भारतमा दैनिक संक्रमितको संख्या ५० हजारमा झर्यो, कुल संक्रमित भने तीन करोड

रासस । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या घट्दै गएर अहिले ५० हजारमा झरेको छ । त्यसैगरी कुल संक्रमितको संख्या भने तीन करोडभन्दा बढी पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।
कुल संक्रमितमध्ये पछिल्ला एक करोड पछिल्लो ५० दिनमा थपिएको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा कोरोनाभाइरसबाट कुल संक्रमितको संख्या तीन करोड २८ हजार २०९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा भने ५० हजार ८४८ जना संक्रमित थपिएको मन्त्रालयका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । सोही अवधिमा भारतमा कोरोनाका कारण एक हजार ३५८ जना जनाको मृत्यु भएको छ ।
योसँगै भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या भने तीन लाख ९० हजार ६६० पुगेको छ। महामारी अन्त्य नभएको र मृत्यु हुनेक्रम नरोकिएकाले कुल मृतकको संख्या केही दिनमा चार लाख पुग्ने देखिएको छ। भारतमा पछिल्ला केही दिनदेखि दैनिक संक्रमित र मृतकको संख्या घट्दै गइरहेको छ ।
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५४ लाख २४ हजारभन्दा बढीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको कुल संख्या छ लाख ४३ हजार १९४ रहेको छ ।
सक्रिय संक्रमितको संख्या पनि अहिले कम हुदै गएको हो। त्यसैगरी पछिल्लो एक दिनमा भारतमा १९ लाख एक हजार ५६ जनाको कोरोना परीक्षण गरिएको छ । योसँगै भारतमा अहिलेसम्म कुल ३९ करोड ५९ लाख ७३ हजार १९८ पटक परीक्षण भएको छ ।


