको जोखिम पनि धेरै भयो । तर यसपाली दोस्रो लहरमा महामारीको समयमा खोप उपलब्ध भइसकेको थियो । खोप उपलब्ध भए पनि नागरिकले खोप पाएनन् ।

खोप नपाएका कारण धेरै नागरिकले संक्रमणका कारण ज्यान गुमाउनु परेको छ । सरकारले गत फागुनमा कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो । तर खोपको पहिलो डोज लगाइयो । कमै नागरिकका लागि मात्र उपलब्ध उक्त खोप सर्वसाधारणले हालसम्म पनि पाउन सकेका छैनन् । जतिले लगाए, उनीहरुले पनि हालसम्म पनि दोस्रो डोज लगाउन पाएका छैनन् । कारण भारतबाट ल्याइएको उक्त खोपको दोस्रो डोज आएको छैन । पहिलो डोज लगाएको निश्चित अवधिमा दोस्रो डोज लगाउनुपर्ने हुन्छ ।

तर पहिलो डोज लगाएको पाँच महिना वितिसक्दा पनि दोस्रो डोज आउनेबारे सुनिश्चित भएको छैन । भारतमा पनि संक्रमण तीव्र बनेपछि खोप निर्यातमा उसले रोक लगायो । यही कारण भारतबाट खोप आउन सकेन । पहिलो डोज लगाए पनि दोस्रो डोज लगाउनेबारे अनिश्चित नै छ । यसकारण कर्णालीमा खोप अभियान प्रभावकारी हुन सकेन । अहिले पनि चिनियाँ खोप पनि लगाइएको छ । ६२ देखि ६४ वर्ष उमेर समूहलाई लगाइएको उक्त खोप कर्णालीमा केवल १९ हजारले मात्र लगाएका छन् ।

चिनियाँ खोप पनि वर्षात्का कारण अपेक्षा अनुसार लगाउन सकिएको छैन । यसकारण पनि लक्षित नागरिकले नै खोप लगाउन पाएका छैनन् । यस्तो अवस्थामा करिब १७ लाखको हाराहारीमा रहेको कर्णालीको जनसंख्याले कहिले खोप पाउला ? पहिलो डोज लगाएकाले दोस्रो डोज समयमै लगाउलान् ? यस्ता प्रश्नहरु अहिले पनि छन् । यद्यपी कर्णाली सरकारले आफ्नो नीति र बजेटमा नै प्रदेशका सबै नागरिकलाई खोप लगाउने उल्लेख गरेको छ । अब सरकारले कसरी काम गर्छ भन्ने विषय नै मुख्य हो ।

यसकारण यदी महामारी नियन्त्रण गर्ने हो, कोरोना महामारीबाट नागरिकलाई जोगाउने हो भने सरकारले समयमै खोपको उपलब्धतातर्फ ध्यान दिनु पर्दछ । सबै नागरिकले पहिलो र दोस्रो दुबै डोज लगाउन पाउने गरी सरकारले आवश्यक व्यवस्थापनमा ध्यान दिन जरुरी छ ।

खोपको दोस्रो डोज कहिले ?

चुरे उत्खनन् गर्न मिल्छ ?

Leave a comment

Your email address will not be published. Required fields are marked *