एमालेमा महासचिवबाहेक सबै पदाधिकारी खारेज

काठमाडौं, २९फागुन ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएका छन् । साथै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई वाग्मती प्रदेशको इन्चार्ज तोकेका छन् । असार २०७१ मा भएको एमालेको नवौं महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएका थिए । उपाध्यक्षमा विद्या भण्डारी, बामदेव गौतम, युवराज ज्ञवाली, 
अष्टलक्ष्मी शाक्य र भीम रावल, महासचिवमा ईश्वर पोखरेल, उपमहासचिवमा विष्णु पौडेल र घनश्याम भुसाल तथा सचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई र गोकर्ण विष्ट चुनिएका थिए । ३ जेठ २०७५ मा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेपछि ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष तथा विष्णु पौडेल महासचिव बने । नेकपामा बामदेवलाई उपाध्यक्ष मनोनित गरिएको थियो । ५ पुसमा प्रधानमन्त्री ओलीको सिफारिसमा संसद विघटन
भएसँगै नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित भयो । यसको आधिकारिकता विवाद नटुंगिँदै २३ फागुनमा सर्वोच्चले नेकपा खारेज गर्दै एमाले र माओवादी ब्युँताउने फैसला सुनायो । त्यसको पाँच दिनपछि एमाले अध्यक्ष ओलीले आफू निकट नेताहरुको बैठक राखेर महासचिव ईश्वर पोखरेलबाहेक अरु पदाधिकारी नरहने निर्णय गराएका छन् । साथै पार्टी प्रवक्तामा प्रदीप ज्ञवाली तोकिएका छन् भने बाग्मती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा
बादल नियुक्त गरेका ओली समूहका एक नेताले जानकारी दिए । बादल समूहका नेताहरुलाई एमालेको केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय पनि भएको छ । साबिकको नेकपा दुई खेमामा विभाजित हुँदा ओलीतिर लागेका बादलसहितका नेताहरु माओवादी केन्द्र फर्किएका थिएनन् ।
पार्टीको महाधिवेशन मंसिरमा गर्ने निर्णय
नेकपा (एमाले) को दशौं महाधिवेशन आगामी वर्ष मंसिरमा गर्ने निर्णय भएको छ । अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षिय नेताहरूसँग शुक्रवार बालुवाटारमा छलफल गरेर महाधिवेशनको मिति तय गरेका छन् । २०७८ मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने निर्णय भएको स्रोतले जानकारी दियो । माधव नेपाल तथा झलनाथ खनाललगायत नेताहरूलाई जानकारी नै नदिई उक्त निर्णय भएको स्रोतको दाबी छ । यस्तै रामबहादुर थापा ‘बादल’ सहित २३ माओवादी
नेता नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ । बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । माओवादीसँग एकता गर्दा मनोनीत भएका ४२ जना स्वतः केन्द्रीय सदस्य भएका छन् । योसँगै अब एमालेको केन्द्रीय कमिटी २६४ सदस्यीय भएको छ । बादल पक्षबाट रामबहादुर थापा, टोपबहादुर रायमाझी लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साह, टंक आङबुहाङ, पासाङ शेर्पा, ज्वाला शाह, टेकबहादुर बलमपाखी,
कमल चौलागाईं, मनोज थापा, विषमलाल अधिकारी, लीलाबहादुर थापा, दधिराम न्यौपाने, गिरधरि लाल, दावा लामा, झपट बोहोरा, चन्द्रबहादुर खड्का, गौरीशंकर चौधरी, डम्बर विष्ट, दिनेश पन्थी, धर्मराज रेग्मी र नवीन रोक्का केन्द्रिय सदस्यमा मनोनित भएका छन् ।





