तालिबानले चीनलाई ‘मित्र’ भन्यो, भारतबारे बोलेन

एजेन्सी । अफगानी विद्रोही संगठन तालिबानले चीनलाई आफूहरूले मित्रका रूपमा लिएको भन्दै अफगानिस्तान पुनःनिर्माणबारे कुराकानी हुने बताएका छन्। साथै, चीनको चरमपन्थी संगठन उहिगुरलाई नसघाउने भरोसा पनि दिलाउन खोजेका छन्।
तालिबानका प्रवक्ता सुहिल शाहीनले अफगानिस्तान पुन:निर्माणबारे चीनसँग छिट्टै कुराकानी हुने बताएका छन्। अफगानिस्तानमा यतिखेर तालिबानको प्रभाव लगातार बढिरहेको छ। अर्कातर्फ, तालिबानका नेताहरूले रूस र ईरानलगायत अलग–अलग देशहरूसँग सम्पर्क पनि गरिरहेका छन्।
तालिबानको बढ्दो प्रभावलाई चीन, पाकिस्तान र भारतले गम्भीरतापूर्वक लिएका छन्। चीनले गत साता त्यहाँबाट आफ्ना २१० नागरिकलाई उद्दार गरेको थियो।
अफगानिस्तानसँग जोडिएको जिन्जियाङ प्रान्तमा विद्रोहरत उहिगुर मुसलमानलाई सघाउनसक्ने आशंकाबीच चीनले ‘आवश्यक तयारी’ गरेको खबरहरू बाहिरिएपछि तालिबानले चीनसँग मित्रवत व्यवहारमा जोड दिएको हो।
अफगानिस्तानमा तालिबानको उपस्थिति बलियो भएसँगै त्रस्त बनेको भारतप्रति भने सो संगठनले कुनै प्रतिक्रिया दिएको छैन। तालिबानको एक प्रमुख समूह हक्कानी नेटवर्कले अफगानिस्तानमा यसअघि पनि भारतीय लगानीका परियोजनाहरूलाई बारम्बार निशाना बनाउने गरेको छ।
भारतले सन् २००२ यता अफगानिस्तानमा करिब ३ अर्ब अमेरिकी डलर लगानी गरिसकेको छ। अफगानिस्तानमा तालिबानीको प्रभाव बढेमा मुस्लिम बाहुल्य विवादित भूमि कश्मीरको हालत निकै प्रभावित हुने भारतको आशंका छ।
तालिबानको एक तप्कामा पाकिस्तानको निकै ठूलो प्रभाव छ। भारत र पाकिस्तानबीच परम्परागत दुस्मनी छ। अफगान तालिबानले विदेशी सेनाको फिर्तीसँगै त्यहाँ बढेको हिंसालाई पवित्र जिहाद भएको तर्क गरेको छ।






