२०८३ असार २ गते
×

Now Playing

कर्णालीमा पौडेल समूहको पकड भत्काउने दाउमा देउवा समूह

सुर्खेत । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिदैं छ । आगामी भदौ १६ देखि १९ सम्म काठमाडौंमा महाधिवेशनको हुँदैछ । तर साउन १२ गतेदेखि नै काँग्रेस पूर्णरुपमा अधिवेशनमा होमिनेछ । १२ गते वडास्तरको अधिवेशन तोकिएको छ । कार्यतालिका अनुसार साउन १२ गते वडाअधिवेशन, १६ गते गाउँ तथा नगर अधिवेशन, साउन २० गते प्रदेश क्षेत्रीय अधिवेशन, साउन २३ गते प्रतिनिधिसभाको क्षेत्रीय अधिवेशन, साउन २६ गते जिल्लाको अधिवेशन र भदौ १ र २ गते प्रदेशको अधिवेशन तोकिएको छ ।

नगरदेखि केन्द्रसम्म नेतृत्वमा पुग्न वडास्तरबाटै निर्वाचित हुनुपर्दछ । यही कारण काँग्रेसले महाधिवेशन लक्षित गतिविधि बढाएको छ । महाधिवेशन नजिकिदै गर्दा नेता तथा अगुवा कार्यकर्ता आ–आफ्नो क्षेत्रमा भेटघाट र घरदैलो गर्न थालेका छन् । अधिवेशन नजिकिएसँगै वडास्तरदेखि केन्द्रीय नेतृत्वसम्म हत्याउन आकाँक्षीहरुले दौडधुप बढाएका छन् ।

वडादेखि केन्द्रसम्मको नेतृत्वमा पुग्न वडास्तरबाटै निर्वाचित हुनुपर्ने व्यवस्थाका कारण काँग्रेसको ध्यान वडास्तरमा पुगेको छ । हिजोआज काँग्रेसमा अधिवेशनको सरगर्मी छाएको छ । अधिकांश जिल्लामा आकाँक्षीहरुले दाबी प्रस्तुत गरिसकेका छन् ।
आकाँक्षीहरूले आफ्नो पक्षमा माहोल बनाउन आफू निकट नेताहरूलाई वडावडामा परिचालन गरेका छन् । जिल्ला नेतृत्वका आकाँक्षीहरु गाउँ छिरेका छन् ।

नेतृत्वका आकाँक्षीहरु कार्यकर्तालाई आफ्नो पोल्टामा पार्न दैनिक कार्यकर्ता भेटघाटमा व्यस्त छन् । कर्णाली प्रदेशसहित काँग्रेसमा पनि देशभर दुई धार छ । केन्द्रदेखि वडातहसम्म पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलको समूह विभाजित छ । कर्णालीमा अहिले देउवा समूहको नेतृत्व महामन्त्री पूर्णबहादुर खड्का र पौडेल समूहको नेतृत्व केन्द्रिय सदस्य हृदयराम थानीले गर्दै आएका छन् । अन्य प्रदेशमा जस्तै कर्णालीमा पनि दुबै समूहबिच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

कर्णालीका १० जिल्ला मध्ये हाल नौ जिल्लाको नेतृत्व पौडेल समूहले गरिरहेको छ । जिल्ला सभापतिहरु डोल्पाका अंगतकुमार बुढा, मुगुका खड्गबहादुर शाही, जुम्लाका दीपबहादुर शाही, कालिकोटका हर्षबहादुर बम, सल्यानका गणेश चन्द, रुकुमपश्चिमका प्रेमप्रकाश वली, जाजरकोटका दीपकजंग शाह, दैलेखका कृष्णकुमार बिसी र सुर्खेतका कमलराज रेग्मी पौडेल समूहका हुन् ।

हुम्लाका सभापति जयपति रोकाय मात्रै देउवा पक्षिय हुन् । यस हिसावले पौडेल समूह जिल्ला नेतृत्वमा आफ्नो पकड कामयै राख्ने दाउमा छ । तर देउवा समूह पौडेल समूहको पकडलाई भत्काउने तयारीमा जुटेको छ । कर्णालीमा पौडेल समूहको पकडलाई भत्काउन देउवा समूहका महामन्त्री खड्का र केन्द्रिय सदस्य जीवनबहादुर शाही दौडधुपमा छन् ।

दुबै नेताले प्रदेशमा पौडेल समूहको पकडलाई भत्काएर केन्द्रिय पदाधिकारीमा शक्तिशाली पद हत्याउने पक्षमा छन् । तर पौडेल समूहले भने कर्णालीमा आफ्नो पकडलाई कायमै राख्ने रणनीतिमा छ । जिल्लामा पकडलाई बचाउन सके यो समूह केन्द्रिय समितिसहित प्रदेशको नेतृत्व हत्याउने दाउमा छन् ।

प्रदेश सभापति केन्द्रिय सदस्य हुन पाउने व्यवस्था भए थानी आफै प्रदेश नेतृत्वका लागि अगाडि बढ्नेछन् । तर प्रदेश सभापति केन्द्रिय सदस्य हुन नपाउने भए दोस्रो व्यक्तिलाई अवसर दिएर उनी केन्द्रिय समितिमै लड्ने पौडेल समूह बताउँछ । समग्रमा हाल जिल्ला नेतृत्वमा पौडेल समूहको पकड छ । पौडेल समूहको यही पकड भत्काउने दाउमा देउवा समूह जुटेको छ ।

सुर्खेतमा रेग्मी, विसी र थापाको चर्चा

सुर्खेतमा आगामी सभापतिका लागि वर्तमान सभापति कमलराज रेग्मी, यज्ञबहादुर विसी र उपेन्द्रबहादुर थापाका चर्चा छ । रेग्मी पौडेल पक्षका हुन् भने विसी र थापा देउवा समूहका हुन् ।

विसी कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री र थापा पञ्चपुरी नगरपालिकाका मेयर हुन् । यसअघि सम्पन्न १३ औं महाधिवेशनमा विसी र रेग्मी आमन्ने सामन्ने भएका थिए । तर रेग्मीले तीन मतले सभापतिमा निर्वाचन जितेका थिए । यसपाली पनि विसी र रेग्मी नै सभापतिमा आमन्ने सामन्ने हुने बलियो सम्भावना छ ।

तर विसी हाल मन्त्री भएकाले सभापतिको दौडबाट पछि हट्ने आंकलन पनि गरिएको छ । यदी यसो भएको खण्डमा देउवा समूहले थापालाई अघि सार्ने स्रोतको दाबी छ । अघिल्लो कार्यकालमा जिल्ला उपसभापति भइसकेका थापाले चार बर्ष कार्यवहाक सभापतिको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन् ।

यस हिसावले पनि थापा देउवा पक्षको जिल्ला सभापति पदका लागि बलिया उम्मेद्वार हुन् । सुर्खेतमा देउवा पक्षको नेतृत्व महामन्त्री पूर्णबहादुर खड्का र पौडेल पक्षको नेतृत्व केन्द्रीय सदस्य हृदयराम थानीले गर्दै आएका छन् ।

 

कर्णालीमा पौडेल समूहको पकड भत्काउने दाउमा देउवा समूह

कर्णाली सरकारले उपलब्ध गरायो जोखिम भत्ता

कर्णालीमा पौडेल समूहको पकड भत्काउने दाउमा देउवा समूह

प्रदेश सरकार र स्थानीय तहको प्राथमिकतामा ग्रामीण

Leave a comment

Your email address will not be published. Required fields are marked *