मनसुनी वायुको प्रभाव : अधिकांश स्थानमा अझै तीन दिन वर्षा

काठमाडौं । मनसुनी वायुको प्रभावले अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ। मौसमविद् गङ्गा नगरकोटीका अनुसार मनसुनी गतिविधि सक्रिय रहिरहने भएकाले धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै एक दुई ठाउँमा भारी वर्षाको सम्भावना छ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अहिले काठमाडौं उपत्यकामा वर्षा भइरहेको छ।
विभागका अनुसार राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना औँल्याएको छ। त्यसैले मौसम पूर्वानुमान महाशाखाले यी क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ।
आगामी बुधबार देशभर सामान्यदेखि पूर्ण बदली भई प्रदेश नं १,बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ। नेपालमा मनसुन शुरु हुने औसत मिति जुन १३ मानिए पनि यस वर्ष त्यसभन्दा तीन दिनअघि नै शुरु भएको थियो।





