हुम्ला, २८ फागुन ।
परम्परागत रुपमा गरिने पठनपाठनभन्दा नयाँ प्रविधिको प्रयोगसहित गरिने पठनपाठनमा विद्यार्थीको आकर्षण देखिएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका – ४ को छिप्रा गाउँको सीता नमुना माध्यामिक विद्यालयमा कक्षा सातमा अध्ययनरत छात्र पवन हमालले शिक्षकले एकोहोरो पढाएको भन्दा प्रविधि प्रयोग गरेर पढाएको कुरा धेरै प्रभावकारी हुने बताए । पठनपाठन हुँदा विद्यार्थीहरु कक्षामा निदाउने, हाई काड्ने र एक आपसमा चल्ने गरेपनि अहिले प्रविधिको सहयोगमा पढाउँदा सबैको 
ध्यान आकर्षित हुने गरेको हमालको भनाइ छ । कक्षामा विधार्थीका अगाडि सचित्र पाठ्यक्रममा भएका कुरा अगाडिको बोर्डमा आउने भएपछि विद्यार्थीले ध्यान दिने गरेका छन् । कक्षामा प्रविधिको प्रयोग गरी पढाई भएपछि विद्यार्थीको उपस्थिति पनि बृद्धि भएको छ । विद्यालयमा कक्षा पाँचदेखि दशसम्मका सबै विषयको पठनपाठन प्रविधिबाट हुने गरेको विद्यालयका प्रधानाध्यापक जुनराज हमालले जानकारी दिए । यसमा केही भर्चुअल र केही सलाईड तयार गरेर पठनपाठन गर्ने गरिएको उनले
बताए । प्रअ हमालका अनुसार प्रविधिको प्रयोगबाट हुने पढाइ र परम्परागत तरिकाबाट हुने पढाई धेरै फरक हुने भएको कारण विद्यार्थी आकर्षण बढेको हो । कक्षामा हुने सबै क्रियाकलाप विद्युतीय प्रर्णालीमार्फत हुने भएका कारण कक्षामा विद्यालयले ई– हाजिरी, सिसिटिभी क्यामरा, टेलिभिजन र प्रत्येक शिक्षकलाई ल्यापटपको व्यवस्था गरिएको छ ।

