तालिबान अघिअघि, भारत पछिपछि

एजेन्सी । यतिखेर अफगानिस्तानमा तालिबानले एकपछि अर्को इलाका कब्जा गरिरहेको छ। २२ वर्षसम्म तालिबानसँग युद्ध लडेको अमेरिकाले आफ्ना सैनिकलाई फर्काउन थालेपछि हौसिएको तालिबान अफगान सुरक्षाफौजलाई देशभर पिन डाउन गर्न प्रयासरत छ।
यस्तोमा, दक्षिण एसियाली मुलुक अफगानिस्तानको भविष्य र इस्लामिक जेहादका नाममा तालिबानले फैलाउन सक्ने आतंकबारे विश्लेषण भइरहेको छ। राज्य सञ्चालन तहसम्मै हिन्दु अतिवादीहरूको उपस्थिति रहेको र अल्पसंख्यक मुसलमानहरूप्रति निकै अनुदार व्यवहार देखाउने गरेको भारत थप सशंकित बनेको हो।
अफगानिस्तानमा हालैका दिनमा तालिबानले जसरी एकपछि अर्को नयाँ इलाका कब्जा गरिरहेको छ–त्यसको बाछिटा भारतमा पर्न नदिन दिल्लीले कूटनीतिक दौडधूप तीव्र पारेको छ। यतिखेर अफगान विद्रोही र दिल्लीको दौडधूप नियाल्दा यस्तो लाग्छ–तालिबान अघिअघि छ र भारत पछिपछि!
भारतीय विदेशमन्त्री सुव्रमण्यम जयशंकर गत बिहीबार ईरान पुगे। उनको सो भ्रमणलाई पनि अफगान तालिबानले गरिरहेको शक्तिसञ्चयसँग जोडेर हेरिएको छ. जयशंकरले तेहरानमा नव–निर्वाचित राष्ट्रपति इब्राहिम रइसीसँग भेटघाट गर्दै नरेन्द्र मोदीको शुभकामना सन्देश प्रकट गरेका थिए।
जुन दिन भारतीय विदेशमन्त्री तेहरानमा थिए, सोही दिन अफगानिस्तान सरकार र तालिबानको एक प्रतिनिधिमण्डल पनि त्यहाँ उपस्थित थियो। ईरान भ्रमण सकेर जयशंकर जब रुस पुगे, त्यहाँ पनि उनीअघि नै तालिबानी प्रतिनिधिमण्डल पुगेको थियो। मिडियाहरूमा यसअघि पनि तालिबान र भारतबीच अनौपचारिक कुराकानी भएका खबर बाहिरिने गरेको थियो।
तर, भारतले यस्ता समाचारको खण्डन गर्ने गरेको छ। तालिबानसँगको कुराकानी भएको जानकारी सार्वजनिक हुँदा भारतले खण्डन गर्नुका पछाडि कारण हुने गरेको विश्लेषकहरू बताउँछन्। अमेरिकाको डेलावेयर विश्वविद्यालय, अन्तरराष्ट्रिय मामिलाका प्राध्यापक मुकद्दर खान भन्छन्, ‘तालिबानसँग पर्दाभित्र कुरा गर्नुका पछाडि भारतको आफ्नै कारण छ। यसमा खासगरी कश्मीर मामिला जोडिएको छ। अफगानिस्तानमा जे भइरहेको छ–त्यसको असर कश्मीरमा नपरोस् भन्ने भारत चाहन्छ।’






